गर्भवतीको पीडा पुरुष स्वास्थ्यकर्मी


प्रकाशित मिति :2015-12-14 11:34:09

‘स्वास्थ्य संस्थामा पुरुष स्वस्थ्यकर्मीबाट गर्भजाँच गराउनु पर्छ । अघिल्लो रातदेखि नै निन्द्रा लाग्दैन, केटा मान्छेलाई कसरी पेट देखाउनु ?’

सञ्जिला तामाङ
Sanjeela Tamangरामेछाप पिङ्खुरीकी कान्छी तामाङ गर्भवती भएको ६ महिना भयो । उनलाई गर्भ जाँच गराउन स्वास्थ्य संस्थामा जान निक्कै गाह्रो लाग्छ । स्वास्थ्य चौकी जान आधा घण्टा ओरालो झर्नुपर्छ । फर्कंदा झण्डै एक घण्टा लाग्ने ठाडो उकालो । यात्राको सकस त छँदै छ । तर, त्यो भन्दा पनि भित्री समस्या अर्कै छ । उनले स्वास्थ्य संस्थामा पुरुष स्वस्थ्यकर्मीबाट गर्भ जाँच गराउनुपर्छ । कान्छि भन्छिन् ‘अघिल्लो रातदेखि नै निन्द्रा लाग्दैन, केटा मान्छेलाई कसरी पेट देखाउनु ?’

गौश्वारा गाविसकी मिठुमाया मगरलाई पनि स्वास्थ्य संस्था जान उत्तिकै अप्ठ्यारो लाग्छ । गर्भवती मिठुमाया भन्छिन् ‘स्वास्थ्य संस्थामा भएका पुरुष स्वास्थ्यकर्मीलाई आफ्ना सबै समस्या भन्न लाज लाग्छ । जाँच्ने पुरुष अहेव छन् आफ्ना समस्या कसरी भन्ने ?’

मिठुमायाका भनाइमा, ‘यदि त्यो ठाउँमा महिला स्वास्थ्यकर्मी भए समस्या खुलेर भन्न सकिन्थ्यो उनीहरूले राम्रोसँग बुझ्दथे । समस्या भन्यो भने पेट छाम्ने भएकाले समस्या हुँदाहुँदै पनि केही भएको छैन् भन्नुपर्ने बाध्यता हुन्छ ।’

दरबन्दी अनुसारका महिला स्वास्थ्यकर्मी नहुँदा रामेछापका १६ गाविसका गर्भवती तथा सुत्केरी महिला सहज गर्भ जाँच तथा सुत्केरी सेवा लिनबाट बञ्चित छन् । स्थानीयस्तरमा महिलालाई गर्भ जाँच तथा सुत्केरी सेवा प्रदान गर्ने अनमीको दरबन्दी अनुसार व्यवस्थापन हुन नसक्दा ग्रामीण भेगका महिलाले पुरुष स्वास्थकर्मीबाट स्वास्थ्य सेवा लिनु परेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख प्रकाश प्रसाद साह बताउँछन् ।

indexप्रमुख साहका अनुसार रामेछाप जिल्लाका ४४ मध्ये १६ स्वास्थ्य चौकीमा अनमीको दरबन्दी रिक्त छ । जिल्लाका सबै भन्दा दुर्गम गाविसहरू गौश्वारा, गुम्देल, चनखु, पिङ्खुरी, दुरागाउँलगायत १६ ओटा स्वास्थ्य चौकीमा लामो समयदेखि अनमीको दरबन्दी रिक्त छ । जहाँबाट अर्को स्वास्थ्य चौकीमा पुग्न दिनभरि हिँड्नु पर्छ । यस्तो अवस्थामा गर्भवती महिला लामो बाटो हिँडेर स्वास्थ्य चौकीमा जान सक्दैनन् । उनीहरूलाई नियमित गर्भ परिक्षण गराउँन र सुत्केरी गराउन अस्पताल जान समेत समस्या पर्छ ।

अन्य स्वास्थ्य चौकीमा मात्र हैन प्रसूति सेवा सञ्चालन भइरहेका स्वास्थ्य संस्थामा समेत दरबन्दी अनुसार महिला स्वास्थ्यकर्मी छैनन् । २४ घण्टे प्रसूति सेवा सञ्चालन भएका स्वास्थ्य चौकीमा समेत एक जना अनमीले काम गरी रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख साह बताउँछन् । ती स्वास्थ्य संस्थामा करार सेवा अन्तर्गत एक—एक जना अनमी थप गर्ने निर्णय भएको भएपनि त्यो पनि कार्यान्वयन हुन सकेको छैन । रामेछाप जिल्लामा २६ स्वास्थ्य संस्थामा प्रसूति सेवा सञ्चालनमा छ । रिक्त रहेको महिला स्वास्थ्यकर्मीको पदपूर्तिको माग गरिएको भएपनि लोकसेवा आयोगबाट कर्मचारी नआएकोले रिक्त ठाँउ पदपुर्ति गर्न नसकिएको बताउँछन् साह ।

भुकम्पबाट अति प्रभावित दुरागाउँ गाविसमा एक जना हेल्थ असिस्टेन्ट, एक अहेव तथा एक अनमी सहितका स्वास्थ्यकर्मीको दरबन्दि भएपनि उक्त स्वास्थ्य संस्थामा ८ वर्षदेखि हेल्थ असिस्टेन्ट गिरेन्द्र मिश्र एक्लैले काम गर्दै आएका छन् । ८ वर्षदेखि अनमीको दरवन्दी रिक्त हुँदा त्यहाँका महिलाले आफ्नो स्वास्थ्य समस्या सुनाउने मानिस समेत पाएका छैनन् । स्वास्थ्य चौकीका इन्चार्ज हेल्थ असिस्टेन्ट मिश्रका भनाइमा, ‘अहिले पनि महिलाले आफ्नो कुरा खुलेर भन्न सक्ने अवस्था छैन् ।’

इञ्चार्ज मिश्र भन्छन् ‘यहाँका महिला भरसक उपचार गराउनै नपरे हुन्थ्यो भन्छन् । समस्या लुकाएर बस्छन्, सहन सक्नेसम्म रोग सहेरै बस्छन् आउनै पर्‍यो भने पनि खुलेर भन्दैनन् ।’ खुलेर समस्या नबताउदा कहिलेकाही अनुमानको भरमा औषधी दिनुपर्ने अवस्था हुन्छ । मिश्र भन्छन् ‘सुत्केरी हुँदा उनीहरूलाई पनि समस्या आफूलाई पनि अप्ठेरो, तर पनि मर्न दिनु भएन अप्ठेरो भए पनि सेवा दिनै पर्‍यो ।’ एक जना महिला कर्मचारी भए सेवाग्राही र आफू दुवैलाई सजिलो हुने उनको भनाइ छ ।

जिल्लाको अतिदुर्गम गौश्वरा गाविसको अवस्था पनि त्यस्तै छ । स्वास्थ्य चौकी प्रमुख रमाकान्त ठाकुरका अनुसार जटिल समस्या भएमात्र महिला स्वास्थ्य संस्थामा आउँछन् । समाचार संकलन गर्न हिडेका पत्रकारलाई उनी सँधै भन्ने गर्छन् । तपाई जस्ता पत्रकारले लेखिदिए रिक्त दरबन्दी पदपुर्ति हुने थियो की १ स्थानीय शिक्षक झुमबहादुर थापाका अनुसार अहिले पनि गौश्वारा गाविसका महिला भगवान भरोषामा बाँचिरहेका छन् । मन्थली १६ चिसापानीकी महिला स्वास्थ्य स्वयंसेविका ममता श्रेष्ठ महिलाका जटिल समस्याहरूका बारेमा स्वास्थ्यकर्मीसँग छलफल गर्नुपर्ने बताउँछिन् । कतिपय कुरा महिलाले पुरुष स्वास्थ्यकर्मीलाई भन्न नसक्दा सामान्य समस्या पनि जटिल बन्दै जाने अवस्था रहेको श्रेष्ठको अनुभव छ । खाँडादेवी १ चोप्राङकी महिला स्वास्थ्य स्वयंसेविका निशा श्रेष्ठ भन्छिन, ‘पाठेघरको समस्या, यौनजन्य रोगलगायतका कतिपय रोगका बारेमा महिला स्वास्थ्यकर्मीलाई भन्न लजाउने गाँउका महिलाले कसरी पुरुष स्वास्थ्यकर्मीसँग कुरा गर्न सक्छन् ?

जिल्लाका ४५ गाविस र दुई नगरपालिकाका स्वास्थ्य संस्थामा भूकम्पको धक्का पछि स्वास्थ्य सेवा प्रभावित भएको छ । पुरानागाउँ स्वास्थ्य चौकी प्रमुख राजकुमार आरणाले पुरानागाउँका केही वडामा पहिरो चल्दा स्वास्थ्य चौकी आउने बाटो नभएको बताउँछन् । दुरागाउँको अवस्था पनि त्यस्तै छ । आरणा भन्छन् ‘एक ठाउँबाट अर्काे ठाउँमा सद्धे मान्छे त जान सक्दैन, गर्भवती र सुत्केरीे महिला कसरी पुग्न सक्छन् ?’

जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य निरिक्षक केशव फुयाँलका अनुसार रामेछाप जिल्लामा आर्थिक वर्ष २०७१/०७२ मा २ हजार २ सय महिला गर्भवती थिए । ती मध्ये १ हजार ३ सय महिलाले मात्र स्वस्थ्य संस्थामा बच्चा जन्माएका छन् । महिला सुत्केरी हुन स्वस्थ्य संस्थामा नजानुको पछाडी एउटा प्रमुख कारण महिला स्वास्थ्यकर्मी नहुनु हो । फुयाँलका भनाइमा, पुरुषको अगाडी बच्चा जन्माउनु भन्दा भरसक घरमानै सुत्केरी हुन चाहने महिला धेरै हुन्छन् । घरमा नसक्ने अवस्था भएमात्र स्वास्थ्य चौकी जाने गर्छन् । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्क हेर्ने हो भने वर्षेनी २ देखि ३ जना गर्भवती महिलाको बच्चा जन्माउन नसकेकै कारण मृत्यु हुने गर्छ ।

भूकम्प पछिको अवस्था झनै जटिल रहेको जनस्वास्थ्य निरिक्षक फुयाँल बताउछन् । धेरै स्वास्थ्य चौकी भवन भत्किएकाले खुल्ला चौरमा टेन्टमा उपचार गर्नुपर्ने भएकाले स्वास्थ्य चौकी आउनेको संख्या झनै कम हुँदैछ ।

(सञ्जिला रेडियो तीनलाल एफएम मन्थलीमा कार्यरत छन् ।)

प्रकाशित मिति :२०७२ मसिंर २८ गते साेमवार 

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- मानव अधिकार अधिकृत त्याग र समपर्णको भावमा रमाएर राष्ट्रिय मानव अधिकार आयोग कति पीडा र

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: