समाज बदल्दै आमा समूह


प्रकाशित मिति :2015-12-23 11:58:21

चितवनको काउले गाविसका महिलाले बनाएको बचत समूहले पैसा मात्रै बचत गरेको छैन, गाउँबाट जाँड, रक्सी, जुवातास नियन्त्रण र छुवाछुत हटाउन अभियान नै चलाएको छ । एउटा बचत समूहले यति धेरै काम गर्न सक्छ भन्ने विश्वास गर्न पनि मुस्किल हुन्छ ।

सबिता श्रेष्ठ

चितवन । काउले गाविस वडा नम्बर ६ तल्लो काउलेकी ३१ वर्षीया गीताकुमारी बस्नेत फलफुल र तरकारी खेती गर्छिन् । उनको घरमा एक सय ५० बोट सुन्तला छन् । गीता सिजन अनुसार गोलभेडा, काउली, बन्दा, प्याज लगायतका तरकारी बाली लगाउँछिन् । बीउ, मल, विषादी किन्न पैसाको अभाव हुँदा बचत समूहबाट ऋण लिन्छिन् ।

‘पैसा खाँचै पर्दा ऋण माग्दै भौंतारिनु परेको छैन’ बचत समूह गठन गरेपछि भएको सजिलोको बारेमा बताउँदै उनले भनिन् ‘गाउँघरमा चलेको दर भन्दा ब्याज पनि सस्तो छ ।’ औषधी उपचार गर्नुपर्दा र घर खर्च चलाउन आवश्यक पर्दा गीताले समूहबाट ऋण लिने गरेकी छन् । हरेक महिनाको १५ गते तल्लो काउलेका महिला दिदीबहिनीको समूह प्रगती महिला समूहको भेला बस्छ । समूहका सदस्यहरूबाट मासिक एक सय रुपैयाँ बचत संकलन गरिन्छ । आवश्यकता परेका सदस्यलाई ऋण दिईन्छ ।

२०६८ माघमा गठन गरिएको समूहमा तल्लो काउलेमा रहेका सबै घरका महिलाको प्रतिनिधित्व छ । उनीहरू मासिक रुपमा प्रत्येक सदस्यबाट बचत संकलन गर्नुका साथै समूहका सदस्य तथा घरपरिवारमा कसैको जन्म दिन परेको भए कति औं जन्म दिन हो त्यती नै रुपैयाँ समूहका लागि संकलन गर्छन् । गाउँमा कुनै घरमा जन्म, ब्रतबन्ध, विवाह उत्सव भए समूहका सबै सदस्य खटिएर सहयोग गर्छन् । यस्ता शुभकार्यमा परिवारको तर्फबाट ईच्छाले दिएको रकम समूहमा बचत गर्छन् ।

चितवनको अग्लो ठाउँ १ हजार ९ सय ४६ मिटरको उचाईमा रहेको सिराईचुली पनि काउलेमा पर्छ । सुर्योदय हेर्नको लागि प्रख्यात सिराईचुली जाने पर्यटक बसोबास गर्ने ठाउँ पनि तल्लो काउले बनेको छ । गाउँमा आएका पाहुनाको स्वागत सत्कार गर्न पनि प्रगती समूहका सदस्य नै खटिन्छन् । पाहुनाको स्वागत, खानपिन र बसाईको व्यवस्था अनि बिदाईका कार्यक्रममा सहभागी हुन्छन् उनीहरू । पाहुनालाई गाउँमा नै उपलब्ध परिकारले स्वागत सत्कार गर्छन् ।

गएको वर्षदेखी गाउँमा आउने पर्यटकसँग पनि उमेर अनुसारको रकम समूहले लिने गरेको छ । पर्यटकको खानपान र बसाईका लागि प्राप्त भएको रकम खानपिन र बसाईमा भएको खर्च कटाएर हुने बचत पनि समूहमा नै राख्छन् । तल्लो काउलेका महिलाले बचत संकलनका लागि अपनाएको शैली देखेर त्यहाँ पुग्ने पर्यटक पनि अचम्मित हुने गर्छन् । महिला दिदीबहिनीको प्रयासको प्रशंसा गर्छन् । अनि आफ्नो उमेर अनुसारको रकम सहयोग गर्छन् ।

‘सबैसँग जति वर्षको भयो त्यती रुपैयाँ सहयोग लिन्छौं’ प्रगती समूहकी अध्यक्ष भगवती बुढाथोकी भन्छिन्, ‘अर्को वर्षको जन्म दिन आउँदा एक वर्ष उमेर बढ्ने भएकोले एक रुपैयाँ लिन्छौं’ । यसरी हरेक वर्षको जन्मदिनमा एक जनाबाट एक रुपैयाँ सहयोग बढ्ने गरेको छ । गाउँमा आउने पाहुनासँग सुझाव, सल्लाह लिन पनि उनीहरू छुटाउँदैनन् । ‘सुझाव सल्लाह हाम्रो लागि अमूल्य सहयोग हो’ भगवतीले भनिन् ।

महिला समूहमा संकलन गरिएको मासिक बचत, उमेर अनुसार प्राप्त हुने सहयोग रकम सबैको हिसाब राखेर समूहका सदस्यहरूलाई मासिक व्याजदरमा ऋण दिईन्छ । ‘समूहमा बचत गर्न थालेपनि हाम्रो जीविकोपार्जन सहज भएको छ’ भगवती भन्छिन् ‘चर्को ब्याजदरमा ऋण लिनुपर्ने समस्याबाट छुटकारा पाएका छौं ।’

गाउँमा व्यक्तिगत ऋण खोज्दा प्रति महिना एक सयको ३ रुपैयाँ ब्याजमा लिनुपर्दछ । समूहले सदस्यलाई तीन मोहर ब्याजमा ऋण दिने गरेको छ । ऋण लिने पालो आवश्यकता अनुसार मिलाउने गर्छन् । धेरै सदस्यले एकै पटक ऋण माग गरे समूहमा भएको बचत रकम आवश्यकता अनुसार बाँडेर मिलाउने गरिन्छ । सदस्यलाई दिईएको ऋणको ब्याज हरेक महिना र साँवा छ महिनामा तिर्नुपर्ने नियम छ । समूहमा करीब ३ लाख रुपैयाँ संकलन भैसकेको छ । ऋणको माग धेरै हुँदा समूहमा नगद बाँकी नबस्ने अध्यक्ष बुढाथोकीले बताईन् । समूहमा २२ जना सदस्य छन् ।

गाउँमा आउने पर्यटकका कारण समूहमा बचत बढेको छ । समूहको मासिक बचत भने सदस्यबाट संकलन गरिएको रकमको दोब्बर जसो हुने बुढाथोकी बताउँछिन् । समूहमा आकस्मिक कोषको पनि व्यवस्था गरिएको छ । अपर्झट परेका सदस्यलाई यो कोषबाट ऋण दिने गरिन्छ ।

बालबच्चालाई पढाउन, खेतीपाती गर्न तथा औषधी उपचारका लागि समूहको बचतले सहयोग मिलेको सदस्य गीता बुढाथोकी बताउँछिन् । समूहको बचतले घरपरिवार चलाउँदा आइपर्ने पैसाको अभावको लागि ऋण खोज्न धनीमानीकोमा जानुपर्ने बाध्यता हटेको छ । ‘पहाडको ठाउँ भनेको बेला पैसा पाईंदैन, बचतले धेरै फाईदा भएको छ’ गीताले भनिन् ।

तरकारी खेती गर्ने किसानले बीउबिजन, भिटामिन किन्न पैसा लैजाने र तरकारी बेचेर पैसा तिर्ने गर्छन् । गाउँमा उत्पादन भएको तरकारी तथा फलफुल पनि गाउँमा सामूहिक बिक्री गर्छन् । गीता भन्छिन्, ‘आफ्नोमात्रै बेच्न खोज्दा थोरै भनेर लैजान मान्दैनन् । समूहले मिलेर काम गर्न हौंस्याएको छ ।’ तल्लो काउलेमा सुन्तला, मौसम, कागतीका साथै काँक्रो, टमाटार, काउली, बन्दा, घ्यु सिमीलगायतका तरकारीको व्यावसायिक खेती गरिन्छ ।

चितवनको पूर्वीउत्तरमा पर्ने काउले जिल्लाका ९ पहाडी गाविस मध्ये एक हो । नारायणगढबाट ५६ किलोमिटर दुरीमा रहेको काउले चितवनको शक्तिखोर हुँदै पैदल र नारायणगढ मलेखु राजमार्गमा पर्ने धादिङको जोगिमारा हुँदै गाडीमा जान सकिन्छ । गाविसमा सामान ओसारपसार गर्ने ‘फोर ह्विल’ गाडी मात्र पुग्छन् । गाविसमा अहिलेसम्म विद्यूत र बैकिङ सुविधा पुग्न नसकेको सचिव हरिप्रसाद गौतम बताउँछन् ।

समूहको काममा गाउँका पुरुषले पनि सहयोग गर्छन् । ‘महिला दिदीबहिनीले गरेको काम राम्रो छ भनेर प्रशंसा गर्छन्’ जसले हौंसला मिल्ने गरेको अध्यक्ष भगवती बताउँछिन् । गाउँमा पर्यटकीय संभावना भएकोले पर्यटकका लागि भौतिक पूर्वाधार बनाउने योजना महिला समूहको छ ।

जनजाती परिवारको बसोबास धेरै भएको यो गाउँबाट जाँड, रक्सी हटाउन नसकेपनि निश्चित समय र अवसरमा मात्रै प्रयोग गर्ने नियम प्रगती समूहले बनाएको छ । गाउँमा जुवातास खेल्न समुहले रोकेको छ । छुवाछुतको अन्धविश्वास हटाउन सामुहिक कार्य गर्दा सबै घरपरिवारको सहभागिता हुनुपर्ने व्यवस्था गरिएको अध्यक्ष भगवतीले बताईन् ।

प्रकाशित मितिः २०७२ पुस ८ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: