शिक्षाको बाटोमा मुस्लिम महिला


प्रकाशित मिति :2015-12-20 13:17:07

विश्वराज पछल्डङ्ग्या

नेपालगञ्ज । कुनै बेला मेलापात र खेतीपातीका लागि मात्र घरबाहिर निस्कने रनियापुर– ८, चमकदारपुरकी समशुल पठानिन (खातुन) हिजोआज महिला अधिकार र घरेलु हिंसाबारे वकालत गर्दै हिँड्छिन् । उनी महिलालाई शिक्षा, स्वास्थ्य र व्यवसायमा अवसर दिलाउन समाज र सरकारी तथा गैरसरकारी संस्थासम्म धाइरहेकी हुन्छिन् ।

Muslimउनको अभियानलाई गाउँका १७ जना महिलाले साथ दिइरहेका छन् । समूह बनाएर सङ्गठित भएका महिलाले मासिक बचतसमेत गर्छन् । सङ्गठित भएपछि बचत गर्ने बानी विकास भएको छ र उनीहरूले एक–आपसमा दुःखसुखका कुरा बिसाउने थलो पाएका छन् ।

भेला भएर सामूहिक बचतबारे छलफल गर्न थालेपछि एक–आपसमा आत्मियता बढेको चमकदारपुरका मुस्लिम महिला बताउँछन् । ‘समूह नहुँदा चिनजान भए पनि आत्मियता थिएन,’ फात्मा समूहकी अध्यक्ष समशुलले भनिन्, ‘अहिले घरमा भएका सानातिना कुरा पनि साटासाट हुन्छ । कतै हिंसा वा विवाद पाइएमा हामी गएर सम्झाउँछौँ ।’

मासिक सय रुपैयाँ बचत गर्ने महिलाले स्वास्थ्य, सरसफाइ र बालबालिकाको शिक्षाका कुरा पनि गर्छन् । घर–परिवारभित्र गरिने व्यवहारबारे पनि खुलेर आफ्ना समूहमा राख्ने गर्छन् । समूहमा आबद्ध ६० वर्षीया कोइली कहारले भनिन्, ‘पहिले घरबाट बाहिर निस्कन, बोल्न पाइँदैनथ्यो । अहिले खुलेर साथीसङ्गीसँग बोल्न पाउँदा मन हलुका हुन्छ ।’

कहारका अनुसार रनियापुर गाविस चमकदारपुरका महिला विभिन्न कार्यक्रम, गोष्ठी र छलफलमा सहभागी भई आफ्ना कुरा राख्न सक्नेभएका छन् । पहिले नयाँ मानिस गाउँमा आउँदा घुम्टो छोपेर दौडँदै घरभित्र पस्ने महिला अहिले सार्वजनिक कार्यक्रममा सहभागी हुन थालेका छन् । कहार भन्छिन्, ‘नयाँ मानिससँग बोल्न हुँदैन भन्ने सामाजिक मान्यताले हामी घरभित्र सीमित थियौँ । अहिले यो कुरा पुरुषले पनि बुझ्न थालेपछि महिलालाई सार्वजनिक कार्यक्रममा सहभागी गराउन थालेका छन् ।’

रनियापुरका मुस्लिम महिलाले बचत गरेको रकम जनजागरण सहकारी संस्थामा जम्मा गर्छन् । घरखर्च गर्न पैसाको जरुरत परे समूहका सदस्यसँग सापटी लिएर काम चलाउने गरेको फात्मा समूहकी सदस्य हसिबुन कुरैसीले बताइन् । कुरैसी भन्छिन्, ‘बचत गरेको रकम हिनामिना नहोस् भनेर सीधै सहकारीमा जम्मा गर्छौँ, घरखर्चका लागि चाहिए सदस्यहरूले सहयोग गर्छन् ।’

आर्थिक र भावनात्मक सहयोगले सानोतिनो गर्जो टर्ने र काम गर्न आत्मबल बढ्ने गरेको समूहकी सदस्य साकिरा कुरैसीले बताइन् । ‘सानोतिनो कामका लागि समूहका सदस्यले नै रुपैयाँ दिन थालेपछि रकम खोज्न टाढा जानुपर्ने समस्या हटेको छ,’ साकिराले भनिन्, ‘पहिले कसैलाई कसैसँग वास्ता थिएन ।’

रनियापुर चमकदारका महिला अधिकारका लागि आवाज उठाउँछन् र गाउँघरमा महिला हिंसाका घटना भए पीडितको पक्षमा वकालत गर्छन् । महिलामाथि हिंसा गर्ने र छोरीलाई विभेद गर्ने पुरुषको घरमै गएर सम्झाउने गरेको जाहिदा खातुनले बताइन् । ‘एउटालाई परेको समस्या समाधानका लागि हामी महिला एकजुट भएर सम्झाउने–बुझाउने गर्छौँ,’ खातुनले भनिन्, ‘जायज कुरामा डटेर लाग्छौँ, नाजायज कुराको खुलेर विरोध गर्छौँ ।’

अधिकार लिँदा कर्तव्य बिर्सन नहुने उनीहरूले राम्रोसँग जानेका छन् । त्यसैले उनीहरूले अधिकारसँगै दायित्व र कर्तव्यका कुरा पनि महिलालाई सिकाउने गरेका छन् । ‘हामीले अधिकारसँगै दायित्व र कर्तव्यका कुरा पनि सिकाउँछौँ,’ फात्मा समूहकी अध्यक्ष समशुल पठानिनले भनिन्, ‘घरपरिवारलाई सुखी, खुसी राख्नु, समयमा खाना दिनु, बालबच्चाको हेरचाह राम्रोसँग गर्नु हाम्रो दायित्व र कर्तव्य हो भनेर सिकाउँछौँ ।’

समूहमा बसेपछि महिला–महिलाबीच विश्वास बढेको छ भने एकले अर्कालाई चिन्ने र सामाजिक काममा लाग्ने हौसला मिलेको छ । एकजना घुम्टोबाहिर आएपछि अरू पनि निस्कन थालेको अमिरुल निसाले बताइन् । त्यहाँका महिलाले तीन वर्षदेखि मुस्लिम धर्मावलम्बीको महान् पर्व ‘इद–उल–फित्र’मा शुभकामना कार्यक्रम गर्दै आएका छन् । ‘महिलाले घर र समाजका लागि राम्रो काम गर्न थालेपछि पुरुषले साथ दिन थालेका छन्,’ उनले भनिन्, ‘पुरुष र महिला मिलेर आर्थिक, शैक्षिक, सामाजिक, साँस्कृतिक विकासका काम भइरहेका छन् ।’

महिला समूहले हालसम्म १० हजार दुई सय रुपैयाँ जनजागरण सहकारीमा बचत गरेका छन् र पाँच सय सेयरको मालिक बनेका छन् । सेयर सदस्य बनेबापत सहकारीबाट बिनाधितो बढीमा २० हजार रुपैयाँसम्म ऋण पाउने अध्यक्ष पठानिनले जानकारी दिइन् । उनी भन्छिन्, ‘सहकारीको रकम जोगाउन २० हजार रुपैयाँको घुम्ती कोष पनि खडा गरेका छौँ । आवश्यक परेको बेला पालैपालो प्रयोग गर्छौँ ।’

रनियापुरका महिला पुरातन सामाजिक मान्यतालाई चिर्दै समाज सुधारको काममा अग्रसर भएको यहाँको समाजले बुझ्दै गएको छ । यहाँका महिला वडा नागरिक मञ्चलगायत विकास योजनाका लागि गठन हुने समितिमा समेत सहभागी हुन थालेका छन् । उनीहरू गाविसलगायत विभिन्न निकायमा महिलाका लागि विनियोजित रकमको खोजी गर्न र त्यसको सदुपयोग गर्न अग्रसर हुन थालेका छन् । स्थानीय नजिरा खातुन भन्छिन्, ‘पहिले महिलाका लागि र विकासका लागि आउने बजेटबारे जानकारी हुँदैनथ्यो । कार्यक्रम, छलफल र गोष्ठीमा सहभागी हुन थालेपछि यसबारे धेरै जानकारी पायौँ ।’

रनियापुर गाविसको चमकदारपुर गाउँमा ९० प्रतिशत मुस्लिम र १० प्रतिशत हिन्दू छन् । यस गाउँमा मुस्लिम र हिन्दबीच कहिल्यै झगडा भएको छैन । झगडा हुन नदिन महिलाको भूमिका महत्वपूर्ण छ । नजिरा भन्छिन्, ‘हामीले अन्तरधार्मिक सद्भावका लागि महिलाका बीचमा छलफल गर्छौँ । धर्मका आधारमा भेदभाव गर्न हुँदैन भन्ने हाम्रो सन्देश हुन्छ ।’

मुस्लिम महिलाले इदका अवसरमा हिन्दू, इसाई र बौद्धधर्ममा आस्था राख्ने महिलालाई आफ्नो कार्यक्रममा बोलाउँछन् । ‘इदका अवसरमा उहाँहरू हाम्रो कार्यक्रममा आउनुहुन्छ, दसैँ, तिहार र क्रिसमस डेका अवसरमा हामीहरू उहाँहरूको कार्यक्रममा सहभागी भएर खुसीयाली मनाउँछौँ,’ फात्मा समूहकी अध्यक्ष समशुलले भनिन् । ‘हँसिया जति प्रयोग ग¥यो उती धारिलो हुन्छ, इष्टमित्रसँग जति नजिक भयो उति आत्मियता बढ्छ’ भन्दै स्थानीय साल्मा शेष भन्छिन्, ‘पहिले कसको बानी कस्तो छ भन्ने थाहा थिएन, बैठकमा नियमित भेट भएपछि मान्छे चिनियो र विश्वास बढ्यो ।’

पुरुषको समेत साथ लिएर शान्ति, सद्भाव, विकास, शिक्षा, स्वास्थ्य र सरसफाइमा मुस्लिम महिलाले अग्रणी भूमिका खेल्न थालेका छन् । कुनै बेला घुम्टोभित्र बस्ने यी महिला अहिले बालिकालाई विद्यालय पठाउने अभियान चलाइरहेका छन् ।  बालिकालाई विद्यालय पठाउने अभियान चलाएपछि मदरसामा बालिकाका सङ्ख्या बढेको रनियापुर गाविस–३ मा रहेको मदरसा नुरगाजी रजाउल उलुमका प्रधानाध्यापक सर्पराज खाँले बताए । उनका अनुसार ८६ जना विद्यार्थीमध्ये ६५ प्रतिशत बालिका छन् । खाँले भने, ‘बालकभन्दा बालिकाको सङ्ख्या दोब्बर छ ।’

महिलाले थालेको अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याएको रनियापुर गाविसका हनिफ साईले बताए । ‘घरमा सीमित मुस्लिम महिला अहिले विभिन्न कार्यक्रममा सहभागी भएपछि जान्ने, बुझ्ने भएका छन्,’ हनिफ भन्छन्, ‘अब उनीहरूले सुरु गरेको अधिकारको अभियान कसैले रोक्न सक्दैन ।’

(संचारिका फिचर सेवाबाट) (विश्वराज, नेपालगन्जका पत्रकार हुन् ।)

प्रकाशित मिति २०७२ पुस ५ गते अाइतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: