टिप्पणीः निन्दनीय हर्कत


प्रकाशित मिति :2015-12-20 17:29:56

दुर्गा कार्की

विवाह पञ्चमीका अवसरमा राष्ट्रप्रमुख राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर जाँदा जुन हर्कत भयो त्यो अत्यन्त निन्दनीय छ । उहाँ जनकपुरबाट फर्केपछि गरिएको कु–कर्म कुनैपनि कोणबाट क्षम्य हुन सक्दैन । यदि यो हर्कतमा संलग्नलाई कार्वाही भएन भने यो अपराधमा राज्यको पनि मौन सर्मथन रहेको अर्थ लाग्ने छ । यो मुलुकका ५१ प्रतिशत महिला र कुल महिला जनसंख्याको ६ प्रतिशत एकल महिलामाथि घोर अन्याय र अपमान हो । मुलुकको आधाभन्दा बढि जनसँख्यामाथि गरिएको यो अपमानपूर्ण व्यवहारको जति निन्दा गरेपनि कम हुन्छ ।

राष्ट्रपति विधवा भएको र विधवाले शुभकार्य गर्न नहुने भन्दै जानकी मन्दिरमा गंगाजल र सुनपानी छर्किएर मन्दिर चोख्याउने काममा युवाहरूको संलग्नता झन धेरै चिन्ताको बिषय भएको छ । नेपालको राजनीतिमा उमेर ढल्किएकाहरूको हालीमुहाली र उनीहरूमा रहेको सामन्ती सोचले मुलुक परिवर्तन हुन नसकेको भनेर अग्रगामी परिवर्तनको अपेक्षा युवाहरूबाट गरिएको छ । तर, जानकी मन्दिरमा भएको यो क्रियाकलाप र त्यसमा संलग्न युवाहरूको व्यवहारले सिङ्गो मुलुकलाई निराश तुल्याएको छ ।

अहिलेको युवापुस्तासँग अन्तर्राष्ट्रिय पहुँच र राष्ट्रिय आवश्यकताको राम्रो बोध छ भन्ने मानिन्छ । प्रविधिको विकास र आविष्कारसँग परिचित यो आफैँमा आधुनिक पुस्ता हो । विश्वलाई इन्टरनेट र मोबाइलका माध्यमबाट चिहाइरहेको यो पुस्ताले ‘विधवा प्रवेश गरेको’ भनेर मन्दिरलाई गंगाजलले चोख्याउनु अत्यन्तै संस्कारहिन, खेदजनक र मानव सभ्यतालाई नै खिल्ली उडाउने काम हो । समग्रमा जानकी मन्दिरको त्यो हर्कतबाट यो पुस्ता नै लज्जित हुनुपर्ने अवस्था सिर्जना भएको छ । यो व्यवहारले परिवर्तनका लागि गरिएको मधेस आन्दोलनका शहिद र उनीहरूका श्रीमतीको समेत अपमान गरेको छ ।

यो कार्य भएको ४ दिन बितिसक्दा पनि मधेशी नेताबाट कुनै प्रतिक्रिया वा क्षमा याचना नआउनु अर्को चिन्ताको विषय भएको छ । यसले दुई अवस्था देखाउँछ । पहिलो मधेश आन्दोलन दिशाहिन हुँदैछ । दोस्रो आन्दोलन मधेशी मोर्चाको नियन्त्रण बाहिर गइसेको छ । यदि यी दुवै अवस्था होइन भने मोर्चाले मौन बस्न मिल्दैन आफ्नो प्रतिक्रिया सार्वजनिक गर्नै पर्छ ।

राष्ट्रप्रमुख कुनै एउटा दल, समुदाय वा वर्गको होइन र यस्तो मान्नु पनि हुन्न । जनकपुरमा संगठितरुपमा जुन क्रियाकलाप गरियो त्यो नितान्त असभ्य काम थियो । जानकी मन्दिर परिसरमा गरिएको त्यो कार्य स्वयं मिथिला संस्कृतिको मान्यता विपरित काम थियो । यस्तो कामले बिविधतापुर्ण हाम्रो समाज र संस्कृतिमा बिभाजन ल्याउन सक्छ । त्यसैले पनि यस्तो कार्यमा संलग्नहरूले संरक्षण पाउनु हुँदैन ।

प्रकाशित मितिः २०७२ पुस ५ गते अाईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: