महिला खबर
बैतडी, पुस १०। सुदूरपश्चिममा एक हजार १३९ महिलामा क्षयरोग भेटिएको छ। क्षेत्रीय स्वास्थ्य निर्देशनालय डोटीका अनुसार तीन हजार ३०० क्षयरोगका बिरामी रहेकोे र यी मध्ये एक हजार १३९ महिला दुई हजार २२० पुरुष रहेका छन्। गत आर्थिक वर्षको तथ्याङ्क अनुसार सर्ने खालको क्षयरोगीको सङ्ख्या एक हजार ६४९ रहेको छ। जसमा ५४६ महिला र एक हजार १३० पुरुष रहेका छन्।
क्षयरोगका बिरामीमध्ये ४२४ जना पुनः उपचार गर्नुपर्ने देखिएको क्षेत्रीय क्षयकुष्ठ निरीक्षक मनोज ओझाले बताउनुभयो। उहाँले भन्नुभयो – ‘क्षयरोगको बिरामी पत्ता लगाउने लक्ष्यअनुसार ८७ प्रतिशत लक्ष्य प्राप्ति भएको छ, क्षयरोगका बिरामीमध्ये ७५ प्रतिशतमा फोक्सोको टिबी रहेको छ।’
जनसङ्ख्याका आधारमा तथ्याङ्क लिँदा कञ्चनपुरमा सबैभन्दा बढी प्रतिलाख १८० जना क्षयरोगी रहेका छन् भने सबैभन्दा कम अछाममा प्रतिलाख ७० जना बिरामी रहेका छन्।
सुदूरपश्चिममा प्रतिलाख १२५ जना क्षयरोगी भएको क्षेत्रीय क्षयकुष्ठ निरीक्षक ओझाले जानकारी दिनुभयो। क्षयरोगीमध्ये पनि १५–४९ उमेर समूहमा धेरै छन्। क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार एक हजार ५५२ जना क्षयरोगी १५–४९ उमेर समूहका रहेका छन्।
प्रकाशित मितिः २०७२ पुस १० गते शुक्रवार
Comment Here!