मधेश आन्दोलन : समस्यामा गर्भवती


प्रकाशित मिति :2015-12-17 14:01:48

चार महिनादेखी भएको मधेश आन्दोलनले गर्भवती र बालबालिकामा गम्भिर प्रभाव पारेको छ । आन्दोलनका समयमा पनि सहज ढंगले अस्पतालसम्म आउन—जान सक्ने वातावरण बनाउन महिलाहरूले माग गरेका छन् ।  

गीता चिमोरिया
२ असोज २०७२ का दिन समयमै अस्पताल पुर्‍याउन नपाउँदा महोत्तरीमा एक बालकको ज्यान गयो । निमोनियाबाट सिकिस्त आफ्नो छोरालाई बन्दले गर्दा समयमै अस्पताल पुर्‍याउन नपाउँदा औरही ५ का नागेन्द्र यादवले एक वर्षका छोरा गुमाएका छन् । स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि चिकित्सकले थप उपचारका लागि तत्काल बाहिर लान भनेपनि एम्बुलेन्स नपाएपछि स्थानीयको सहयोगमा मोटरसाईकलमा जनकपुर लैजाँदै गर्दा बाटोमै बालकको निधन भएको हो । बन्दकर्ताले आक्रमण गर्छन् भन्दै एम्बुलेन्स जान मानेनन् । भाडाका गाडीसँग सहयोग माग्दा ‘बन्दका बेला जे पनि हुनसक्छ’ भनेर उनीहरू समेत पन्छिए । बाबु नागेन्द्र दुखेसो गर्छन ‘समयमै अस्पताल पुर्‍याउन सकेको भए बचाउन सकिन्थ्यो कि ?’

IMG_8879

४ महिनादेखि तराई बन्द र अढाई महिना देखिजारी नाकाबन्दीका कारण यस क्षेत्रमा शिशु र बालबालिकामात्र होईन गर्भवती, सुत्केरी र अन्य महिलाको उपचारमा समेत निकै समस्या देखिएको छ । तराईका अन्य विभिन्न क्षेत्रजस्तै स्वास्थ्य क्षेत्रपनि बन्द र नाकाबन्दीका कारण अस्तव्यस्त बनेको छ । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई आन्दोलनबाट टाढै राख्न कुनैपनि पक्षबाट विशेष पहल नभएको गुनासो बढ्दै गएको छ ।

६ महिनाकी गर्भवती धनुषा तुलसिकी मनिषा दाहाल बन्दका कारण अस्पतालसम्म आँउन समस्या परेको गुनासो गर्छिन् । गतसाता बर्दिबास अस्पतालमा भेटिएकी मनिषा गाडी नपाँउदा रिक्सा तथा साईकलमा हिड्नुपर्ने बाध्यता रहेको बताउँछिन् । कच्ची बाटोमा रिक्सामा हिड्दा गर्भको बच्चा र आमा दुवैको स्वास्थ्यमा जोखिम आउन सक्ने भन्दै चिकित्सकले नहिँड्न सुझाव दिएपनि अर्को विकल्प नहुँदा जोखिम लिएर हिड्न बाध्य भएको उनको भनाइ छ ।

अस्पतालबाट निःशुल्क पाउनुपर्ने आईरन चक्की नपाएको मनिषाको भनाइ छ । चिकित्सकले लेखेर दिएको औषधी पनि अस्पताल र नजिकका मेडिकल पसलमा पाइन छोड्यो । बर्दिबास अस्पतालमै भेटिएकी चार महिनाकी गर्भवती ईश्वरी कट्टेललाई अर्को चिन्ता थपिएको छ । अस्पतालले औषधी सकिएको भन्दै गर्भ जाँच गरिसकेपछि आवश्यक औषधी बाहिरै किनेर खानु भन्ने सल्लाह दिएको छ । बाहिर औषधी किन्न सक्ने अवस्था नभएकाहरू गर्भावस्थामा खानुपर्ने आईरन चक्की, भिटामिन, जुकाको औषधी खान नपाउने अवस्थामा पुगेका छन् ।

IMG_8873लामो समयदेखी तराईका जिल्लामा चलेको आन्दोलनका कारण अन्य क्षेत्रमा भन्दा स्वास्थ्य क्षेत्रमा बढी समस्या देखिएको छ । असुरक्षा बढेको भन्दै तराईका केही जिल्लामा स्वास्थ्यकर्मी आफैँ आन्दोलित भएपछि बिरामीलाई झनै सास्ती थपिएको छ । आन्दोलनकारीको निशानामा पर्न थालेपछि चालकहरूले एम्बुलेन्स चलाउन नमान्दा बिरामीलाई समयमै अस्पताल पुर्‍याउन कठिन हुन थालेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख इन्द्रप्रसाद यादवका अनुसार जिल्लाको दक्षिणी क्षेत्रबाट गर्भवती जाँच गराउन तथा सुत्केरी हुन अस्पताल आउने महिलाहरू हिजोआज टायरगाढा, रिक्सा तथा साईकलमा जसोतसो आउन थालेका छन् । एकातिर कच्ची बाटो अर्कोतर्फ टायर र साईकलको यात्रा, यसले गर्भवती र गर्भको शिशु दुवैलाई खतरा हुने प्रमुख यादव बताउँछन् । जिल्ला अस्पताल जलेश्वर लगायत जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरूमा अहिले आईरन चक्की, भिटामिन, सुत्केरी गराउन आवश्यक सामग्रीको अभाव हुन थालेको छ । आन्दोलनले उत्तरी क्षेत्र भन्दा दक्षिणी क्षेत्र बढी प्रभावित छ ।

बर्दिबास अस्पतालमा अहिले यस क्षेत्रका मात्रै होइन सर्लाही, धनुषा, सिरहा, सप्तरी र रौतहटका विभिन्न ठाउँबाट समेत गर्भवती र बालबालिका स्वास्थ्य जाँचका लागि आउने गरेका अस्पतालकी सिनियर अनमी राधिका गुरुङ बताउँछिन । छिमेकी जिल्लाबाट समेत विरामी आउन थालेपछि बर्दिबास अस्पतालमा औषधीसँगै आवश्यक उपकरणको अभाव भएको स्वाथ्यकर्मीको भनाई छ । चार महिनाको बन्दमा महोत्तरीको एकमात्र ठाउँ बर्दिबास हो, जुन एकदिन पनि बन्द भएको छैन । तुलनात्मक रुपमा अन्य ठाउँभन्दा बर्दिबासमा सवारी साधनको सहजताका कारण बिरामीहरू उपचारका लागि आउने गर्छन् । बर्दिबास क्षेत्रसँगै जिल्लाको औरही, धनुषाको महेन्द्रनगर, ढल्केबर, धारापानी, रौतहटको चन्द्रनिगाहपुर र सिरहाको विभिन्न ठाउँबाट समेत विरामीहरू उपचारका लागि बर्दिबास अस्पतालमा आउने गरेका छन् । IMG_8788

सिनियर अनमी राधिका गुरुङका अनुसार गर्भवती जाँच गराउन आउनेको संख्या बढेको छ, तर, उनीहरूलाई दिने सेवासुविधा घट्दै गएको छ । गुरुङका अनुसार पहिला महिनामा २८ देखि ३० जना गर्भवती गर्भ जाँचका लागि आउने गर्थे तर, अहिले महिनामा ४५ जनाभन्दा बढी आउने गरेका छन् । गुरुङ भन्छिन, ‘पहिला गर्भवतीहरूलाई दुई महिनाको आइरन चक्की दिएर पठाउथ्यौं, तर अहिले ठाउँ र अवस्था हेरेर १०/२० चक्की दिएर पठाउछौं ।’ एकजनालाई दिने आईरन चक्की अहिले दुईदेखि तीन जनालाई बाँडेर दिनुपर्ने अवस्था आएको छ ।

बर्दिबास अस्पतालमा शल्यक्रियाको व्यवस्था नभएकाले शल्यक्रिया गर्नुपर्ने केशलाई जनकपुर रेफर गर्ने गरिएको छ । तर, समयमा एम्बुलेन्स वा अन्य सवारी साधन नभेटिएर समस्या भइरहेको छ । महोत्तरी औरहीकी २२ वर्षीया रेखादेवी यादवले गएको शुक्रबार सिटिकेयर अस्पताल बर्दिवासमा छोरी जन्माईन् । सामान्य अवस्थामा बच्चा नजन्मिएपछि शल्यक्रिया गर्नुपर्‍यो । रेखाजस्तै शल्यक्रिया गर्नुपर्ने अवस्थाका महिला अहिले बर्दिबासमा रहेका जनसेवा, सिटीकेयर, शुभस्वस्तिकलगायतका अस्पतालमा सेवा लिन जाने गरेका छन् । बन्दका कारण निजी अस्पतालमा आउनुपर्दा महंगो खर्च बेहोर्नुपर्ने उनीहरूको गुनासो छ ।

IMG_8789निजी क्लिनीकहरूमा समेत अहिले धेरै खाले औषधीको अभाव हुन थालेको छ । बच्चाहरूलाई लगाउने खोप, जुकाको औषधी, सुत्केरीलाई दिईने झुल तथा न्यानो झोलाको अभाव नरहे पनि बन्द नखुल्ने हो भने विस्तारै यसको पनि अभाव हुनसक्छ । तर, आईरन चक्कीको अभाव भइसेको छ । महोत्तरीमा क्रियाशिल विभिन्न सामाजिक संघसंस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेकाले अहिले जिल्लामा रगतको अभाव नरहेको रेडक्रस उपशाखा बर्दिबासका सुमन भुजेलले बताए ।

सिमाङ्कनको विषयमा असहमति जनाउँदै मधेसवादी दलहरूले आह्वान गरेको बन्दका कारण करिब चार महिनादेखि तराई आक्रान्त छ । बन्दले गर्दा स्वास्थ्यजस्तो संवेदनशिल क्षेत्रसमेत नराम्ररी प्रभावित भएको छ । समयमै अस्पताल पुग्न नसक्दा कतिपयले अकालमा ज्यान गुमाउनु परेको छ । आफ्नो अधिकार लिने बहानामा अरुको बाँच्न पाउने अधिकारको समेत ख्याल नगर्नु अमानवीय कार्य भएको सर्वसाधारणको भनाइ छ । आन्दोलनलाई शान्तिपूर्ण बनाएर बिरामीहरुलाई सहज ढंगले अस्पतालसम्म आउन—जान सक्ने वातावरण बनाउन तथा बिरामीको जीवनसँग खेलबाड नगर्न उनीहरूले आन्दोलनकारीसँग माग गरेका छन् ।

प्रकाशित मिति :  २०७२ पुस २ गते विहिवार

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: