स्नातकोत्तर अध्ययन गर्ने बुहारीका कथा


प्रकाशित मिति :2015-12-27 13:27:35

खेमा बस्नेत

धनगढी । घरको सहायक वा भान्छाको उत्तराधिकारी नै बुहारी हो भन्ने सोचाई समाजबाट पुरानो हुँदै गएको छ । विवाहपछि आफ्नो करिअर अगाडी बढाउन सकिँदैन भन्नेहरू पनि धेरै छन् ।  यही दुई सत्यको बिचमा सुदूरपश्चिमका बुहारीहरू स्नातकाेत्तर  पढ्दै आएका छन् । कैलाली बहुमुखी क्याम्पसमा स्नातकाेत्तर अध्ययन गरिरहेका धेरै बुहारीहरू विवाहपछि नै आफूहरूले पढ्ने अवसर पाएको बताएका छन् ।

कैलाली बहुमुखी क्याम्पसमा छात्राको संख्याको करिव १५ प्रतिशत बुहारी अध्ययन गरिरहेको अनुमान छ । ती मध्ये केही बुहारी स्नाकोत्तर गर्दै छिन् । अध्ययनरत बुहारी मध्येकी एक हुन्, पुष्पा चन्द । केही समय पहिले बैवाहिक सम्बन्धमा बाँधिएकी चन्दलाई समाजको बुझाई जस्तै विवाहपछि आफूले पढ्न नपाइने डर लागेको थियो । तर, समाजले सिकाउँदै आएको तथ्य उनको जीवनमा गलत सावित भयो । विवाहपछि सोचे भन्दा सहज वातावरण बन्यो ।

कैलाली बहुमुखी क्याम्पसमा समाजशास्त्रमा स्नातकोत्तर पहिलो वर्षमा अध्ययन गर्दै आएकी पुष्पा विवाहपछि पढ्न पाउनुमा घरपरिवारको ठूलो हात रहेको बताउँछिन् । अध्ययन सपना पुरा गराउनमा उनका श्रीमानलगायत सासु ससुराको पनि सहयोग रहेको उनको भनाइ छ ।

पुष्पाले श्रीमानको घरमा छोरीको दर्जा पाएको पनि होइन, नत समाजले चिन्ने बुहारीको दर्जा नै । उनी चन्द परिवारमा एक जिम्मेवार सदस्यको रुपमा भित्रिइन जहाँ सबैले सबैको सहयोगको खाँचो महशुस गर्छन् । त्यही महत्व पनि ।

‘मेरो श्रीमान् र सासु ससुराको सपोर्टले नै म क्याम्पस पढ्न पाएकी हुँ’ विहान करिव साढे ६ बजेतिर कैलाली बहुमुखी क्याम्पस परिसरमा भेटिएकी उनले भनिन् ‘उहाँहरूले सहयोग नगरे मैले कसरी पढ्न पाउँथे र ?’

घरपरिवारको सहयोग भएपनि उनले आफू पढ्ने बातावरण आफैले बनाएकी हुन् । घरमा जिम्मेवार सदस्यको नाताले विहानै उठेर घर धन्दाको चाजोपाजो मिलाउँछिन् । छोराछोरीलाई  गृहकार्य गर्न सघाइ खाजा तयार गरिसकेपछि क्याम्पस आउँछिन् । क्याम्पसबाट घर फर्किंदा सासुले खाना तयार गरेकी हुन्छिन् । खाएर उनी फेरी ब्युटीपार्लरमा तालिम लिन जान्छिन् ।

समाजले बुहारीलाई जुन दर्जा दिएको छ, आफूले त्यसो महशुस नगरेको पुष्पा बताउँछिन् । परिवारमा वाताबरण बनाउन सक्ने वा नसक्ने आफूमा भर पर्ने गरेको पुष्पाले सुनाईन ।

‘घरपरिवारको सहयोग लिन सक्ने वातावरण आफूले बनाउने हो’ पुष्पाले भनिन् घरमा पनि काम हुन्छ । घरको कामगर्दा म बुहारी भएकोले गर्नुप-यो भनेर सम्झिइयो भने त्यो गलत हुन्छ । काम महत्वपूर्ण हन्छ, त्यसैले आवश्यकता र क्षमता अनुसारका काम ग-यो भने कसैलाई टाउँको दुखाइ हुँदैन । यसले काम पनि बन्छ सहयोग पनि पाइन्छ ।’

उनले माइतिघर जतिकै विवाहपछिको घरमा सम्मानजनक व्यहार पाएको बताउँछिन् । सुदूरपश्चिममा बुहारी ल्याएपछि कामलाई बढी महत्व दिइने गरेपनि पढ्ने चाहना भएका बुहारीलाई अपवाद र बाध्यता बाहेकले पढ्न सक्ने उनको विश्वास छ ।

‘बुहारी भनेको काम गर्नको लागि मात्रै हुँदैन् । त्यसको अर्थ क्याम्पस गएपछि घर व्यहार चलाउन पर्दैन भन्ने पनि होइन्’ पुष्पाले भनिन् ‘पढ्ने चाहना भएका महिलाले घर परिवारको विश्वास जित्न सके सबै सम्भव छ ।’

धनगढीकी हिरा सिंह पनि स्नातकाेत्तर पढ्दै गरेकी बुहारी हुन् । दुई सन्तानकी आमा उनले घरधन्दापनि चलाउनुपर्छ । आमा, बुहारी र घरको अभिभावकको भूमिका पाएकी उनले पढाइलाई पनि उत्तिकै महत्व दिएकी छिन् ।

हिराले पढ्ने इच्छा देखाएपछि उनका श्रीमानले उनलाई पढाईको लागि वातावरण बनाए । घरपरिवारको सहयोग पाएपछि आजकाल एकाविहानै हिरा कलेज धाउँछिन् ।

घरपरिवारसँग मजाले कुरा गरेमा सबै सहयोग पाइने हिराको विश्वास छ । ‘आफैँ पढेकी बुहारी भन्दै मान खोज्दा पो सबैले असहयोग हुन थाल्छ । पढेर घर व्यवहार र ज्ञान हासिल हुन्छ भने सबैले सहयोग गर्छन, हिराले भनिन् ।

हिरा आफू कलेज जाने भएपनि घरधन्दा भने छुटाउँदिनन् । विहानै उठेर छोरीको लागि खाजा तयार गर्छिन् । गृहकार्य तयार गराउँछिन् । चुलोचौको सकेर क्याम्पस जान्छिन् । ‘पढ्न भनेको ज्ञान र शिक्षा लिन पो हो, काम गर्नु पर्दैन भनेर होइन नी’ हिरा भन्छिन् ‘शिक्षा लिएपछि त झन् घरव्यहार राम्ररी चलाउनु प-यो र अरुलाई सिकाउनु प-यो ।

सुदूरपश्चिममा बुहारीहरूले पनि पढ्ने अवसर पाउने थुप्रै ठाउँ रहेको हिरा बताउँछिन् । घर परिवारले बुहारी के चाहन्छ भन्ने थाहा नपाउने भएकाले आफूमा भएको सम्भावना र इच्छाबारे घर परिवारसंग समन्वय गर्नुपर्ने उनी बताउँछिन् । घरको कामको अल्छि गरेर पढ्ने वहाना लगाएपछि कसैले सहयोग नगर्ने उनी बताउँछिन् ।

जागिरको लागि मात्रै पढ्नुपर्छ भन्ने सोचाइ भन्दा पनि मानिस सामाजिक प्राणी भएकाले समाज र घरायसी व्यवहारका लागि पनि शिक्षा आवश्यक भएकाले बुहारी शिक्षित हुन आवश्यक भएको उनले बताइन् । बुहारी शिक्षत भए घरपरिवार हुँदै समाज सभ्य हुने उनको भनाइ छ ।

कैलाली बहुमुखी क्याम्पसमा केही वर्षयता बुहारी विद्यार्थी बढेको कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सुरेन्द्र चन्दले बताए । बुहारी छात्रको संख्या छुट्टै अभिलेख नराख्ने गरिएकोले यसको यकिन संख्या भन्न नमिल्ने भएपनि पछिल्लो समयमा बुहारी छात्रको संख्या बढ्न थालेको बताउँछन् । उनले समाज चेतनशील हुँदै गएकाले पनि बुहारीलाई पनि छोरा सरह पढाउनुपर्ने धारणा विकास हुँदै आएको बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: