महिला खबर
नवलपरासी , पुस ५ । एउटै कोठाभित्र ३ वटा फाटको काम हुँदा बलात्कार र बेचबिखनका मुद्दाहरू लिएर आउँने पीडित महिला निर्धक्क भएर आफ्ना कुराहरू राख्न नसकेको ईलाका प्रहरी कार्यालय नवलपुरकी सहायक प्रहरी निरिक्षक तथा महिला सेल प्रमुख गोमती सारु मगर बताउनुभयो ।
‘एउटै कोठाभित्र ३ वटा फाटको काम हुन्छ पुरुष प्रहरीहरू पनि संगै रहेका हुन्छन त्यसैले पीडित महिला खुलेर आफ्ना कुरा भन्न हिचहिचाउँछन्,’ सारु मगरले भन्नुभयो ।
नवलपरासीको कावासोतीमा रहेको ईलाका प्रहरी कार्यालय नवलपुरमा महिला सेलका लागि छुट्टै भवन नहुँदा एकातिर काम गर्न असहज भएको छ, भने अर्कोतर्फ पीडित महिलाले आफूमाथि घटेका घटनाहरूको बारेमा सहज रुपमा बताउँन नसक्दा कामकारवाहिमा समेत समस्या भएको छ ।
सेल प्रमुख मगरले कार्यालयमा महिला सेलका लागि एउटा छुट्टै भवनको माग गरेको लामो समय भैसक्दा पनि आफ्नो कुराको कुनै सुनुवाई नहुँदा काम गर्न धेरै असजिलो हुने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयाे ‘खासगरि बलात्कार , बेचबिखन घरेलु हिंसाका कतिपय पीडित महिला उजुरी गर्न कार्यालय आउँदा उनीहरूका कुराहरू गोप्य रुपमा सोधपुछ गर्नुपर्ने हुन्छ तर, महिला सेलका लागि उपलब्ध भएको भवनको एउटै कोठाभित्र महिला सेल , प्रशासन फाटको काम हुने हुँदा पुरुष प्रहरीदेखि लिएर प्रशासनका लागि काम लिएर आउनेहरूको भिड लाग्दा पीडित महिलालाई मनोसामाजिक मरामर्श गर्न निकै गाह्रो भएको छ ।’
पीडित महिलाले सबैको अगाडि आफ्ना कुराहरू राख्न नसक्ने हुँदा आफू बाहिर निस्केर कुनै कुना खोजेर मनोसामाजिक मरामर्श गर्ने गरेको उहाँले बताउनुभयो ।
त्यति मात्रै होईन कावासोतीमा आपतकालिन सेवा केन्द्रको समेत खाँचो रहेको उहाँको भनाइ छ । हिंसा पीडित महिला उजुरी गरेपछि आफ्नो घर वा माइतीमा गएर बस्ने अवस्था नहुँने हुँदा उनीहरूलाई केही समयका लागि आश्रय दिने ठाँउ चाहिने हुन्छ तर, कावासोतीमा आपतकालिन सेवा केन्द्र नहुँदा परासी नै पठाउनु परेको मगरे उहाँले गुनासो गर्नुभयो ।
नवलपरासीमा महिला तथा बालबालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा महिलाको क्षेत्रमा कामगर्ने संघसंस्थाहरू मिलेर आपतकालिन सेवा केन्द्र सञ्चालन गरिएको छ तर यहाँको पार्टी प्रतिनिधिहरू, महिला अधिकारकर्मीहरू , महिलाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरूसंग पटक–पटक आपतकालिन सेवा केन्द्र निर्माणका लागि कुरा राखेपनि कोही कसैबाट अहिलेसम्म पहल हुन नसकेको भन्दै मगरले बताउनुभयो । यस ईलाका प्रहरी कार्यालयमा अहिले ६ जना महिला प्रहरी कार्यरत रहेका छन् ।
प्रकाशित मिति २०७२ पुस ५ गते आइतवार
Comment Here!