खेमा बस्नेत
कैलाली,मंसिर २८ । घोघाघोडी नगरपालिका ७ स्थायी घर भएकी उमा खत्रीले मौरीपालन व्यवसायी गरेको ४ वर्ष भएको छ । आफूले उत्पादन गरेको मह वेच्न र प्रर्वद्धनको उनी यतिवेला धनगढीमा आयोजित सुदुरपश्चिम महोत्सव स्थलमा पुगेकी छिन् । यस अघि खासै बजार नपाएर खिन्न उनी महोत्सवमा मह राम्रै विक्री हुन थालेपछि उनी खुसी देखिन्छन् ।
‘२० रुपिया चाहिए, श्रीमानसगं माग्नुपर्ने हुन्थ्यो । छोराछोरीको खर्च समेत श्रीमानले चलाउनु पर्दथ्याे उनले भनिन् आफूले मह वेच्न थालेपछि अहिले आफै खर्च चलाउँछु । ४ वर्ष पहिलेको उमा र अहिलेको उमामा धेरै अन्तर आएको छ’ उनले भनिन् ।
यस अघिसम्म मागेको समयमा श्रीमानले खर्च नदिदा घरखर्च चलाउन समस्या हुने गरेको उनी बताउँछिन् । तर, आफुले व्यवसायीक रुपमा मौरीपालन सुरु गरेपछि घरायसी समस्या टरेको उनको भनार्ई छ ।‘मागेको बेलामा श्रीमानेले पैसा नदिदा टेन्सन हुन्थ्यो, कहिलेकाही उहाँसँग पनि पैसा हुँदैनथ्यो, तर, आजभोली त्यो टेन्शन(तनाव) हुदैन’ उनले विगत सम्झदै भनिन् ।
माहुरी व्यवसायबाट आर्थिक रुपमा सबल हुँदै गएकी उमालाई आजकाल आफू सक्षम व्यवसायी बन्न सक्नेमा आशा पलाएको बताउँछिन् । यसअघि भान्सा र खेतबारीमा सिमित उनी अभिषेक मौरीपालन फर्मकी मालिक बनेकी छिन् । हिजोकी गृहिणी र आज उद्यमी हुँदा समाजले हेर्न दृष्टिमा समेत परिवर्तन आएको बताउँछिन् । ‘हिजो र आज समाजले म र मेरो परिवारलाई हेर्ने दृष्टिकोण बदलिएको छ’ उनले भनिन् ‘आज मलाई सबैले उद्यमीको रुपमा इज्जत दिन्छन् ।’
समाजले दिने हौसला र व्यवसाय प्रतिको प्रेरणाले भान्सामा सिमित आफू सक्षम उद्यमी बन्न सक्नेआँट पलाएको उमाले बताइन् । उमासगं १५ वटा मौरीका घार छन् । ती घारबाट उनी वार्षिक १ लाख देखी १ लाख ५० हजार रुपैयाँसम्मको आम्दानी गर्छिन् ।
प्रकाशित मिति २०७२ मंसिर २८ गते सोमवार
Comment Here!