मेरो कामको सम्मान भयो : कौशिला चौधरी, एनपीस अवार्ड विजेता पुर्व कमलरी


प्रकाशित मिति :2015-12-16 10:55:41

२७ वर्षीया पुर्व कमलरी कौशिला चौधरीले यो वर्षको एनपीस अवार्ड पाइन् । कैलाली, चौमाला गाविस राजीपुरकी चौधरीलाई कमलरी मुक्ति अभियानमा लागेर दासताविरुद्ध प्रेरणादायी र साहसिक काम गरेकोमा अमेरिकाको न्युयोर्कमा यो अवार्ड दिइएको हो । चौधरीको संघर्षको कथा ।

महिला खबर
काठमाडौं, पुस १ । दासताविरुद्धमा काम गरेको १५ वर्षसम्म पनि मलाई यो अवार्डका बारेमा थाहा थिएन । एकजना प्लान नेपालमा काम गर्ने रामदास चौधरी दाइले यसबारेमा भन्नुभयो र मेरो बायो डाटा माग्नुभयो । उहाँ पनि कमलरी क्षेत्रमा काम गर्नुहुन्छ । उहाँसँग मैले के को लागि पठाउन लागेको भनेर सोधें । उहाँले ग्रामीण तहमा बसेर समाज सेवा गर्नेका लागि एउटा अवार्डमा मेरो नाम पठाउन लागेको कुरा गर्नुभयो । त्यसपछि मैले हुन्छ भने तर मैले नै पाउँला भन्ने कुरामा कत्तिपनि विश्वास थिएन ।

Kausila (2)नेपालबाट अरु ८ जना महिला पनि थिए । उनीहरू एकदम ठुलो संस्थामा ठुलै पदमा बसेर काम गरेका थिए । उनीहरू म भन्दा धेरै जान्नेहरू थिए । फेरी यो अवार्ड सामाजिक सञ्जाल फेसबुकमा विद्युतीय मतदानका आधारमा छनौट हुने  थियो ।

तर, म जहाँ र जसका लागि काम गर्छु उनीहरूलाई न त फेसबुक चलाउन आउँछ न त इन्टरनेट । त्यसैले म छनौट हुन्न भन्थें तर, दाइले चाहि हामीलाई आशा छ भन्नुहुन्थ्यो ।

एकदिन एक्कासी काठमाडौंको युएन अफिसबाट फोन आयो । म यसमा छनौट भएको खबर उहाँले दिनुभयो । तर, मलाई विश्वास लागेन । उहाँले मेरो इमेल माग्नुभयो र छनौट भएको इमेल मलाई पठाइदिनुभयो । त्यसपछिमात्रै मलाई विश्वास लाग्यो । म आफै कमलरी हुँ ।

मैले कमलरी मुक्त हुनुपर्छ भनेर यो क्षेत्रमा  सानैदेखि धेरै संघर्ष गरेकी थिएँ । मरीमरी काम गर्दापनि हाम्रो आवाज सुनिँदैन । तर, यो अवार्ड पाएपछि कहीँ न कहीँबाट मुल्याकंन हुँदो रैछ भनेर सन्तोष लाग्यो ।

अवार्ड पाएपछि सवैभन्दा ठुलो उपलब्धि कमलरी समस्या छ भन्ने स्थापित भयो ।  अब मेरो जिम्मेवारी बढेको छ । कमलरी दिदी बहिनीको साथले मलाई यहाँसम्म ल्याइपुर्‍यायो । त्यसैले कमैया र कमलरी पुर्नस्थापनाका लागि र कमलरी बहिनीहरूको शिक्षाकालागि धेरै काम गर्नुछ । म हिम्मतका साथ अघि बढछु ।

अक्टुवर २०१५ मा म एनपीस अवार्ड थाप्न अमेरिका गएँ । कति विकसित रहेछ त्यो देश । त्यहाँ नीति नियम राम्रा रहेछन् । नियम कानुन सवैले मान्दा रहेछन् ।  गाडी चढ्यो भने जहा झर्नुछ त्यसको एक घण्टा टाढा झर्नुपर्ने । त्यहाँ त ठाउँ ठाउँमा गाडी रोकिँदैन । हामीलाई त यहाँ ढोकै मा रोकिदिनुपर्छ । नरोके हामी नै कराउँछौं । नेपालमा हुँदा म जुन समुदायका लागि काम गर्छु त्यसको मात्रै माया लाग्थ्यो । तर, अमेरिका गएर आएपछि मलाई सिङ्गो नेपालको माया लाग्न थालेको छ ।

कमैया अनुभव र विद्रोह
म सानैदेखि अन्यायका विरुद्ध उभिन्थे । हामी कमैया र कमलरीमाथि विभेद भइरहेको छ भनेर बुवासँग धेरै झगडा पर्थ्याे मेरो । खासगरि मलाई उहाँले पढ्न दिनुभएन । उहाँ छोरी भएपछि काम गर्नुपर्छ भन्नुहुन्थ्यो । त्यो मलाई मन पर्दैनथ्यो । तरपनि म भागेर र घरमा ढाँटेर प्रौढ शिक्षा पढ्न जान्थें । बैठक र कार्यक्रममा सहभागी हुन्थें । यसरी जाँदा मैले जुनदिन घरमा काम गर्दिनथे, त्यो दिन म भोकै सुत्थे । कतिदिनसम्म भोकै बसें भन्ने त मलाईमात्रै थाहा छ । मैले गरेको त्यो संघर्षले मलाई यहाँ ल्याइ पुर्‍यायो ।

kausila3अहिले बुवा मदेखि निकै खुसी हुनुहुन्छ । उहाँ छोराले भन्दा छोरीले गर्‍यो भनेर म प्रति गर्व गर्नुहुन्छ । उहाँलाई अहिले छोरीलाई पढाइन भन्ने पछुतो भइराखेको छ । अव कसैलाई दोष दिनु हुन्न किनभने परिस्थिती त्यस्तै थियो । अहिलेपनि मैले पढ्न छोडेकी छैन । मैले यही वर्ष एसएलसी पास गरे । पहिला प्रौढ कक्षा पढेर एकैपटक ८ कक्षामा भर्ना भएँ ।

कमैया बस्दा जव मालिकका छोराछोरी पढन जान्थे, मलाई पनि स्कुल जान मन लाग्थ्यो । तर यो संभव थिएन । मेरो बाजेको पालादेखि नै हाम्रो सवै परिवार मालिकको घरमा कमैया बसेको थियो । मालिकको घरमा मेरो बाजे, बुवा, आमा, दाइभाइ, दिदी र म सवैले उनका लागि काम गर्थ्याै ।

हाम्रो परिवारको ३५ वर्षदेखि तिनै मालिकको घरमा काम गरेर बितेको छ । मालिकसँग लिएको ऋण वर्षेनि थपिदाँ ४० हजार रुपैयाँ पुगेको थियो । यही तिर्न हाम्रो परिवार वर्षौदेखि कमैया बसेको हो ।

म आठ नौ वर्षको उमेरदेखि मालिकको घरमा भात पकाउने गर्थे । काम गर्दागर्दै १३ वर्षको उमेरदेखि प्रौढ शिक्षा पढें । त्यहाँ मैले बधुवाँ श्रमको बारेमा पढ्न पाएँ । अनि मात्रै आफू र आफ्नो परिवारमाथिको अन्यायका बारेमा थाहा पाएँ ।

किनकी हामी बाजेका पालादेखि परिवारका सवै सदस्यले मालिकको घरमा काम गर्थ्याै तर, ज्याला एकजना बाजेले मात्रै पाउने । त्यसपछि घरमा बुवासँग कुरा गरेँ । उहाँले मेरो कुरा सुन्नुभएन । बाजेसँग भनें । उहाँ एकदम रिसाउनुभयो । तैले यस्तो कुरा गर्दा हामीलाई मालिकले बस्न दिँदैन, अनि हामी कहाँ जाने भनेर उल्टो मलाई गाली गर्नुभयो ।  तैपनि म चुप लागेर बसिनँ ।

स्कुल भर्ना गरिदिनुस भनेर बुवासँग रोएँ । ३ दिनसम्म भात खाइन । लुथरन वर्ल्ड फेडेरेशन नामक एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा स्कुल भर्ना त भएँ तर, मलाई घरबाट स्कुल जान दिएनन् । बुवाले तँ स्कुल गएपछि घरमा काम कसले गर्छ भनेर स्कुल जान दिनुभएन । तर, मेरा दाइहरू काम गरेरै पढन जान पाउँथे । मेरो दिदी र मैले पढ्न पाएनौं । तैपनि म विद्रोह गर्थे ।

मैले यहि वर्ष एसएलसी पास गरे । पहिला प्रौढ कक्षा पढेपछि ८ कक्षामा भर्ना भएर स्कुल गएर पढेकी हुँ त्यतिवेला विहान बेलुका मालिकको घरमा खाना पकाइ भाँडा माझेर दिउँसो  भागेर बिभिन्न संघसंस्थाको कार्यक्रममा जान्थें । घरमा भने काम मै गएको भन्थें । यसरी हिँड्दा म २०७५ सालमा भएको कमैया मुक्ति आन्दोलनमा सक्रिय हुन पाएँ ।

त्यो आन्दोलनमा कमैया महिलाका तर्फबाट आन्दोलनमा एकजना म मात्रै थिएँ । मेरो बाजे जुन घरमा कमैया बस्नुहुन्थ्यो त्यो घरमा १७ परिवार कमैया थिए ।  एउटा गाउँ वस्ती नै कमैयाको थियो । हामीले उनको काम गरेवापत वार्षिक ३६ मन धान पाउथ्यौं । यसले वर्षभरी खान हामीलाई पुग्दैनथ्यो । हामीले मालिकसँगै फेरी ऋण लिनुपर्थ्याे ।

kausila4त्यो ऋण धानै हुन्थ्यो र मालिकले यसलाई पैसामा कन्भर्ट गर्थे । अनि हाम्रो ऋण वर्षैपिच्छे थपिन्थ्यो । कति कमैयाले मालिकबाट ऋण नपाएपछि अरु ठाउँमा कमाउँन जान्छौ भन्दापनि दिँदैनथे ।

यस्तो देखेपछि मलाई यो घोर अन्याय हो भन्ने लाग्थ्यो । अनि हामी यसको बिरोध गथ्र्यौ । हामीले कमैयामाथि भैरहेको अन्यायका बारेमा आवाज उठाउँदा मेरो बाजे एकदमै रुनुहुन्थ्यो ।

किनभने उहाँले मालिकलाई असाध्य माया गर्नुहुन्थ्यो । उहाँले मेरो आफ्नैले घरबाट यस्तो गर्दैछन् भनेर उहाँ रुनुहुन्थ्यो ।

२०५६/५७ तिर कमैया मुक्तिका लागि गाउँ गाउँमा संगठित गर्ने काम भइरहेको थियो । कमैया मुक्तिका लागि संगठित गर्न म घरबाट भागेर गाउँगाउँ जान्थें ।

यसक्रममा मलाई प्रहरीले पक्रेर थुन्यो । मलाई थुनाबाट निसिक्नका लागि जमानी बसिदिने कोही भएन । बल्ल बल्ल गाउँ कै एकजनालाई अनुरोध गरेपछि जमानी बसिदिए र निस्कन पाएँ ।

एकदिन थुनामा बसें तर, यो कुरा मैले घरमा भनिन । भन्यो भने फेरी जान दिँदैनन् भनेर । आन्दोलनका कारण २०५७ सालमा कमैया मुक्ति भयो ।

मेरो बाजे कमैया मुक्ति भएको ४ वर्षपछि बित्नुभयो । कमैया मुक्तिको घोषणापछि मालिकले हामीलाई काममा नआउनु भनेका थिए । बाजेलाई मालिकको जग्गाको असाध्य माया थियो । हामीले काम नगरेपछि त्यो जग्गा कसले हेर्छ भनेर हामीसँग झगडा गरिरहनुहुन्थयो । माओवादीले जग्गा कब्जा गर्ने भनेपनि बाजेले दिनुभएन ।

मालिकले हामीलाई धेरै शोषण गर्‍यो भन्नु भन्दापनि हामी उहाँलाई धन्यवाद पनि दिन्छौं । किनभन्दा हामीलाई उहाँले सहयोग पनि गर्नुभयो । उहाँले मेरो घरमा बसेकालाई बास दिन्छु भनेर हामीलाई २०६३ सालमा १८/१८ कट्ठा जमिन दिनुभयो । हामी सवै खुसी छौं । हामी अहिलेसम्म पनि त्यही कमाएर जिविकोपार्जन गर्दै आएका छाैं । मेरो बाजेदेखिको पुस्ताले त्यो जग्गा खोस्रेको हो त्यसैले हामीलाई माया त्यही जग्गाको थियो र पायौं पनि ।

कमलरी आन्दोलन
समस्या जति भएपनि कमैया त मुक्ति भए तर, कमलरीहरू मालिकको घर मै थिए । मेरै गाविस चौमालाका ३ जना बहिनीको काठमाडौंमा मृत्यु भयो । एक जना बेपत्ता भइन् । त्यसपछि हामी कमलरीविरुद्धको अभियानमा लाग्यौं । हामीले कमलरी कति छन् भनेर एउटा अध्ययन गर्‍यौं ।  एउटै वस्तीमा ६० जनाभन्दा धेरै कमलरी पाएपछि मुक्त कमलरी महिला विकास समाज खोल्यौं । पहिला सात जना मिलेर अनौपचारिकरुपमा काम गरिहेका थियौं । पछि यसलाई औपचारिकरुपमा दर्ता गर्‍यौं ।

अहिले पनि यो संस्थाले मालिकको घरमा बसेका कमलरीलाई निकालेर पढाउँछ । अभिभावक नहुनेलाई होस्टेलमा राखेका छौं र अभिभावक हुने कमलरीलाई घर पठाएका छौं । कैलालीमा १२२ जना कमलरी होस्टेलमा छन् । कैलालीमा ३५ सय कमलरी छन् । कमलरी फिर्ता गरेर यदि अभिभावकले बुझिदिएनन् भने गाह्रो हुन्छ्र तर, अहिले बुझ्न थालेका छन् । उनीहरूले हाम्रो अभियानलाई सहयोग पनि गरेका छन् । जसका बाबु रक्सी खाएर हिँड्ने र आमाले मात्रै कमाएर परिवार पालिरहेको  उनीहरूको घरमा छोरी फर्काउन अझै समस्या छ । घर ल्याउने वित्तिकै बिहे गरिदिन्छन्

संस्था दर्ता गर्नुअघि हामी कमलरी मुक्त गर्न तिनका घरमालिक कहाँ जान्थ्यौं ।  तर, उनीहरूले हामीलाई घर मै आएर बिभिन्न डर त्रास देखाएर मार्ने धम्की दिन्थे । बुवा आमालाई धम्क्याउँथे । तेरो छोरीले यस्तो काम गर्दैछ राम्रो हुँदैन भन्थे  ।

एकजना पुर्व सिडीओले त मेरो घरमा राखेको काम गर्ने भगाइदिइस भनेर घर मै आए । उसले मलाई जेपनि गर्नसक्छु भनेर धम्क्याएपछि मलाइ मेरो दाईले समेत यस्तो काम नगर भनेर दवाव दिन थाल्यो । तैपनि मैले काम छोडिनँ । धनगढीमा एकजना कमलरीले झुण्डिएर आत्महत्या गरिन् । यो केशमा म लागँे । छानवीन गर्न र क्षतिपुर्ति दिनुपर्छ भनेर लडें ।

यसपछि संस्थालाई पनि धेरै आक्षेप आयो । नचिनेको फोन नम्बरबाट मलाई मार्ने धम्की आउन गर्न थाल्यो । यस्तो काम नगर भन्थे । यतिखेर सञ्चार माध्यम र अन्य संघसंस्थाले पनि सहयोग गरे । समाचार आए । कमलरी मुक्ति र मालिकको घरमा काम गर्ने क्रममा मृत्यु र बेपत्ता भएका कमलरीको बारेमा छानविन र

Kausila 2

क्षतिपुर्तिको माग गर्दै हामी काठमाडौं गएर १९ दिनसम्म धर्ना बस्यौं । सवै कमलरीले मुठिदान गरेर ल्याएको चामल र अन्य खानेकुरा खाएर यहाँ आन्दोलन गरेका थियौं । घर घरबाट एक एक गिलास चामल, एक रुपैयाँ र दाल लिएर आएका थियौं । मालिकको घरमा काम गर्न बसेका ७ जना कमलरीको मृत्यु भएको थियो ।

धर्नापछि सरकारले सबै कमलरीलाई परिचयपत्र दिने सम्झौता गरेका थियो तर, अहिलेसम्म त्यो काम भएको छैन । मृत्यु भएका कम्लरीमध्ये पनि २ जनालेमात्र क्षतिपुर्ति पाएका छन् । तर, छानविन भएको छैन । कमलरी बस्दा मालिकको घरमा यौन हिंसामा परेर बच्चा जन्माएकाहरूको पनि छानविन गरि क्षतिपुर्ति दिने सहमति भएको थियो । अहिलेसम्म त्यसको पालना भएको छैन ।

३५ जनाको परिवार
मेरो श्रीमान दुबइमा हुनुहन्छ । बिहे भएको एकमहिनामै उहाँ दुवइ जानु भएको हो । त्यसैले मैले गर्ने कामका बारेमा उहालाई धेरै थाहा छैन । उहाँहरू पनि कमैया त हो, तर हामी भन्दा पहिला नै मुक्त भइ स्थापित हुनुभएको हो । उहाँको ३५ जनाको संयुक्त परिवार छ । ससुराको ३ जना दाजुभाइ, उनीहरूका छोराछोरी नातनिातिना गरेर हामी ५ जना बुहारीहरूको २/२ महिनामा खाना पकाउने पालो पर्छ । ४ जना सासु छन् ।

प्रकाशित मिति :२०७२ पुस १ गते वुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: