सदूरपश्चिममा पहिलो पटक आइसियु सेवा


प्रकाशित मिति :2015-12-16 12:02:48

खेमा बस्नेत

कैलाली, पुस १ । सुदूरपश्चिममा पहिलो पटक सघन उपचार कक्ष (आइसियु) सेवा सुरू भएको छ । धनगढीस्थित सेती अञ्चल अस्पतालले आइसियु सेवा सञ्चालनमा ल्याएको हो । आइसियु सेवा सुरू भएसंगै आइसियुमा राखेर उपचार गराउनु पर्ने गम्भीर प्रकृतिका बिरामीलाई अन्यत्रै लैजानु पर्ने यस क्षेत्रका बासिन्दाको बाध्यता हटेको छ ।

अस्पतालले मंगलबार एक कार्यक्रम गरी मंसिर २५ गते देखि आइसियु सञ्चालनमा ल्याइएको जानकारी दिएको छ । अञ्चल अस्पतालमा आइसियु निर्माणका लागि नेपाल सरकारले गत आर्थिक वर्षमा १ करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । यस्तै विभिन्न व्यक्ति, संघसंस्थाहरूले समेत आइसियु निर्माणका लागि सहयोग गरेका थिए । सबैको सहयोगमा आइसीयु निर्माण संभव भएको हो ।

‘स–साना विद्यार्थीले समेत खाजा खर्चको पैसा जोगाएर आइसियुका लागि सहयोग गरेका छन् । सबैको यस्तै आर्थिक भावनात्मक सहयोगले आइसीयु निर्माणको काममा हामीलाई थप हौसला मिल्यो ।’ सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.गणेशबहादुर सिंहले भने । आइसीयु संचालनमा आउनु सुदूरपश्चिमका लागि चिकित्सा क्षेत्रमा ठूलो उपलब्धी भएको अञ्चल अस्पतालका बरिष्ट फिजिसियन डाक्टर शुभेषराज कायस्थले बताए ।

उनले भने ‘लामो प्रतिक्षापछि यस क्षेत्रमा आइसियु सेवा संचालनमा आएको छ । यस क्षेत्रका बासिन्दाका लागि यो ऐतिहासिक दिन हो ।’ सेती अञ्चल अस्पताल यस क्षेत्रकै ठूलो रेफरल सरकारी अस्पताल हो । यस क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरूले उपचार गर्न नसकेका बिरामीहरूलाई सेती अञ्चल अस्पतालमा रेफर गर्ने गरेका छन् । पहिलो पटक आफ्नै क्षेत्रमा आइसीयु सेवा संचालनमा आउनु खुशीको कुरा भए पनि यहाँका जनसंख्याको आधारमा ४ शैय्याको मात्रै आइसियु पर्याप्त नभएको डाक्टर कायस्थले बताए । साढे २५ लाख भन्दा बढी जनसंख्या रहेको क्षेत्रमा कम्तीमा ६ शैय्याको आइसियु आवश्यक पर्ने चिकित्सकले बताएका छन् । विभिन्न कारणले जीवन र मरणको दोसाँधमा रहेका बिरामीलाई आइसीयुमा राखेर उपचार गर्ने गरिन्छ । यसअघि यस क्षेत्रमा आइसियु नहुँदा गम्भीर प्रकृतिका कतिपय बिरामीले समयमै आइसियु सेवा नपाउँदा अकालमै ज्यान गुमाउने गरेका थिए ।

20151215_135853

डाक्टर कायस्थका अनुसार मुटु र रक्त सञ्चार प्रणाली फेल भएका, स्वास प्रश्वासमा अवरोध हुने, मष्तिस्क चोट आदि विभिन्न कारणले बेहोस भएका, तत्काल मृगौला, कलेजो फेल भएका बिरामीलाई आइसियुमा राखेर उपचार गर्नु आवश्यक हुन्छ । यसअघि यहाँ आइसीयु सुविधा नहुँदा नेपालगंजलगायत ठाउँमा लग्नुपथ्र्यो । मंसिर २५ गते ३ जना बिरामी भर्ना गरेर आइसीयु सञ्चालनमा ल्याइएको थियो ।

सेवा संचालन भएको हालसम्मको ५ दिनको अवधिमा गम्भीर प्रकृतिका १० जना बिरामीलाई आइसीयुमा राखेर उपचार गरिएकोमा ६ जना निको भएर घर फर्किएका र ४ जनाको उपचार भईरहेको डाक्टर कायस्थले जानकारी दिए । ‘यसअघि परिक्षणका रुपमा संचालन गरेका थियौं । आजबाट पूर्ण रुपमा सेवा शुरु भएको छ ।’ उनले भने ‘गत साउनदेखि नै बिरामीको उपचारका लागि हामीले आइसीयुका कतिपय उपकरणको प्रयोग सुरु गरेका थियौं ।’ आइसियु कक्ष निर्माण नभइसकेको अवस्थामा परिक्षणका लागि पनि कतिपय उपकरणहरू पहिलेदेखि नै प्रयोगमा ल्याइएको उनले बताए ।

आइसियुमा राखेर उपचार गरेको शुल्क प्रति दिन १ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ । अन्यत्र सबै ठाउँमा आइसीयु राखेको प्रतिदिनको शुल्क दुई हजार ५ सय रुपैयाँ भन्दा कम नभए पनि यस क्षेत्रका विपन्न वर्गका बासिन्दालाई पनि उपचारमा सहयोग पुगोस् भनेर कम शुल्क राखिएको अस्पतालले जनाएको छ ।

एक शैय्याको सञ्चालन खर्च प्रतिदिन ३ हजारदेखि ३ हजार ५ सय रुपैयाँसम्म हुने बताइएको छ । विपन्न वर्गले पनि आइसियुमा राखेर उपचार गर्न पाउन भनेर अस्पतालले घाटा खाएर भए पनि आइसियुको सेवा शुल्क कम गरिएको डां सिंहले बताए ।
आइसियु संचालनको अवसरमा केही दिनका लागि सेवा निशुल्क गरिएको अस्पतालले जनाएको छ । आइसियु सेवा निरन्तरत संचालनका लागि सरोकारवाला सबैको सहयोग आवश्यक रहेको मेडिकल सुपरिटेण्डेण्ट डाक्टर सिंहले बताए । ‘आइसियु स्थापनामात्रै ठूलो कुरा होइन, निरन्तरता दिनसक्नु ठूलो कुरा हो ।’ उनले भने ‘भएकोलाई निरन्तर सुचारु गर्न, शैय्या बढाउन र स्तर उन्नती गर्ने कार्यका लागि अस्पताललाई सबैको सहयोग आवश्यक पर्छ ।’
आइसियु गम्भीर अवस्थाका बिरामी भर्ना गर्नुपर्ने ठाउँ भएकाले बिरामीको मृत्यु भए अस्पतालमा तोडफोड हुने, आइसीयुमा राखेवाफतको शुल्क नतिर्नेजस्ता समस्याहरु देखिने भएकाले त्यसमा अस्पताललाई सबैको सहयोग आवश्यक पर्ने उनको भनाई थियो ।

आइसियु स्थापनाका लागि कैलाली क्षेत्र नं. ६ का सांसद पुस्करनाथ ओझाले सांसद विकास कोषको १० लाख रुपैया सहयोग गरेका थिए । यस्तै कतिपय व्यक्ति र संघसंस्थाले पनि आर्थिक सहयोग गरेका थिए । आइसियु स्थापना भएपछि कैलाली उद्योग वाणिज्य संघले करिब ८ लाख २२ हजार रुपैया अस्पताललाई उपलब्ध गराएको थियो ।

अस्पताल विकास समितिका निमित्त अध्यक्ष राजेश खातीले आइसियु संचालनमा आउनु यस क्षेत्रका सबैको लागि खुशीको कुरा भएको उल्लेख गर्दै अञ्चल अस्पतालको स्तरोन्नतीका लागि सबैको सहयोगको अपेक्षा विकास समितिले गरेको बताए । आइसीयु सेवा शुरुबारे जानकारी दिन आयोजित कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाइले आइसियु स्थापनाको सपना साकार भएको र आफ्नै क्षेत्रमा उपचार सेवा पाउने भएकाले विपन्न वर्गका व्यक्ति लाभान्वित हुने बताए ।

उनले आइसियु सेवाको निरन्तरताका लागि प्रशासनबाट आवश्यक सबै सहयोग रहने प्रतिवद्धता जनाए । प्रमुख जिल्ला अधिकारी चापागाइले उपचारका क्रममा बिरामीसंग राम्रो व्यवहार गर्न समेत आग्रह गरे ।

प्रकाशित मिति २०७२ पुस १ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: