रुपा गहतराज
नेपालगन्ज, पुस १३। बाँकेको बेलभार गाबिसको भैयापुरमा बालविवाहविरुद्धको अभियानमा क्रियाशिल रहँदै आएका बाल क्लबका पदाधिकारीले नै विवाह गरेका छन्। शनिबार स्थानीय बिहानी युवा क्लबको अगुवाइमा विवाह रोकिएको छ। विवाह गर्ने किशोर बिहानी युवा क्लब अर्न्तगतको बाल क्लबका अध्यक्ष हुन भने कशोरी क्लबकी कोषाध्यक्ष हुन् ।
विवाह गर्ने बालक्लवका अध्यक्ष स्थानिय माविमा कक्षा ८ र कोषाध्यक्ष १० कक्षामा अध्ययनरत छन्। उनीहरूले एकअर्कालाई मनपराएर आपसी समझदारीमा घरपरिवारको स्विकृतीविना भागेर विवाह गरेका हुन्। गाउँलेले खोजी गरी उनीहरूलाई ४ दिनपछि फेला पारेर विवाहका बारेमा पुर्नविचार गर्न सम्झाएका थिए।
बालविवाहविरुद्ध अभिभावकलाई सम्झाउँदै क्लबका पदाधिकारी
बेहुलाबेहुली र स्थानियबिचको छलफलमा उनीहरूले एकअर्कालाई छोड्न नमानेपछि गाउँलेले उमेर पुगेपछि विवाह गर्न सल्लाह दिँदै पहिला आ आफनो शिक्षा पुरा गर्न उनीहरूलाई सुझाएका थिए।
छलफलमा गाउँका अगुवाहरू नै बिभाजित हुँदा यस्ता घटना मिलाउन गाह्रो हुने गरेको क्लबका अध्ययक्ष अर्जुन सुनारले बताउनुभयो। उहाँले भन्नुभयो– बालविवाहलाई समेत आफ्नो मान प्रतिष्ठा र दम्भसँग जोडिन्छ र मुद्दालाई पछि राखिन्छ। ‘ केटा दलित भएकै कारण केटी पक्षले केटी लैजान खोजेको केटा पक्षका आफन्तले आरोप लगाएका थिए, तर बालविवाह गर्नुहुन्न भन्ने चेतना कसैमा पनि भएन जुन आफैँमा एउटा अपराध हो भन्ने ठम्याइ कसैले गरेनन्’ सुनारले भन्नुभयो।
बाल क्लबले बालविवाहविरुद्ध वकालत गर्दै आएपनि आफैँले बनाएको संरचनालाई गाउँलेले अस्वीकार गर्दै आएको क्लबका सल्लाहकार केशव उपाध्याय बताउनुहुन्छ। उपाध्याय भन्नुहुन्छ – ‘दुवै घरका अभिभावक बालविवाहविरुद्ध थिए, तर समाजका अगुवा भनिनेहरूले आ आफनो दम्भ र इज्जत जोगाउन भन्दै घटनालाई बङ्ग्याउन थाले।
समस्या एकातिर छ सरोकारवालाले समाधान लागि पहल अर्काेतिर तयार गर्दा यस्ता मुद्दा आझेेलमा पर्दै गएको उहाँले बताउनुभयो। घटना भएपछि सरोकारवालालाई फोन गरेर जानकारी दिँदा पनि उनीहरू आफैँले गाउँमा मिलाउनुस भनेर उल्टो आग्रह गरेको गुनासो उहाँले गर्नुभयो।
एक तथ्यांकका अनुसार १४ वर्षमुनिका करिब १४ र १९ वर्षमुनिका करिब ५३ प्रतिशत किशोरकिशोरीको विवाह हुने गरेको छ। तर, कानुनले भने अभिभावकको मञ्जुरीबिना २० वर्ष नपुगी विवाह गर्न नपाउने व्यवस्था गरेको छ।
बालविवाह अत्यधिक हुने गरेपनि बाँके जिल्ला अदालतमा हालसम्म बालविवाहविरुद्ध जम्मा ४ वटा मुद्दामात्रै परेका छन्। बाँकेको गंगापुर, मटेहिया, फत्तेपुर, इन्द्रपुर, परसपुर गाविसमा १० देखि १५ वर्षकै उमेरमा विवाह गर्ने चलन रहेको छ ।
महिला बालबालिका कार्यालय बाँकेकी फोकल पर्सन विन्दु कुँवरले बालविवाह रोक्न प्रयास भइरहेको बताउनुभयो। उमेर नपुगी विवाह भइरहेको बारे जानकारी पाए लगत्तै रोक्ने गरेको उहाँ बताउनुहुन्छ।
प्रकाशित मितिः २०७२ पुस १३ गते साेमवार
Comment Here!