महिला खबर
बाँके । विवाहमा मागे जति दाइजो नल्याएको भन्दै बाँकेमा दुई जना महिलालाई परिवारले कुटपिट गरी घर निकाला गरिदिएका छन् । होलिया ९ कधैपुरुवाकी २४ वर्षीय तारावती हरिजनलाई विवाहमा मोटरसाईकल र दुई लाख नगद दाईजो नल्याएको भन्दै पुस १ गते परिवारले घरबाट निकालिदिएको माइती पक्षले बताएका छन् ।
श्रीमान बाबुलाल रैदास, सासु शान्ति र ससुरा सावितरामको कुटपिटबाट तारावती घाइते भएकी छन् । उनी अहिले माइतीघर फत्तेपुरमा बस्दै आएकी छिन् । चारवर्ष अघि बाबुलालसंग उनको मागी विवाह भएको हो । दाइजोको निहुँमा दुई वर्षदेखि घरपरिवारबाट हिंसा सहँदै आएको पीडित तारावती बताइन । उनले भनिन् ‘अहिलेसम्म पाँच पटक घरबाट निकाले सके, यसपाली बञ्चरो ताकेर मार्न खोजेपछि ज्यान जोगाउन भागेर माइतीमा आए ।’
श्रीमानको धेरै दाइजो दिने केटीसँग विवाह गर्ने परिवारले धम्की दिदैँ आएको उनले बताइन । आफूमाथि भैरहेको घरेलु हिंसाका बारेमा उनले अहिलेसम्म प्रहरीमा उजूरी गरेकी छैनन् । उनीमाथि परिवारले गरेको हिंसालाई गाउँमा नेता र अगुवा मिलेर धेरै पटक सामसुम पारिएको थियो । तर, उनी यस पटक बुवा रामप्रसादको सहयोगमा जिल्ला प्रहरी कार्यालयमा उजूरी दिने तयारीमा छिन् ।
तारावतीकी बहिनी २१ वर्षीय कृष्णावतीको उनकै देवर दिनेश कुमार हरिजनसंग विवाह भएको छ । उनलाई पनि दाइजो नल्याएको भन्दै परिवारले घर निकाला गरिदिएपछि माइतीमा बस्दै आएकी छन् । माइतीमा बस्दै आएकी कृष्णावतीले भनिन् ‘छोरी जेठको अलक्षण महिनामा जन्मेको भन्दै श्रीमान, सासु सुसुरा लागेर धेरै पटक मार्न खाजे,ज्यान जोगाउन छोरी साथमा लिएर माइतीमा छु ।’
छोरीहरूलाई नेपालगन्ज लिएर आएका बुवा रामप्रसादले पीडक ज्वाई र सासु ससुरालाई कारवाही र छोरीहरूको न्यायका लागि प्रहरीमा उजूरी दिने बताए ।
कृष्णावतीले भनिन् ‘मेरो सात महिनाको छोरीलाई श्रीमान र सासु ससुराले कुटेर घाइते बनाए । छोरीको उपचार मेडिकलमा गरे ।’ पीडितका बुबा रामप्रसादले पत्रकारसंग कुरागर्दै छोरीको न्यायका लागि सहयोग गरिदिन आग्रह समेत गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख बसन्त पन्तले यो विषयमा बुझेर कानुन बमोजिम आरोपितलाई कारवाही अघि बढाईने बताउनुभयो । उहाँले दोषीमाथि अनुसन्धान अघि बढाउने जानकारी दिदैँ सजिलै उन्मुक्ति नपाउने स्पष्ट पार्नुभयो ।
प्रकाशित मिति २०७२ पुस १४ गते मंगलवार
Comment Here!