महिला खबर
पोखरा, पुस १२। लामो समयदेखि राजनीतिमा क्रियाशिल रहेर परिवर्तनको आन्दोलनमा अगुवा गरेपनि आफ्नो उद्देश्य सत्तामा पुग्न कहिल्यै नभएको अनेम संघका केन्द्रिय सचिव सृजना शर्माले बताउनु भएको छ। मानव मिलन नारी जागरणले आयोजना गरेको स्व. इन्द्रा स्मृति मानव मिलन नारी सम्मान ग्रहण गर्दै नेता शर्माले सो कुरा बताउनु भएको हो।
सम्मानित शर्माले सबै नीतिको माउ राजनीति भएपनि राजनीतिको गलत र नकारात्मक बुझाइका कारण नयाँ पुस्ता यस क्षेत्रबाट विमुख भएको बताउनुभयो। समाज रुपान्तरण हुन हरेक नागरिकमा राजनीतिक चेतना हुन आवश्यक रहेको उहाँको भनाइ थियो।
२०४० सालदेखि निरन्तर राजनीतिमा सक्रिय रहेको र परिवर्तनको अगुवा गर्दा पटक पटक जेल जीवन विताउनु परेको स्मरण गर्दै शर्माले महिला अधिकारको लडाइमा आफू निरन्तर लागिरहने बताउनुभयो। गैह्रराजनीतिक क्षेत्रबाट पाएको सम्मानले आफूलाई समाजमा अझै बढी दायित्वबोध गराएको शर्माले बताउनुभयो।
उहाँलाई राष्ट्रिय मानव अधिकार आयोग पश्चिमाञ्चलका निमित्त निर्देशक सम्झना शर्माले दोसल्ला, नगद र सम्मानपत्रले सम्मान गर्नु भएकोथियो।
मानव मिलन नारी जागरणले संस्थापक कोषाध्यक्ष स्वं इन्द्रा क्षेत्रीको स्मृतिमा स्थापना गरेको सो पुरस्कारबाट समाजमा सशक्तीकरणबाट महिला विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने एक जना महिलालाई प्रत्येक वर्ष सम्मान गर्दै आएको संस्थाका संस्थापक अध्यक्ष सावित्री शर्माले जानकारी दिनुभयो।
राजनीतिक क्षेत्रमा निरन्तर सक्रिय रही सशक्तीकरणबाट महिला विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेता शर्मालाई उक्त पुरस्कारबाट सम्मान गरिएको पुरस्कार छनोट समितिका संयोजक गिता विष्टले जानकारी दिनुभयो।
प्रकाशित मितिः २०७२ पुस १२ गते अाईतवार
Comment Here!