महिला खबर
रुपन्देही, पुस १० । नचिनेको व्यक्ति वा एजेन्टसँग गोप्य रुपमा वैदेशिक रोजगारमा जाने र दुःख पाउने महिलाको संख्या बढेपछि रुपन्देहीमा परामर्श थालिएको छ ।
इलाका प्रशासन कार्यालय बुटवलमा अहिले परामर्शका लागि सूचना केन्द्रको व्यवस्था गरिएको हो । प्रशासनले राहदानी बनाउन आउने जो कोहीलाई पहिले त्यसमै सूचना र परामर्श लिन उक्त केन्द्रमा पठाउने गरेको छ । केन्द्रले सूचना दिने र परामर्श गर्ने गरेपछि मात्रै राहदानीका लागि अन्य प्रक्रिया थालिन्छ । प्रशासनको समन्वयमा आइएलओ र एबीसी नेपालको कार्यमा स्वतन्त्रता परियोजनाले सञ्चालन गरेको वैदेशिक रोजगार सूचना तथा परामर्श केन्द्रमा एबीसी नेपालका कर्मचारी छन् ।
दैनिक करिब १५ जनाले राहदानी बनाउने कार्यालयले राहदानी बनाउनु पूर्व नै वैदेशिक रोजगारबारे परामर्शको व्यवस्था गर्दा लहलहैमा वैदेशिक रोजगारमा जान खोज्ने, अवैध रुपमा जाने र वैदेशिक रोजगारका नाममा बेचविखनमा पर्न सक्ने जोखिममा रहेका महिला रोकिएका छन् । प्रशासनको आडैमा रहेको वैदेशिक रोजगारबारे परामर्श तथा सूचना केन्द्रमा राहदानी बनाउन आउने जो कोहीलाई त्यसको उद्देश्यबारे सोध्छन् । उनी विदेश जानुको कारण सोध्छन् । रोजगारीमा जाने भए कहाँ के कसरी किन जाने यसबारे सोधपुछ गर्छन् ।
पुरुषलाई परामर्शपछि छोडिदिन्छन् भने महिला भए थप समय लिन्छन् । अवैध तरिकाले जान लागेको भए अभिभावक तथा घरपरिवारसँग सल्लाह गरेर वैध एजेन्ट पत्ता लगाएरमात्र राहदानी बनाउन आउन सुझाउँछन् । वैध तरिकाले जानेलाई पनि रोजगारीमा जाँदाका चूनौति र समस्याबारे सिकाउने र धेरै फाइदा नभए स्वदेशमै बस्न प्रेरित गर्छन् । जानै पर्ने भएपनि विदेश जाँदा चाहिने न्युनतम सीप र ज्ञान सिकेर स्वदेशबाट मात्र जान सुझाउँछन् । सूचना अधिकृत पोखरेलले महिलालाई वैदेशीक रोजगारीमा जानु पुर्वनै सम्भावित चूनौति र सम्भावनाबारे सिकाउँदा विदेशको सट्टा स्वदेशमै श्रम गर्ने भनेर कतिपय राहदानी नबनाइ फर्कने गरेको बताइन् । उनले भनिन् ‘यसो गर्दा लहलहैमा अवैध तरिकाले विदेश जाने र विदेशका नाममा अवैध ओसारपरसारमा पर्न सक्ने महिला सुरक्षित भएका छन् ।’
कम पढाइ भएपनि पुग्ने, धेरै रकम नलाग्ने घरयासी कामकाजका लागि सीप नचाहिने भन्दै कुनै सीप र प्रशिक्षण बिना नै यहाँका महिला खाडी मुलुकमा रोजगारीका लागि जाने गरेका छन् । नेपालबाट र स्वीकृति प्राप्त संस्थाबाट जाँदा धेरै रकम खर्च हुने भन्दै खाडी मुलुकमा जाने धेरै महिला भारतीय बाटो हुँदै दलालमार्फत जाने गरेका छन् । त्यस्ता धेरै बाटोमै महिला वैदेशिक रोजगारीका नाममा बेचबिखनमा पर्ने, अवैध ओसारपसार हुने गरेकाले रोक्न परामर्श थालेको जिल्ला कार्यक्रम संयोजक माधव विष्टले बताए ।
प्रकाशित मिति : २०७२ पुस १० गते शुक्रवार
Comment Here!