एकल महिला : राज्यको नीति भएन


प्रकाशित मिति :2015-12-28 14:30:56

केही वर्षयता एकल महिला सामाजिक अवरोध तोड्दै आत्मनिर्भरको बाटोमा लागेका छन् । समाजले हेर्न दृष्टिकोण परिवर्तन हुँदै गएको छ । तर, अहिलेसम्म यसमा राज्यको स्पष्ट नीति भएन ।

लक्ष्मी दर्नाल

सुनसरी । धरान नगरपालिका– १९ जिमीचौककी सुनिता शर्माका श्रीमान फर्निचर व्यवसाय गर्थे । तीन छोरी र एक छोराको पढाइखर्च, घरखर्च सबै यही व्यवसायबाट धानिएको थियो । केही वर्षअघि सुनिताका श्रीमानकाे दुर्घटनामा मृत्यु भयो । त्यसपछि सुनिता समस्यामा परिन्, तर उनले हिम्मत हारिनन् । श्रीमानले गर्दै आएको फर्निचर व्यवसाय आफूले सम्हालिन् । ३४ वर्षीया सुनिताले यही व्यवसाय चलाएर दुई छोरीको विवाह गरिन् । उनी भन्छिन्, ‘उहाँले छोडेर गएपछि पनि आत्मबल गुम्न दिइन् । केही गर्नुपर्छ भन्ने साहसले नै परिवार चलाइरहेकी छु ।’

श्रीमानकाे मृत्यु भएको केही वर्ष उनलाई गाह्रो भयो । समाजले नकारात्मक दृष्टिले हेर्दा दिक्क हुन्थिन् । आफ्नै खुट्टामा उभिने सोच बोकेकी उनमा श्रीमानकाे व्यवसायलाई निरन्तरता दिने सोच आयो । उनी भन्छिन्, ‘घरमा अभिभावक नहँुदा धेरै समस्या हुन्थ्यो । पहिला त लोग्ने मरेपछि खुसी भएर औधी छे भनेर कुरा काट्नेहरूको सामना पनि गरिन् । निरन्तर लागेपछि समाजले हेर्ने नजरमा पनि परिवर्तन आयो ।’

धरान– १२ चतरालाइनकी गीता परियार २५ वर्षकी हुँदा श्रीमानकाे मृत्यु भयो । अहिले उनी ५१ वर्षकी भइन् । श्रीमानकाे मृत्युपछि उनले अनेकौँ ठक्कर खाइन् । दुःख पर्दा न त माइतीले साथ–सहयोग दिए, न सासू–ससुराले । काखेछोरी मात्र थिइन् उनीसँग । श्रीमानसँगै  हुँदा सिलाइको काम सिकेकी परियारले श्रीमानकाे मृत्युपछि सोही कामलाई निरन्तरता दिइन् । परिवार र समाजबाट अपहेलित बनेकी परियारले आफूले जानेको सिलाइको काम गर्दै छोरी हुर्काइन् । त्यसैको कमाइबाट छोरीको विवाह गरिदिइन् । काम गर्दागर्दा अब उनमा आत्मविश्वास बढेको छ । उनी भन्छिन्, ‘उमेर ढल्कँदै गए पनि मेरो हिम्मत र आत्मविश्वास ढल्केको छैन ।’

Sunita sharma, ekal mahila

धरान– २३ पानबारीकी दीपा श्रेष्ठका श्रीमान् पनि आठ वर्षअघि बिते । त्यसबेला दीपासँग ६ वर्षको छोरा र आठ वर्षकी छोरी थिए । धेरै दुःखकष्ट सहेर उनले छोराछोरी हुर्काइन्, बढाइन् अनि पढाइन् । अहिले छोरी एसएलसी दिने तयारीमा छिन् भने छोरा आठ कक्षामा पढ्दै छन् । विगत सम्झिँदै उनी भन्छिन्, ‘उहाँ हुँदा पनि खासै घरको काममा मलाई सघाउनुभएन, तर पनि मेरा लागि अभिभावक भने पक्कै हुनुहुन्थ्यो । उहाँ बितेपछि मैले एक्लिएको अनुभव गर्दै निकै दुःखमा जीवन काटेँ ।’

श्रेष्ठको आर्थिक अवस्था दयनीय थियो । सम्पत्तिको नाममा घर भएको १ कट्ठा जग्गाभन्दा केही थिएन । उनले जीवन अप्ठ्यारोमा परेको बेला गाउँमा रहेको महिला समूहबाट सहुलियत ऋण लिएर सानो चियापसल खोलिन् । चियापसलबाट उल्टै घाटा भयो । यसपछि उनले व्यवसाय बदल्ने सोच बनाइन् । उनले घरमै दालमोठ, चिप्स साथै अगरबत्ती बनाएर बेच्न थालेपछि उनको जीवन सहज भयो । अहिले उनको व्यवसायमा छोराछोरीले पनि सहयोग गर्छन् । ‘बिहान–बेलुका विभिन्न पसलमा आफूले उत्पादन गरेको सामग्री वितरण गर्ने काम सबै छोराछोरीकै हो । उनीहरूले साथ दिएकाले मलाई धेरै सजिलो भएको छ,’ दीपा भन्छिन् ।

१७ वर्षको उमेरमै विवाह गरेकी धरान– २५ की लक्ष्मी श्रेष्ठ (नाम परिवर्तन) को विगत एकदमै सङ्घर्षपूर्ण रह्यो । उनी विवाह गरेर आउँदा श्रीमानकाे आफ्नो घर थिएन । साहुको जग्गा कमाएर खानुपर्ने थियो । साहुको जग्गा कमाएर मुस्किलले ६ महिना खाने अन्न उत्पादन हुन्थ्यो । बाँकी ६ महिना बनिबुतो गरेर खानुपर्दा लक्ष्मीलाई एकदमै गाह्रो थियो । त्यत्तिकैमा श्रीमान् नेपाल प्रहरीमा जागिरे भएपछि उनलाई केही राहत मिल्यो ।

तर, त्यो थोरै समयको लागि रहेछ । सशस्त्र द्वन्द्वकालमा उनका श्रीमान् माओवादीको सन्धिखर्क हमलामा मारिए । श्रीमान्को मृत्युपश्चात् उनी विक्षिप्त जस्तै बनिन् । उनलाई क्षतिपूर्ति लिन पनि धेरै गाह्रो भयो । श्रीमानकाे मृत्यु हुँदा उनकी छोरी बल्ल स्कुल जाने भएकी थिइन्, छोरा डेढ वर्षका थिए । तर, उनले हिम्मत हारिनन्, आफूलाई सम्हाल्दै सरकारले दिएको क्षतिपूर्तिले उनले जग्गा किनेर घर बनाइन् र तलबभत्ताले जीविका चलाइन् । अहिले उनी विभिन्न सामाजिक सङ्घसंस्थामा आबद्ध भएर समाजसेवा गर्दै आएकी छिन् । उनी भन्छिन्, ‘श्रीमानकाे अभिभावकत्व गुमाए पनि म अहिले खुसीका साथ बाँच्न सकेकी छु ।’

सँगै जिउने वाचा गर्दै रोजेका जीवनसाथीको अकालमा मृत्यु हुँदा हुनुसम्मको पीडा हुन्छ । जीवनसाथी गुमाउने महिलालाई चाहिँ दोब्बर पीडा थपिन्छ । एक्लो जीवन एकातिर, अर्कातिर सामाजिक र आर्थिक समस्याले सताउँछ । पुरुषप्रधान समाजका धेरै महिला आर्थिक मामिलामा श्रीमानसँगै  निर्भर हुन्छन् ।    श्रीमान् बितेसँगै उनीहरूलाई आफ्नो र छोराछोरीको जीवनयापन गर्न मुस्किल हुन्छ ।  त्यसमाथि पुरुषले झैँ तुरुन्तै अर्को विवाह गर्न पनि महिलालाई सामाजिक कारणले सजिलो छैन ।

मानव अधिकारका लागि महिला एकल महिला समूहको तथ्याङ्कअनुसार पूर्वाञ्चलमा मात्र एकल महिलाको सङ्ख्या १५ हजारभन्दा बढी छ । त्यसमध्ये २० प्रतिशतजति एकल महिला विभिन्न पेसामा आबद्ध भएर आत्मनिर्भर छन् । तर, ८० प्रतिशतको अवस्था अहिले पनि दयनीय छ । पूर्वाञ्चल क्षेत्रीय कार्यक्रम अधिकृत इन्द्रकला राई भन्छिन्, ‘पहिला अधिकांश एकल महिलाको अवस्था दयनीय थियो । अहिले बिस्तारै उनीहरू हिम्मत जुटाएर आत्मनिर्भर बन्दै छन् । बिस्तारै यो क्रम बढ्दै छ ।’

श्रीमान् गुमाएर पीडामा रहेका एकल महिलालाई समाजले विभिन्न आरोप लगाउने र कुनै पुरुषसँग बोलेको देख्दासमेत शङ्काको दृष्टिले हेर्ने चलन अहिले पनि हटेको छैन । समाजको दृष्टिकोणले पनि एकल महिलालाई आत्मनिर्भर बन्न बाधा हुने गरेको एकल महिला बताउँछन् । समाजले के भन्ला भनेर डराएर बस्नेहरू अहिले पनि पीडामै छन् । हिम्मत जुटाएर अघि बढ्नेहरू आत्मनिर्भर बनिरहेका छन् ।

समाजका बन्धन, अवरोधलाई एकल महिलाले बिस्तारै तोड्दै अघि बढेको बताउँछिन् एकल महिला समूहकी पूर्वाञ्चल अध्यक्ष दीपा आचार्य । उनको अनुभवमा दुई वर्षयता पूर्वमा एकल महिला सामाजिक अवरोध तोड्दै आत्मनिर्भरताको बाटोमा लागेका छन् । ‘पहिले एकल महिलाले कुनै व्यवसाय सुरु गर्दा समाजले हेर्न दृष्टिकोण फरक थियो । तर, अहिलेको अवस्थामा धेरै सुधार आएको छ । यो सकारात्मक सङ्केत हो,’ आचार्य भन्छिन्, ‘एकल महिलालाई बचत गर्न र आत्मनिर्भर बन्न प्रोत्साहन गर्दै आएका छौँ । राज्यले पनि यसमा ठोस नीति ल्याउन आवश्यक छ ।’

(सञ्चारिका फिचर सेवाबाट)(लक्ष्मी, धरानकी पत्ररकार हुन्)

प्रकाशित मिति २०७२ पुस १३ गते साेमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: