बाबु बितेपछि आमाको अनुहार सम्झ


प्रकाशित मिति :2015-12-25 12:11:26

२१ औँ शताब्दीका हामी अन्य देशको विकास र परिवर्तनलाई घोकेर बोल्दै हिँड्ने भयौँ, तर आफ्नै देशको कुसंस्कार, अन्धविश्वास र कुरीतिलाई भने सधैँ मलजल गरिरह्यौँ । हामी सिङ्गो राष्ट्र बदल्छौँ भनेर हिँडिरहँदा हाम्रो घरघरमा जगडिएको मगजमा थुप्रिएको कुसंस्कारको अन्त्य कहिले हुने ?

जमुना वर्षा शर्मा
Jamunaपोखरा । समय बदलियो, युग बदलियो, तर सोच बदलिएन । समाज जतिजति विकसित हुँदै छ, त्यति नै मान्छेका सोचाइ झन् साँघुरिँदै छन् । मानिसले आफ्नो दायरा फराकिलो बनाउन खोज्यो, तर मानसिकता भने सङ्कुचित नै रह्यो । त्यसैको एउटा उपज हो रामजानकी मन्दिरमा महामहिम राष्ट्रपतिमाथि भएको उदेकलाग्दो दुव्र्यवहार । कतिपय घटनाको त खण्डन र निन्दा गर्ने शब्द पनि हुँदोरहेनछ । देशको प्रमुख पदमा आसिन महिलालाई एकलको ट्याग भिराएर यतिसम्म निच तरिकाले दुव्र्यवहार गर्ने समाजमा अन्य महिलाको अवस्था र जीवनमा कति विभेद होला ?

मन्दिर प्रवेश गर्दा तत्कालीन राष्ट्रपति डा. रामवरण यादव विदुर भएनन्, उनी महामहिम भए, उनको जयजयकार भयो । तर, त्यही पदकी महिला भने अलच्छिनी र एकल भइन् । विश्वास र आस्थाका धरोहर भगवान्माथि पनि पुरुषले आफ्नो प्रभुत्व जमाउन पछि परेनन् । धर्मको सिद्धान्तमा प्रेम, सद्भाव, अनुशासन, मर्यादा र सहिष्णुतालाई जोड दिएको हुन्छ, तर यहाँ त धर्ममै राजनीति गरियो, भगवान्लाई भागबन्डा गरियो, असहिष्णुता, घृणा, द्वेष र विभेदलाई प्रश्रय दिइयो ।

यतिबेला एउटा प्रश्न ती आन्दोलनकारीलाई गर्न मन लागेको छ– तिम्रो बुबा बितेपछि एकचोटि आमाको अनुहार सम्झ, आमाले तिमीलाई दिएको माया, ममता, शिक्षा र संस्कार सम्झ, के तिमीले बुबा मरेपछि विधवा भएकी आमालाई आमा होइन भनेर अस्वीकार गर्छौ ? अथवा विधवा आमाको सन्तान नभएको दाबी गर्दै हिँड्छौ ? तिम्रो हरेक सफलतामा शुभ आशिष राख्ने आमा एकल भइन् भनेर आमाको हातबाट लगाइदिएको टीका र दिने शुभ आशिषलाई बहिष्कार गर्छौ ?

 मृत्युपछि तिम्री श्रीमतीको अनुहार सम्झ । उनले पनि एकल भएर यही समाजमा बाँच्नुपर्ने हुनसक्छ । आफ्नो मृत्युपछि श्रीमती सामाजिक रूपमा तिरस्कृत भएर जिएको के तिमी कल्पना गर्न सक्छौ ? तिमी यो कल्पना गर्दैनौ, तर तिमी यस्तै व्यवहार गर्छौ । परिवर्तनलाई आत्मसात् गर्न व्यवहारमा शुद्धीकरण आवश्यक छ ।

देशको सर्वोच्च पदको एक महामहिम व्यक्तित्व जो संयोगले एकल महिला हुनुभयो उहाँको गरिमा र सम्मानलाई ख्याल नगर्दै यति तुच्छ र नालायकी प्रस्तुत गर्न सक्ने आन्दोलनकारीले त्यही आन्दोलनमा ज्यान गुमाएका पुरुषका श्रीमतीप्रति अगाडि के आश्वासन लिएर जालान् ? यस्तो मानसिकताबाट आर्जित उपलब्धिले कस्तो समाजको निर्माण होला र मधेसका महिलाको अधिकार सुरक्षित होला ? फरक विचार, फरक लिङ्ग र फरक समुदायबाट हेरेर राष्ट्रपतिको गरिमा र छविलाई धमिल्याउन खोज्नेहरूले सामाजिक सद्भावमाथि समेत प्रहार गरेका छन् ।

यो एक राष्ट्राध्यक्ष महिलामाथिको मात्र प्रहार होइन, मुलुकका ५१ प्रतिशत महिला र कुल महिला जनसङ्ख्याको ६ प्रतिशत एकल महिला संवेदनामाथिको साङ्गठनिक प्रहार हो । यो विषयलाई भावावेग वा उत्तेजित परिस्थिति वा अन्य कुनै पनि कुरामा लगेर जोड्न मिल्दैन । तराईको राजनीतिको प्रमुख वागडोर सम्हालेका व्यक्तिबाट भइरहेको यो प्रहार कुनै पनि हालतमा क्षम्य हुँदैन ।

समाचारमा अपडेट भइरहँदा देखिएको एउटा पोस्ट झनै उदेकलाग्दो छ । सामाजिक सञ्जालमा प्रदीप झा नामधारी शिक्षक भेटिए, जसले दिएको शिक्षाले कस्तो संस्कार र ज्ञानको निर्माण गर्ला भन्ने प्रश्न पनि यतिबेला उठेको छ । उनले लेखेका छन्, ‘यसपालिको विवाह पञ्चमीको रौनक विधवा विद्यादेवी भण्डारीले समाप्त पारिन् । ठीकै भनिन्छ कि शुभकार्यमा अलच्छिन र विधवाको उपस्थिति हुनुहुँदैन । यहाँ त एउटै महिलामा यी दुवै थियो ।’

जोकोहीले अनुमान लगाउन सक्छन्– आवरणका शिक्षकधारीभित्र कति कुपोषित सोच रहेछ । साँच्चै उनले कस्तो शिक्षा दिएका होलान् । उनीबाट शिक्षा ग्रहण गर्नेहरूको मष्तिस्कमा समाज रूपान्तरणको कस्तो ज्ञान आर्जित होला ? तमाम प्रश्न पनि जोडिएका छन् । साँच्चै भन्ने हो भने यस्तो चेतनास्तर भएका नामधारी शिक्षकलाई पेसामा मात्रै होइन समाजमा महिलाका अगाडि मुख देखाएर हिँड्ने अधिकार पनि छैन ।

संविधानको पाना पल्टाएर महिला अधिकार बढी भयो भनेर वकालत गर्नेहरूले पनि के बुझ्न जरुरी छ भने समाज कानुनको पानाबाट परिवर्तन हुने कुरा होइन, यसका लागि विकृत सोच र व्यवहारको परिवर्तन जरुरी छ ।

 २१औँ शताब्दीका हामी अन्य देशको विकास र परिवर्तनलाई घोकेर बोल्दै हिँड्ने भयौँ, तर आफ्नै देशको कुसंस्कार, अन्धविश्वास र कुरीतिलाई भने सधैँ मलजल गरिरह्यौँ । हामी सिङ्गो राष्ट्र बदल्छौँ भनेर हिँडिरहँदा हाम्रो घरघरमा जगडिएको मगजमा थुप्रिएको कुसंस्कारको अन्त्य कहिले हुने ?

नयाँ संविधान जारीसँगै देशको प्रमुख पदमा महिलाको उपस्थितिले आममहिलालाई आत्मगौरवको महसुस गराइरहेको बेला संविधानले राष्ट्रिय एकताको प्रतीकको रूपमा मानेको राष्ट्रप्रमुखलाई एकल महिला भन्दै गरिएको दुव्र्यवहारको जति नै भत्र्सना गरे पनि पुग्दैन । हो, उनी एकल महिला हुन्, तर त्यसभन्दा माथि उनी देशको राष्ट्रपति हुन् । उनी कुनै वर्ग, समुदाय र लिङ्गको नभई होइन राष्ट्रकै प्रमुख हुन् । धर्मप्रति आस्था राख्नु, धार्मिक मठमन्दिर पुग्नु उनको अधिकार हो । यसबाट वञ्चित गर्ने र तिरस्कार गर्ने अधिकार पनि कसैलाई छैन ।

सदियौँदेखि महिला अनेक तरहबाट विभेदको सामना गरिरहेका छन् । पछिल्लो समय समान अधिकारका लागि आफ्नो दक्षता र क्षमतालाई परिष्कृत र परिमार्जित गर्दै सशक्त रूपमा अघि बढिरहेको परिवेशमा महिलाको अस्तित्वलाई स्वीकार्न नसकेर विविध बहानामा दमन गर्नु रोगी मानसिकताको उपज मात्र हो । यो घटनाले कुनै महिलाविशेषलाई मात्रै होइन राष्ट्रलाई नै बद्मान बनाएको छ । सरकारले मौनता तोड्नुपर्छ, दोषीलाई कारबाही गरेर आमनागरिकमा सरकारको गर्विलो उपस्थिति छ है भन्ने अनुभूत गराउनुपर्छ ।

प्रकाशित मिति: २०७२ पुस १० गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: