महिला खबर
झापा, पुस १० । झापाको चकचकी स्वास्थ्य चौकीले गर्भवती महिलालाई क्याल्सियम चक्की वितरण सुरु गरेको छ ।
सरकारको गर्भवती महिलाका लागि क्याल्सियम चक्की दिने गर्ने कुनै कार्यक्रम नभए पनि उक्त स्वास्थ्य संस्थाले नवजात शिशुको स्वास्थ्य ख्याल गर्दै जिल्लामै पहिलो पटक यस्तो कार्यक्रम सञ्चालन गरेको हो ।
स्थानीय विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित सहकार्यको खाका कार्यक्रमका लागि छुट्टाएको एक लाख ६५ हजार रुपैयाँ मध्ये केही रकम खर्च गरी एघार हजार ४०० वटा क्याल्सियम चक्की किनेर गर्भवती महिलालाई दिँदै गर्दै आएको आइरन चक्कीसँगै क्याल्सियम चक्की पनि निःशुल्क र वितरण गरिएको स्वास्थ्य चौकीका प्रमुख लक्ष्मण साहले जानकारी दिनुभयो ।
जेठदेखि स्वास्थ्य संस्थामा गर्भ परीक्षणका लागि नियमित रुपमा आउने महिलालाई गर्भ जाँचको कार्डसँगै क्याल्सियम र आइरन चक्की वितरण गर्दै आएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार गर्भवतीलाई क्याल्सियम वितरण गर्न सुरु गरेसँगै स्वास्थ्य संस्था आउनेको सङ्ख्यामा वढेको र सात महिनाको अवधिमा १८२ जनालाई झन्डै एघार हजार क्याल्सियम चक्की वितरण गरिएको छ ।
यसैगरी डाँगीबारी स्वास्थ्य चौकीले पनि गर्भवती महिलाका लागि झुल वितरण गरेको छ । ४० जनालाई झुल वितरण गरिएको स्वास्थ्य संस्थाका प्रमुख रामनारायण शर्माले बताउनुभयो । शर्माका अनुसार गर्भवती महिलालाई लामखुट्टेको टोकाइबाट लाग्ने मलेरिया र कालाजार रोगबाट बच्न झुल वितरण गरिएको हो ।
यस्तै शान्तिनगर स्वास्थ्य चौकीले पनि गर्भवती महिलालाई सरुवा रोगबाट बच्न झुल वितरण गरेको छ । स्वास्थ्य चौकीका प्रमुख दीपक सापकोटाका अनुसार गतवर्ष २५७ जना गर्भवतीलाई झुल वितरण गरिएको छ ।
प्रकाशित मिति: २०७२ पुस १० गते शुक्रवार
Comment Here!