पत्रकार महिलाको पीडा


‘विज्ञापन उठाएर तलब लिनू’

प्रकाशित मिति :2015-12-24 11:31:14

राजधानीबाहिरका धेरैजसो मिडियाले पत्रकारिता गर्न चाहने महिलालाई सुरुमा विज्ञापन खोज्न पठाउँछन् । जब महिलालाई व्यापारी–व्यवसायीसँग विज्ञापन माग्न पठाइन्छ, त्यसपछि उनीहरू पेसा परिवर्तन गर्न वा पलायन हुन बाध्य हुन्छन् ।  

सरिता पुमा राई

धरान । ‘समाज परिवर्तनमा पत्रकारिताको ठूलो भूमिका हुन्छ’ भन्ने बुझेपछि धरानकी सुचिता अधिकारी यो पेसामा आकर्षित भइन् । आधारभूत तालिम लिएर स्थानीय मर्निङ टाइम्स दैनिकमा समाचार लेख्न थालिन् । मनपरेको क्षेत्रमा काम गर्न पाउँदा नसोचेकै खुसी र उत्साह मिल्यो । बिहान खाना खानेबित्तिकै घरबाट निस्किने सुचिता दिनभर समाचार सङ्कलनमा व्यस्त हुन थालिन् । जोस–जाँगरका साथ उनी दुई वर्षसम्म समाचार सङ्कलनमा दौडिइन् । तर, कहिल्यै समयमा पारिश्रमिक पाइनन् । दिनभर भोक, तिर्खा नभनेर दौडिने उनको जोस–जाँगर बिस्तारै सेलाउँदै गयो । घर–परिवारमा पनि ‘बिनापैसा किन भोकैतिर्खै कुद्नु ?’ भनेर गाली गर्न थाले ।

आर्थिक अभावले पनि उनलाई यसरी नै पत्रकारितामा दौडिरहन दिएन । त्यसपछि पत्रकारिता छाडेर उनी स्विटर बुन्ने काममा लागिन् । सुचिता भन्छिन्, ‘अहिले पनि पत्रकारिता गर्ने मन छ, के गर्नु जीवन चलाउन पैसा चाहिन्छ । स्थानीय पत्रिकाबाट पैसै पाइन्न । नाम मात्र छ, दाम छैन यो पेसामा ।’

मोरङकी सुमित्रा बराल पनि केही वर्ष जोडतोडका साथ दौडिइन् पत्रकारिता गर्न । धरानको मर्निङ टाइम्सलगायत विभिन्न सञ्चारमाध्यममा काम गरेकी सुमित्रा पनि आर्थिक अभावले यो पेसामा लामो समय टिक्न सकिनन् । सुमित्रा अहिले नोबेल हस्पिटलमा कर्मचारी छिन् । पत्रकारिता पेसाबारे आफ्नो अनुभव सुनाउँदै उनी भन्छिन्, ‘टिक्न धेरै कोसिस गरेँ । महिलालाई अवसरै कम । त्यसमाथि विवाह गरेपछि धेरैलाई परिवारले यो पेसामा लाग्न अनुमति नै दिँदैन ।’

एमएम रेडियोको समाचार शाखामा काम गर्ने महिलाले झन् धेरै चुनौती सामना गर्नुपर्छ । एउटा उदाहरण हुन् लक्ष्मी दर्नाल । दुई वर्ष धरानको विजयपुर एफएममा काम गरेकी लक्ष्मीले त्यहाँको समाचार शाखामा काम गर्दा धेरै तनाव व्यहोर्नुपर्‍यो । एफएम सञ्चालकले बिहान ६ बजेदेखि साँझसम्म काम गर्नुपर्ने नियम बनाए । कि बिहानै आउनुपर्ने, ढिलो आए राति ८ बजे मात्र घर फर्किन पाइने । कहिलेकाहीँ सानो गल्ती हुँदा पनि हप्काउने र निकालिदिने धम्की दिने । यस्ता अनेक हन्डर खेपेकी छिन् लक्ष्मीले ।

लक्ष्मी अहिले स्थानीय औजार दैनिकमा काम गर्छिन् । रेडियोमा काम गर्दाको अनुभव सुनाउँदै भन्छिन्, ‘अफिस पुग्दा मेरो जीउ नै सिरिङ्ग हुन्थ्यो । दिनहुँजसो जागिरबाट निकाल्ने धम्की आउने । न मिहिनेतअनुसारको पैसा, न कामको सम्मान । अति भएपछि एफएम नै छाडिदिएँ ।’

मोफसलमा काम गर्ने धेरैजसो पत्रकार महिलाको समस्या हो यो । श्रम शोषणमा पर्ने, भए–नभएको गाली खानुपर्ने, सञ्चालकले महिला भएका कारण काममा विश्वास नगर्ने । अनगिन्ती पीडा छन् उनीहरूसँग । धेरैजसो मोफसलका मिडियाले पत्रकारिता गर्न चाहने महिलालाई सुरुमा विज्ञापन खोज्न पठाउने गर्छन् । जब समाचार लेख्न चाहने महिलालाई व्यापारी–व्यवसायीसँग विज्ञापनको कुरा गर्न पठाइन्छ, त्यसपछि उनीहरू पेसा परिवर्तन गर्न वा पलायन हुन बाध्य हुन्छन् । मोफसलका सञ्चारकर्मी महिलालाई न्यूनतम पारिश्रमिक भन्ने कुरा एकादेशको कथा भएको छ ।

मोसफलका सञ्चारमाध्यममा महिलाले लेखेका समाचारले प्राथमिकता नपाउने र पाए पनि कम स्थान पाउने समस्या छ । अर्कातिर पारिश्रमिकमा चर्को विभेद छ । उत्ति नै काम गर्ने पुरुष र महिलाको तलबमा धेरै फरक हुन्छ । समाजमा अन्यायमा परेकाहरूको समाचार लेख्ने महिला आफैँ अन्याय सहन बाध्य हुन्छन् ।

यति मात्रै होइन, राजधानीका कतिपय सञ्चारमाध्यममा मोफसलबाट समाचार लेख्ने महिलालाई पनि ‘पैसा दिनुको साटो विज्ञापन उठाएर लिनू’ भन्ने गरिन्छ । विज्ञापन खोज्न जाँदा उल्टै महिलालाई जिस्क्याउने, दुव्र्यवहार गर्ने गरिन्छ । त्यसपछि उनीहरू आफ्नो पारिश्रमिकसमेत नलिई काम छाड्न बाध्य हुन्छन् ।

समावेशी सहभागिताको विषय उठिरहँदा पनि सञ्चार क्षेत्रमा महिलाको सङ्ख्या बढ्न सकेन । हरेक वर्ष सञ्चारमाध्यममा महिला आउने र जाने क्रम चलिरहेको छ । तर, कसैले त्यसको कारण खोजेको छैन । कति महिला आउँछन्, किन टिक्न सक्दैनन् र कति बाहिरिन्छन् भन्ने विवरण कसैसँग छैन ।

अब तथ्याङ्क केलाऊँ । नेपाल पत्रकार महासङ्घका अनुसार देशभर महासङ्घको सदस्य सङ्ख्या १० हजार ७७ छ । यसमध्ये पुरुषको सङ्ख्या आठ हजार दुई सय १४ र महिलाको सङ्ख्या एक हजार ६ सय १३ छ । महासङ्घकै तथ्याङ्कअनुसार पूर्वमा जम्मा एक हजार चार सय ४४ पत्रकारमध्ये महिलाको सङ्ख्या दुई सय ४६ छ । मध्यक्षेत्रमा एक हजार पाँच सय ८७ मध्ये महिला दुई सय ६७ छन् । पश्चिम क्षेत्रमा एक हजार चार सय दुईमध्ये महिला दुई सय ३२ छन् । मध्यपश्चिममा एक हजार चार सय ११ मध्ये महिलाको सङ्ख्या दुई सय १७ छ । सुदूरपश्चिममा ६ सय ६६ मध्ये महिलाको सङ्ख्या ८० छ ।

महासङ्घको कर्पोरेट शाखाहरूको हालत पनि उही छ । कर्पोरेट शाखामा जम्मा एक हजार पाँच सय ८३ जनामध्ये महिला दुई सय ७१ छन् । काठमाडौं उपत्यकामा पुरुष पत्रकार एक हजार एक सय ८२ हुँदा महिला दुई सय ५६ छन् । एसोसिएट अर्गनाइजेसनहरूमा जम्मा पाँच सयमध्ये महिला ४४ मात्र छन् ।

धरानबाट प्रकाशन हुने विजयपुर साप्ताहिककी सम्पादक गंगा बराल भन्छिन्, ‘पत्रकारिता गर्ने चाहना भएर पनि अवसर नभएका कारणलामो समय महिला पत्रकार यो क्षेत्रमा टिक्न सक्दैनन् । उनीहरूका लागि कसरी अवसरको सिर्जना गर्न सकिन्छ र टिकाउन सकिन्छ सबैले सोच्नुपर्ने भएको छ ।’

नेपाल पत्रकार महासङ्घका अध्यक्ष महेन्द्र विष्ट पत्रकार महिला तीनवटा कारणले पलायन हुने गरेको बताउँछन् । उनी भन्छन्, ‘पत्रकारिता क्षेत्रमा भन्दा अन्य क्षेत्रमा राम्रो अवसर पाएको कारणले, सोचेजस्तो वातावरण नपाएको कारणले र घरायसी वा व्यक्तिगत कारणले ।’ वरिष्ठ पत्रकार हर्ष सुब्बाका भनाइमा पूर्वका पत्रकार महिलामा खोजमूलक पत्रकारिता गर्ने इच्छाशक्ति भए पनि पारिवारिक र आर्थिक अभावका कारणले लामो समयसम्म यो पेसामा टिक्न सकिरहेका छैनन् । कतिपय मिडिया हाउसमा राजनीतीकरण हुने गरेकाले पनि महिलालाई असहज हुने गरेको छ । सुब्बा भन्छन्, ‘समाचारलेखनमा दक्षता बढाउन र उचित वातावरण दिन सके उनीहरू लामो समय यो पेसामा टिक्न सक्छन् ।’

(संचारिका फिचर सेवा)
(सरिता, सुनसरीकी पत्रकार हुन् ।)  

प्रकाशित मिति: २०७२ पुुस ९ गते विहिवार   

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: