महिला खबर
काठमाडौं, मंसिर २७ । किराँत राई खेलकुद संघले तेक्वान्दो खेलाडी तथा म्याराथन धावक रणदीप राई र म्याराथन धावक मिरा राईलाई सम्मान गरेको छ । खेलकुद क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै खेलाडी द्वय राईलाई संघले शुक्रबार सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा म्याराथन धावक मिरा राईले सम्मानले उत्साह र ऊर्जा थपेको बताउनुभयो । खेल क्षेत्रमा सफल हुन खेलाडी महिलाले संघर्ष धेरै गर्नुपर्ने अवस्था कायम रहेकोले प्रोत्साहन गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो । सम्मानित खेलाडी रणदीप राईले खेलाडीलाई यस्ता सम्मानले खेल क्षेत्रमा लागिरहन प्रोत्साहन मिल्ने बताउनुभयो । उहाँले आफू सम्मानित हुन पाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा पनि खेल क्षेत्रमा योगदान दिन थप जिम्मेवार बनाएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि किराँत राई यायोख्खाका केन्द्रीय उपाध्यक्ष चन्द्र विक्रम राईले मिरा राईले अल्ट्रा म्याराथन दौड मार्फत नेपाल र नेपालीलाई विश्व सामु चिनाएर राष्ट्र कै नाम उँचो बनाएकोमा गर्व गर्नुपर्ने बताउनुभयो । उहाँले खेलाडीको क्षमता हेरेर राष्ट्रले प्रोत्साहन गरे खेलकुद क्षेत्रमा विश्वलाई चुनौती दिन सक्ने खेलाडीहरू नेपालमा रहेको जिकिर गर्नुभयो ।
कार्यक्रममा किरात राई खेलकुद संघका अध्यक्ष महेन्द्र राईले सम्मान कार्यक्रमले खेलाडीमा उत्साह बढ्ने भएकोले हरेक क्षेत्रका खेलाडीलाई सम्मान गर्नुपर्ने बताउनुभयो । नेपालमा खेलाडीहरूलाई उचित सम्मान तथा प्रोत्साहन नभएकोले खेलबाट खेलाडीहरू विस्थापित हुने क्रम बढेकोले यसलाई कम गर्न, खेलमा सहयोग गर्ने र खेलाडीलाई उत्साह थप्नका लागि किराँत राई खेलकुद संघले विभिन्न खेलका खेलाडीहरूलाई सम्मान गर्ने गरेकोे बताउँनुभयो । सम्मानित खेलाडी रणदीप राईले किराँत राई खेलकुद संघको अक्षयकोषको लागि नगद रु २५ हजार रुपैयाँ संघका अध्यक्ष महेन्द्र राईलाई प्रदान गर्नुभयो ।
प्रकाशित मितिः २०७२ मंसिर २७ गते अाईतवार
Comment Here!