बेचबिखनमा महिला : विशेष रणनीतिको जरुरी


प्रकाशित मिति :2015-12-29 10:39:09

बैदेशिक रोेजगारीका नाममा भइरहेको महिला बेचबिखन मुलुकका अगाडी ठूलो चुनौतिको बिषय भइसकेको छ। यसको नियन्त्रणका लागि बिशेष रणनीति बन्नु जरुरी छ। अन्यथा आन्तरिक बेचबिवखमा अनुसन्धान गरि दोषीलाई कारबाही गरेकै भरमा यो समस्या समाधान हुन सम्भव छैन।

दुर्गा कार्की

काठमाडौं। भूकम्पपछि महिला बेचिने क्रम नरोकिएपछि नेपाल प्रहरीले नाकामा आफ्नो उपस्थिति र चहलपहल बढाएको छ। विपत्तीमा परेका महिला तथा किशोरीलाई मायाजाल र प्रलोभनमा पारेर भारत तथा तेस्रो मुलुकमा बेच्नेक्रम अहिले पनि जारी छ। नेपाल प्रहरीमा परेको उजुरीको अभिलेख अनुसार २०७२ वैशाखदेखि कात्तिकसम्मका ७ महिनामा ११४ महिला बेचविखनमा परेका छन्। गएको आर्थिक वर्षमा प्रहरीमा यस्ता १८५ वटा उजुरी दर्ता भएका थिए।

data11

 

महिला बेचविखनविरुद्ध काम गरिरहेको गैर सरकारी संस्था शक्ति समूहले भूकम्पपछि प्रभावित जिल्लाका ३२८ बालबालिका र २८ महिलालाई प्रहरी र बिभिन्न संघसंस्थाको पहलमा नाकाहरू र अन्य देशहरूबाट उद्दार गरिएको जनाएको छ। समूहका अनुसार, नुवाकोटका ३ महिला अहिले पनि हराइरहेका छन् ।

पछिल्लो समय नेपाल–भारत सीमा जोडिएका जिल्लाका नाकाबाट महिलालाई उद्धार गरि फर्काउने क्रम बढेको छ। विपत्तीमा परेका महिलालाई मायाजाल र प्रलोभनमा पारेर बेचबिखन गर्ने दलाल सक्रिय भएको प्रमाण हो यो। चालु आर्थिक वर्षको साउन भदौमामात्रै ७८ महिला हराएको निवेदन माइती नेपाल काँकडभिट्टामा परेको थियो। यी मध्ये ४० जना फेला परेका छन्। यहि नाकाबाट २०७२ जेठ महिनामामात्रै ८५ जना महिलालाई उद्दार गरि परिवारको जिम्मा लगाईएको थियो।

२०७२ मंसिर १ गते मध्यपश्चिमको भारतीय सिमावर्ती वजार रुपैडिहाबाट ६ महिलाको उद्धार गरिएको थियो। ती ६ जना सिन्धुपाल्चोकका थिए। ५ महिनादेखि जारी मधेशवादी दलको आन्दोलनकाक्रममा जोखिमपूर्ण यात्रामा रहेका १ सय भन्दा धेरै महिलालाई नेपालगन्ज नाकाबाट फिर्ता गरिएको माईती नेपाल नेपालगन्जका संयोजक केशव कोईराला बताउँछन्।

उनीहरूलाई रोजगारीका लागि भारत हुँदै खाडी पुर्‍याउन गिरोहले नेपालगन्ज नाका प्रयोग गरेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। उद्धार गरिएकाहरूमा आमाछोरी, दिदीबहिनी समेत छन्। दलालले दिल्ली हुँदै खाडी मुलक पुर्‍याउने र राम्रो काममा लगाउने आश्वासन दिएको उनीहरूले बताएका छन्।

सिन्धुपाल्चोक बाह्रबिसे घर भई काठमाडौंमा अस्थायी रूपमा बस्दै आएका उनीहरूलाई राम्रो काम दिलाईदिने प्रलोभनमा भारत लगिँदै थियो। ती युवतीलाई लैजाने क्रममा सुर्खेत मैनतडाका दीपक विक समेतलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको छ। मुख्य गिरोहमा संलग्न काठमाडौंका प्रदीप श्रेष्ठ भने फरार छन्। उद्धार गरिएका युवतीमा तीन जना १९ वर्षमुनिका र तीन जना ४० वर्षमुनिका रहेको संयोजक कोइराला बताउँछन्।

कैलाली त्रिनगर भन्सारवाट २०७२ वैशाखदेखी असोजसम्म ५५ किशोरीको उद्धार गरिएको थियो। माइती नेपाल कैलालीका संयोजक शिवचरण चौधरीले वैैशाखदेखी असोजसम्म ४७ किशोरीको त्रिनगर सिमानाकावाट उद्धार गरिएको बताएकी छन्। प्रलोभन देखाएर, प्रेम जालमा पारेर, विवाह गर्ने बाचा गरी हिंसा पीडित महिला दलित, जनजाति, बेसहारा र आर्थिक अवस्था कमजोर भएका महिलालाई बेचबिखनमा पारिने संयोजक चौधरीको भनाई छ। उनका भनाइमा ‘आफन्त तथा चिनजानकै व्यक्तिलेे ललाइफकाई वैदेशिक रोजगारमा लगाउने भनेर बेचबिखन गर्ने गरेको पाइएको छ।’

शान्ति पूर्नस्थापना गृह कैलालीकी सुपरभाइजर कौलाशु रानाले २०७२ वैशाखयता ८ किशोरीको उद्धार गरेको वताएकी छन्। यो नाकाबाट उद्धार गरिएकाहरूमा ४ कैलालीका बाकी काठमाडाैं, धादिङ, मकवानपुरका थिए। सुपरभाइजर रानाका भनाइमा २८ किशोरी हराएको निवेदन संस्थामा परेको छ।

५ जेठ २०७२ मा काठमाडौंको स्वयम्भु गुम्बाको आश्रयमा रहेका ४० बौद्ध भिक्षुणीलाई भारत लैजाने क्रममा नेपाल र भारतको पूर्वी सिमाना कांकडभिट्टावाट सीमा प्रहरी र माईती नेपालको संयुक्त पहलमा उद्धार गरिएको थियो। १२ वैशाख २०७२ मा आएको विनाशकारी भूकम्पका कारण काठमाडौंमा असुरक्षित भएको भन्दै सो गुम्बाकी एक आनीले भारतको एक बौद्ध गुम्बाले आश्रय दिन्छ भन्दै सो स्थानमा लैजान लागेको बताएकी थिइन।

सीमा प्रहरीले ती आनीसँग भारतमा रहेको गुम्बाले ती भिक्षुणीलाई संरक्षण गर्ने भनी दिएको आधिकारिक पत्र वा प्रमाण माग्दा दिन नसकेपछि भारत जाँदै गरेका ती भिक्षुणीलाई उद्दार गरी काठमाडौं फर्काइएको थियो। ५ वर्षदेखि ३० वर्ष उमेरका ती भिक्षुणीलाई आफू कहाँ जाँदै गरेको हो भन्नेसम्म थाहा नभएको माइती नेपाल कांकडभित्ताकी काउन्सिलर हेमन्ता वुढाथोकीले वताइन्।

त्यसको एकसाता पछि खोटाङकी २० वर्षीया एक युवतीलाई सिराहाका २ जना महिलाले ‘लहानको एउटा स्कुलमा महिनाको ५ हजार रुपैयाँको जागिर मिलाइदिने’ भनेर भारत लैजान लागेको अवस्थामा काँकडभिट्टाबाट उद्दार गरिएको थियो। कांकडभिट्टा पुगेपछि युवतीले आफूलाई लहान होइन अन्यत्रै लैजान खोजेको थाहा पाएकी थिइन। सीमा नजिकै विवाद गरिरहेका वेला सीमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

भूकम्पपछि पुर्वका काँकडभित्ता, पशुपतिनगर र विराटनगरको रानी नाकाबाट भारत लैजान खोजिएकामा धेरैजसो सिन्धुपाल्चोक, रसुवा, गोर्खाका महिला, बालबालिका र किशोरी रहेका छन्। भूकम्प प्रभावित क्षेत्रका महिला घरबार, आफन्त, प्रियजन गुमाएपछि सहारा र रोजगारीको खोजीमा हुने भएकाले मौकाको फाइदा उठाउँदै फकाएर भारतीय बजारमा बेच्न दलालहरू सक्रिय देखिएको सीमामा कार्यरत प्रहरीको भनाइ छ।

नेपालगन्ज नाकालाई पछिल्लो पटक दलालले धेरै प्रयोग गर्न थालेको भन्दै मानव वेचविखनविरुद्ध क्रियाशील संघ–संस्थाले समेत थप सतर्कता अपनाउन थालेका छन्। वेचविखनको उच्च जोखिममा रहेका बाँकेको ग्रामीण क्षेत्रमा मानव वेचविखनविरुद्ध युवा परिचालन गरिएको महिला तथा बालबालिका कार्यालय बाँकेकी फोकल पर्सन बिन्दु कुँवरले बताइन्।

जनचेतना बढाउने खालका कार्यक्रमहरू पनि भइरहेकै छन्। तर, पनि बेचबिखनको क्रम रोकिएको छैन। युवालाई श्रव्य र दृश्य सामग्रीहरू मार्फत मानव बेचविखनको अवस्था कारण, दलालहरूले बेचविखनमा अपनाउने तरिका, सम्पर्क स्थानहरू र कानुनी व्यवस्थाका बिषयमा प्रशिक्षण चलाएको छ। वैदेशिक रोजगारी, सुरक्षित वसाईंसराई र मानव बेचबिखनविरुद्ध युवाहरूको भूमिकाका वारेमा समेत अभियान सञ्चालन गरिएको माइती नेपालका नेपालगञ्ज संयोजक कोईराला बताउँछन्।

कामको लोभ, राम्रो अवसर देखाएर महिलालाई फन्दामा पार्नेहरू सक्रिय छन्। ‘कञ्चनपुर घर बताउने एक युवकले यतातिर भूकम्पको खतरा छैन यतै आउ काम गरौँला भनेर एकजना युवतीलाई बोलाएको रहेछ,’ माइती नेपाल कैलालीका संयोजक शिवचरण चौधरीले भनिन्, ‘कञ्चनपुर जाने भनेर हिँडेकी ती महिला कैलालीबाटै भारततिर पस्न लागेको भेटाएपछि हामीले रोक्यौँ।’

भूकम्पले थातथलो गुमाएका महिला प्रलोभनमा परि विभिन्न वहानामा भारत पस्न सक्ने भएकाले सीमा क्षेत्रमा निगरानी बढाउनुपर्ने शान्ति पुनर्स्थापना गृह धनगढीका प्रमुख बासु भट्टराई बताउँछन्। पुनर्स्थापना गृहले भारतीय सीमा क्षेत्र गौरीफन्टाबाट दिल्लीलगायत बिभिन्न ठाउँका लागि छुट्ने बसमा पनि थप निगरानी बढाएको बताएको छ।

महिला तथा बालबालिका सेवा निर्देशनालयका प्रमुख तथा प्रहरी नायव महानिरिक्षक मिङमार लामाले नाकाहरूमा २० वटा चेकपोष्ट खडा गरेको जानकारी दिए। उनले भने ‘आन्तरिक बेचबिवखमा अनुसन्धान गरि दोषीलाई कारबाहीको दायरामा ल्याउन सजिलो छ। तर, बैदेशिक रोेजगारीका नाममा हुने बेचविखन हाम्रो अगाडी ठूलो चुनौतिका रुपमा खडा भएको छ।’ यो चूनौतिको समाधान दिँदै एकजना अधिकारकर्मी भन्छिन्, ‘सरकारीस्तरबाटै बेचबिखनविरुद्ध बिशेष रणनीति बन्नु जरुरी छ र त्यसको प्रभावकारी कार्यान्वयनबाट मात्रै यसको नियन्त्रण सम्भव छ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: