खेमा बस्नेत
कैलाली, पुस १२ । डोटी दुर्गामाण्डौ गाविसकी सुनकली (नाम परिवर्तन)का श्रीमान भारत नोकरी गर्थे । दुई सन्तानकी आमा सुनकली घरको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।यसै समयमा सुनकलीलाई निकै समस्या आइलाग्यो । नचाहँदा नचाहँदै गर्भ अनिच्छित गर्भ बस्यो । सुदूरपश्चिमको समाजमा श्रीमान घरमा नभएकी महिलाको महिनावारी रोकिदा उसैपनि संकाको घेरामा राख्छन् । त्यसमा पनि सुनकलीको गर्भ नै बसेपछि उनीमाथि ठूलो बर्जपात आइलाग्यो ।
समस्या बताएपछि छिमेकी जेठानीले जुक्ति निकालिन् । उनको सल्लाह अनुसार गाउँकै एकजना महिलाबाट जडिबुडीबाट असुरक्षित गर्भपतन गर्न पुगिन । यो समस्या असुरक्षित यौनसम्पर्क राख्नाले निम्तिएको थियो । परिवार नियोजनका साधनबारे सुनकलीलाई कुनै जानकारी थिएन् । ‘परिवार नियोजनका साधन बारे थाहा नपाउदा त्यतिबेला साह्रै चिन्ता र दुख पाईयो’ विगतको स्मरण गर्दै उनले भनीन्,‘त्यो पिडाबाट उम्कीन असुरक्षित गर्भपतन सम्मको जटिल निर्णय लिनु प-यो । धन्न बाँचियो त्यसबाट ज्यान जान्छ भनेको सुन्दा अहिले डर लाग्छ ।’सुनकली अहिले अनिच्छीत गर्भ रहन नदिन आफु सचेत बनेको बताउँछिन् ।
चार सन्तानकी आमा रमिला (नाम परिवर्तन)लाई पनि अहिले पछुतो लागेको छ । परिवार नियोजनको अस्थायी साधनबारे आफूलाई जानकारी नहुँदा अनावश्यक गर्भधारण गर्नुपरेको उनी बताउँछिन् । तर, परिवार नियोजनका अस्थायी साधनबारे आफूले थाहा पाइसकेकीले अव भने यसरी गर्भ रहन नसक्ने उनी दाबी गर्छिन् ।
महिला स्वास्थ्य स्वयम् सेबिका समेत रहेकी उनी अहिले हरेक आमाहरुको अनपेक्षित गर्भ रहन नदिन पैरवी गरिरहेको बताउँछिन् । ‘हरेक महिना जसो हुने आमा समूहका बैठकहरूमा परिवार नियोजनका साधनको प्रयोग र यसबाट हुने फाइदाका बिषयमा छलफल गर्छौ ।’ उनले भनिन्,‘आफुले नचाहँदै बढी सन्तान पाउनुप-यो, अन्य आमालाई यस्तो नहोस भनेर लागेकी छु । यसबारे गाउँका सबै आमा सचेत छन् । परिवार नियोजनका साधनबारे कुरागर्दा कोही लजाउँदै नौ ।’
सो गाउँका अधिकांश पुरुष रोजगारका लागि भारत गएका छन् । भारतबाट फर्कने खबर आए महिला परिवार नियोजनका अस्थाई साधनको जोहो गर्न तर्फ लाग्छन् । ‘केही दिदीबहिनीहरू महिलाले प्रयोग गर्ने, डिपो, पिल्स प्रयोग गर्नुहुन्छ । कोही पुरुषले प्रयोग गर्ने अस्थायी साधन लगेर जानुहुन्छ ।’ महिला स्वास्थ्य स्वयम् सेविकाले भनिन् ।
पुरुष सधै घरमा हुने महिलाले भने लामो समयसम्म प्रभाव राख्ने, कपर टि र ईम्प्लान्ट प्रयोग गर्ने महिला बताउँछन् । सन्तानको रहर पुगिसकेका र पछि सन्तान जन्माउन नचाहने महिलाले भने स्थायी बन्ध्याकरण गर्ने गरेको महिला स्वास्थ्य स्वयम्सेविका भट्टले बताईन् । भारतबाट फर्कने पुरुषसंग सुुरूमै यौन सम्पर्क नगर्ने महिला बताउँछन् । गाउँकी अर्कोे महिला निर्मला पाठकले भनीन्,‘गर्नै परे अस्थायी साधन प्रयोग गर्न भन्छौ ।’ एचआईभीको डरले यस्तो गर्ने उनले बताईन् । ‘रगत जाँच गरेपछि मात्रै यौन सम्पर्क गर्छौ ।’ उनले भनीन् ।
जिल्लाका अन्य क्षेत्रहरुमा प्रयोगकर्ताहरूले परिवार नियोजनका साधन निर्धक्कसंग मागेर अझै लैजान सक्दैनन् । महिला त परै जाओस्, पुरुष पनि अझै माग्न लजाउने अवस्था छ । तर दुर्गामाण्डौ गाविसमा भने महिला नै आएर ढुक्कसंग मागेर लैजाने र आवश्यक परामर्श लिने गरेको दुर्गामाण्डौ स्वास्थ्य चौकीका इन्चार्ज भक्त बिकले बताए । उनले भने,‘हामीकहाँ महिला परिवार नियोजन प्रति बढी सचेत छन् । दिनहु १५/२० जना महिला आएर परिवार नियोजनका साधन लगेर जान्छन् ।’ पुरुष भन्दा बढी महिला सचेत रहेको उनले बताए । दुर्गामाण्डौ जिल्लाकै सबैभन्दा बढी परिवार नियोजनका साधन प्रयोग हुने जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक छ ।
प्रकाशित मिति २०७२ पुस १२ आइतवार
Comment Here!