यौन व्यवसायको विकल्प


प्रकाशित मिति :2015-12-18 14:21:30

यौन व्यवसायमा संलग्न भएको भनेर प्रहरीले इटहरी आसपास क्षेत्रबाट पक्राउ गरेका करिब तीन सय युवती अहिले अन्यत्र पलायन भएका छन् । स्थानीय सामाजिक संस्थाका सञ्चालकहरूका भनाइमा उनीहरूको पुनर्स्थापना गर्ने काम कठिन बन्दै गएको छ ।

हिमाल दाहाल
सुनसरी । डेढ वर्षअघि इलाका प्रहरी कार्यालय इटहरी सरुवा भएर आएका डीएसपी विनोद शर्माले ‘यौन विकृति’ अन्त्य गर्ने भनेर होटेलमा छापा मार्ने र सञ्चालक तथा त्यहाँ कार्यरत युवती पक्राउ गर्ने अभियान चलाए । सातजना होटेल व्यवसायीलाई पक्राउ गरेर मानव बेचबिखन कानुनअनुसार मुद्दा दर्ता गरे । यस क्रममा तीन दर्जनजति होटेल बन्दै भए । प्रहरीकै विवरणअनुसार ती होटेलमा प्रलोभन तथा डर–धम्की दिएर गाउँगाउँबाट ल्याएर यौन व्यवसायमा लगाइएका किशोरी तीन सयभन्दा धेरै थिए ।

प्रहरीले ती किशोरीलाई विभिन्न तालिम दिएर अन्य पेसामा लगाउने बताएको थियो । तर, प्रहरीले धरपकड अभियान चलाएपछि ती किशोरी इटहरीबाट बेपत्ता भए । त्यहाँबाट पलायन भएका झन्डै तीन सय किशोरी कहाँ गए, अहिले कस्तो अवस्थामा छन्, कसैलाई जानकारी छैन । कतिपयले छेउछाउका सहरमा आश्रय लिएको अनुमान गरेका छन् भने कतिपयका भनाइमा ती किशोरी काठमाडौं वा अन्य टाढाका सहर गएका छन् । इलाका प्रहरी कार्यालय इटहरीका वर्तमान डीएसपी ओम अधिकारी ‘उनीहरू प्रहरी प्रशासनको नजर कम परेको ठाउँमा पुगेको’ अनुमान गर्छन् ।

डीएसपी शर्माले पक्राउ परेका झन्डै डेढ दर्जन किशोरीलाई प्रहरी कार्यालयमा राखेर स्थानीय सङ्घसंस्थाको समन्वयमा सिलाइकटाइ तालिम दिलाएका थिए । किशोरीलाई प्रहरी भ्यानमा हालेर सिलाइकटाइ प्रशिक्षण केन्द्र लगिन्थ्यो र फिर्ता ल्याउने काम पनि प्रहरीले नै गर्थे । म्याद थप गर्दै कडा नियन्त्रणमा राखिएका किशोरी पछि भाग्न थालेको सीप सिकाउने जनचेतना संस्थाकी अध्यक्ष शिला गजमेर बताउँछिन् । किशोरीमा सिक्ने इच्छाकै कमी देखिएको उनको भनाइ छ । शिला भन्छिन्, ‘म्याद थपिरहन गाह्रो भएपछि प्रहरीले आफूसँग राखेन, छाडेसँगै उनीहरू बेपत्ता भए ।’

व्यवसायी थुनिए, किशोरीहरूले इटहरी छाडे । यसपछि एकहदसम्म इटहरीको ‘यौन विकृति’ कम भयो । तर, त्यो दीर्घकालीन समाधान नभएको भन्दै केही सामाजिक सङ्घसंस्थाले असन्तुष्टि व्यक्त गरेका छन् । मनोरञ्जनका क्षेत्रमा कार्यरत किशोरीलाई तालिम, पुनस्र्थापना कार्यक्रममा आधारित अवसर परियोजना चलाइरहेको उप्का नेपालका राम नेम्वाङ त्यसरी भागेका युवती झन् असुरक्षित हुने बताउँछन् । उनका भनाइमा ‘पहिला एउटा ठाउँ हुन्थ्यो, त्यहाँ उनीहरूलाई महिला हिंसा, यौन शिक्षा, वैकल्पिक पेसा, व्यवसायका लागि प्रोत्साहित गर्न सकिन्थ्यो ।’ जोखिमपूर्ण अवस्थामा काम गरिरहेका दुई सय १० किशोरी आफूहरूको सम्पर्कमा रहेर जीवनोपयोगी शिक्षा र सीप सिकिरहेको बताउँदै परियोजनाका सुपरभाइजर नेम्वाङ भन्छन्, ‘किशोरीहरू सम्पर्कविहीन भएपछि उनीहरू बाध्य भएर झन् जोखिमपूर्ण पेसामा संलग्न भएको आशङ्का छ ।’

होटेल व्यवसायलाई केन्द्रित गरेर प्रहरीले कारबाही चलाएपछि अहिले होटेल व्यवसायीले किराना पसल, सेकुवाघर र आफँैले कोठा भाडामा लिएका घरहरूलाई यौन गतिविधिको सेल्टरका रूपमा फाट्टफुट्ट प्रयोग गर्न थालेका छन् । सोझासीधा किशोरीलाई ललाइफकाइ तथा डरधाक देखाएर यौन व्यवसाय सञ्चालन गर्ने काम भइरहेको स्थानीय सामाजिक सङ्घसंस्थाको भनाइ छ । ‘सामान्य सेकुवा घरमा पनि बियर र सेकुवा खाएका ग्राहकलाई यसतर्फ प्रोत्साहित गरेको पाइयो,’ डीएसपी अधिकारीले भने, ‘दुईजना युवती राखेको भेटिएपछि केही समयअघि एकजना सञ्चालकलाई पक्राउ गरेर मुद्दा चलायौँ ।’

होटेल, रेस्टुरेन्टलगायतका मनोरञ्जनका क्षेत्रमा कतिपय युवती बाध्यतावश काम गरिरहेको भेटिएको छ भने कतिपयचाहिँ स्वतन्त्रतापूर्वक काम गर्न पाइने भनेर पनि यो क्षेत्रमा आएका छन् । डीएसपी अधिकारी ‘युवतीलाई पुनस्र्थापना गर्न असाध्यै कठिन भए पनि बाध्यतावश यो क्षेत्रमा काम गर्ने युवतीलाई विकल्प दिए अन्यत्रै पुनस्र्थापित हुने’ बताउँछन् ।

प्लान नेपालकी टंकमाया लिम्बू अवसर परियोजनाले सिलाइकटाइ, ब्युटिपार्लर चलाउने सीप सिकाएर रोजगारमा लगाइदिन प्रयास गरे पनि यो काम चुनौतीपूर्ण रहेको बताउँछिन् । एक सय ७० जना संस्थाको सम्पर्कमा आएकोमा १७ जना परामर्शकै क्रममा पलायन भएको उनको भनाइ छ । ‘सीप पनि नयाँ हुने, सिकेको कुरामा ‘पर्फेक्ट’ हुन पनि समय लाग्ने र उनीहरूमा धैर्यता नहुँदा सिकाउन गाह्रो छ,’ प्रहरीले पक्राउ गरेर सीप सिकाउँदा किशोरीहरू भागेको प्रसङ्ग झिक्दै उनले भनिन्, ‘हामीले पहिले उनीहरूलाई काउन्सिलिङ गर्दै मनोभावना बुझेर सिकाउँदाचाहिँ केही सफलता प्राप्त भएको थियो । तर, मार्केटिङ र दिगोपनाको चुनौती छ । फेरि व्यवसाय सुरु गर्न हामीले उनीहरूलाई धेरै पैसा पनि दिन सक्दैनौँ ।’

परामर्शका क्रममा धेरैजसो युवतीमा पीर मान्ने, चिन्ता गर्ने, आत्महत्याको प्रयास गर्ने, उदास हुने, एक्लोपना देखिने, आफूले आफूलाई दोषी ठान्ने भावना पाल्ने समस्या देखिन्छ । उनीहरूलाई परामर्शको खाँचो छ । परियोजनाअन्तर्गत बीएलओपी कक्षाकी एक सहजकर्ता भन्छिन्, ‘घुलमिल भएर सिक्न चाहने, सीप सिकाइदिने कुरा गर्दा कम्प्युटर, ड्राइभिङमा उनीहरूको आकर्षण देखिन्छ । तर, त्यस्ता सीपको ‘स्कोप’ त्यति नभएकाले हामीले जोड गरेका छैनौँ ।’

सीप सिकाउँदा पनि किशोरीले कमाउने समय सीप सिक्नमै खर्च हुन्छ । त्यसैले मनोरञ्जनका क्षेत्रमा काम गर्ने किशोरीको पुनस्र्थापना सोचेजस्तो सजिलो नभएको सरोकारवालाको बुझाइ छ । मनोरञ्जनकै क्षेत्रहरूमा काम गर्न चाहने युवतीका लागि सुरक्षित वातावरण बनाउन होटेल व्यवसायीलाई राखेर सर्वपक्षीय सहमति गरिएको छ । होटेलहरूमा यौन विकृति बढेको भनेर एनजीओ र प्रहरी दुवै खनिएपछि होटेल सञ्चालकले मिलेर इटहरीका होटेललाई वर्गीकरण गरेर स्टिकर नै टाँस गरेका छन् । होटेल व्यवसायी सङ्घ इटहरीका सचिव उमेश दाहाल भन्छन्, ‘इटहरीमा पहिलाजस्तो विकृति छैन, अनुगमनका लागि सबैलाई स्वागत छ ।’

पीडकमाथि दह्रो सजाय नभएसम्म किशोरी किनबेच र शोषण न्यूनीकरण हुँदैन । त्यसका लागि कानुन नै सहयोगी नभएको डीएसपी अधिकारी बताउँछन् । ‘पीडितले आफूमाथि शोषण भयो भनेर भनेपछि पीडकलाई जिउ मास्ने–बेच्ने कानुनअन्तर्गत मुद्दा लगाउन सकिन्छ,’ अधिकारीले भने, ‘पीडितलाई कन्भिन्स गरेर प्रमाण जुटाई मुद्दा दायर गर्‍यो, पछि अदालतमा बयान फेरिदिन्छन् ।’ उनले आफूले दुईजना व्यवसायीलाई मानव बेचबिखनअन्तर्गत मुद्दा चलाएको जानकारी दिए ।

अधिकारीभन्दा अघिका डीएसपी शर्माले जिउ मास्ने बेच्नेअन्तर्गत मुद्दा चलाएर पुर्पक्षका लागि थुनामा पठाइएका व्यापारी जिल्ला अदालतबाट सफाइ पाएर छुटेका थिए । स्थानीय एक समाजसेवी भन्छन्, ‘बलियो कानुन र प्रतिबद्ध प्रशासन भयो भने शोषणबाट महिलालाई मुक्त राख्न र पीडकलाई कारबाही गर्न सकिन्छ । नत्र केही समयपछि समस्या जस्तोको तस्तै हुन्छ ।’

(संचारिका फिचर सेवाबाट)
(हिमाल, हिमालय टेलिभिजनका सुनसरी संवाददाता हुन्)

 प्रकाशित मिति  :२०७२ पुस ३ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: