महिला खबर
नेपालगन्ज । राष्ट्रपति विद्यादेवी भण्डारीमाथि जनकपुरमा दुव्र्यवहार गर्नेहरूलाई सजायको माग गर्दै द्वन्द्व पीडित तथा एकल महिला सञ्जाल बाँकेले जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापन पत्र बुझाएको छ ।
गत पुष १ गते जनकपुरधाम, रामजानकी मन्दिर प्रवेश र पुजा गर्ने क्रममा राष्ट्रपति विद्यादेवि भण्डारीमाथि भएको दुर्व्यवहारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै यस्तो निन्दनिय कार्यका दोषिहरूलाई कडा भन्दा कडा सजाय दिलाई सबै एकल महिलाको सामाजिक, सांस्कृतिक तथा धार्मिक अधिकारलाई सुरक्षित र मर्यादित गराउन उनीहरूले माग गरेका छन् ।
द्वन्द्व पीडित तथा एकल महिला सञ्जाल बाँकेका अध्यक्ष एकमाया बिकले प्रमुख जिल्ला अधिकारी वेद प्रकाश लेखकलाई ज्ञापनपत्र बुझाउँदै विधवा भएकै कारणले राष्ट्रप्रमुख जस्तो गरिमामय पदमा आसिन महिलामाथि गरिएको असभ्यताको पराकाष्ट र बर्बर दुर्व्यवहारप्रति खेद व्यक्त गर्नुभयो ।
उहाँले मानवलाई मानव भएर बाँच्नको लागि पूर्ण तथा सारभुत समानताको प्रत्याभुति हुनु अनिवार्य भएको र मानवअधिकार सम्बन्धि विश्वव्यापी घोषणापत्र १९४८, नेपालको संविधान २०७२ ले सबै मानव स्वतन्त्र रुपमा एंव समान हक र मर्यादामा बाँच्न पाउने अधिकारलाई स्थापित गरेको भएपनि उक्त घटनाले आम महिलाप्रतिको संकुचित सोच राखेको प्रति दुःख व्यक्त गर्नुभयो ।
द्वन्द्व पीडित तथा एकल महिला सञ्जालकी क्षेत्रीय संयोजक शोभा बिसीले विधवा भएकै कारणले राष्ट्रप्रमुख जस्तो गरिमामय पदमा आसिन महिला माथि गरिएको असभ्यताको पराकाष्ट र बर्बर दुव्र्यवहारप्रति आफूहरु मर्माहत भएको बताउनुभयो ।
ज्ञापन पत्रमा नेपालको संविधानले सबै प्रकारका विभेदलाई संवैधानिक रुपले अन्त्य र राष्ट्रले देशभित्रका सबै धर्म, संस्कृति, परम्परा र रितिरिवाज प्रति सम्मान तथा सबैको सहभागिता रहने संवैधानिक व्यवस्था र महिला विरुद्ध भेदभाव उन्मुलन सम्बन्धि महासन्धिको धारा १ मा वैवाहिकताको आधारमा महिला विरुद्धको भेदभाव अन्त्य गर्नु पर्ने व्यवस्था रहेको हुँदा पनि, एकल महिलाको सामाजिक सांस्कृतिक तथा धार्मिक अधिकार माथि भएको आक्रमण प्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
प्रकाशित मिति २०७२ पुस १४ गते मंगलवार
Comment Here!