सानै उमेरमा प्रेम विवाह गर्ने महिलाले विवाह दर्ताको कानुनी प्रक्रियामा ध्यानै दिदैनन् । तर, जब समस्यामा पर्छन् र अधिकार खोज्न निस्कन्छन्, उनीहरूसँग वैधानिक कागजात नै हुँदैन ।
भिम सिजापति
दैलेख । सानै उमेरमा विवाह गरेका दैलेखका जुना र चन्द्रालाई अहिले पछुतो भएको छ । दैलेख जगनाथ ८ का प्रेमबहादुर थापा र जुना रोकायले २०६४ सालमा कक्षा ९ मा पढ्दा—पढ्दै प्रेमविवाह गरेका थिए । त्यतिबेला प्रेम २५ र जुना १४ वर्षकी थिईन् । विवाह गरेको साढे दुई वर्षसम्म यो जोडी खुसी नै थियो । घरको कामले गर्दा जुनाले माइतीमै बसेर आफ्नो पढाइलाई निरन्तरता दिईन् । अहिले उनी नारायण क्याम्पस रामपुर दैलखमा विएड तेस्रो वर्षमा पढ्दैछन् ।
घरपरिवारले बुहारीले पढ्नु हुँदैन घरको काम गर्नुपर्छ भन्ने सोच राख्थ्यो । तर, जुनाले हार नमानी पढाईलाई निरन्तरता दिईन् । जेठाजु र ससुराले २०६६ सालमा घरबाट निकालेपछि जुनाले जिल्ला अदालतमा अंश पाउँ भनी निवेदन दिईन् । त्यसपछि प्रेमले पनि जुनालाई साथ दिन छाडे । ९ चैत २०६६ मा जेठाजु र ससुराले एक लाख रुपैयाँ सुत्केरी खर्च दिएर जुना र प्रेमलाई छुटाइदिए । त्यसको १२ दिनपछि प्रेमले दैलेख जिल्ला मेहेलतोली गाविसकी युवतीसँग दोस्रो विवाह गरे ।
आफ्नो बारेमा केहि बुझ्ने नहुँदै विवाह गरेका कारण अहिले जिन्दगी अलपत्र भएको जुना बताउँछिन् । आफूसँगै बाल क्लबमा काम गरेका साथीहरू कोहीले जागिर खाएको र कोही अहिले ढुक्कका साथ उच्च शिक्षा पढ्दैछन् । तर, आफूले आफ्नो खट्टामा बन्चरो हानेको चोट सहनु परेको उनको गुनासो छ । साथमा रहेको एउटा छोरालाई कसरी पढाउने भन्ने समस्यामा परेकी जुना विवाह दर्ताको प्रमाण नहुँदा कानुनी लडाई लड्न समस्या भएको बताउँछिन् ।
सुरुमा श्रीमानले निकै माया गर्ने भएकाले विवाह दर्ताका बारेमा चासो नदिएको जुनाको भनाइ छ । अंशका लागि पनि विवाह दर्ता चाहिन्छ भनेपछि अहिले जुना प्रमाण जुटाउनै लागेकी छन् । जिल्ला प्रहरी कार्यालयमा सात दिन भित्र विवाह दर्ता गराउँछु भनेर कागज गरे पनि हाकाहाकी दोस्रो विवाह गरेको स्वीकार गर्ने प्रेम भन्छन्, ‘पहिला त मैले मनपराएर नै विवाह गरेको थिएँ, तर अहिले घरपरिवार र व्यक्तिगत कारणले उनीसँग बस्न मन लागेन ।’
दैलेख नारायण नगरपालिका ८ तर्ताङकी २६ वर्षीया चन्द्रा बोहोरा अहिले नयाँ बजार दैलेखमा तरकारी तथा फलफुलको पसल गरेर बसेकी छन् । कक्षा ९ मा पढ्दा पढ्दै १५ वर्षको उमेरमा नारायण नगरपालिका २ जारकोटका कनक थापासँग उनको मागि विवाह भएको थियो । विवाह गर्दा कनक १८ वर्षका थिए । चन्द्राले बिहे भएको एक वर्ष पछि १६ वर्षको उमेरमा छोरा जन्माईन् । विवाह भएको एक दुई वर्षसम्म यो जोडी निकै खुसी थियो । विवाहपछि पनि चन्द्राले आफ्नो पढाइलाई निरन्तरता दिन खोजेपछि ‘बुहारीले घरको काम छोडेर पढ्न थालेको’ भन्दै परिवारका सदस्यले मन पराएनन् । घरायसी विवाद विस्तारै बढ्दै गयो । अन्तत यो जोडी छुट्टिने अवस्थामा पुग्यो ।
चन्द्रा दुधे छोरा सहित माइतीको शरणमा गइन् । अहिले उनलाई उमेर नपुग्दै विवाह गरेकोमा पछुतो छ । उनी भन्छिन् ‘पढ्ने बेलामा विवाह ठूलो लाग्यो । बाबु आमाले भनेको कुरा नै सबै भन्दा ठुलो हो जस्तो लाग्यो । अहिले पछुतो मानेर के गर्नु ?’ उनलाई अहिले सन्तानको पालनपोषणको चिन्ता छ । भन्छिन्, ‘उसले मलाई छोडेर घर न घाटको बनायो । अब यो छोरालाई कसरी पाल्ने भन्ने चिन्ताले पिरोल्छ । केहि गर्नुपर्छ भन्ने अठोट लिएर व्यवसाय सुरु गरेकी छु ।’ विवाह दर्ता नभएका कारण उनले अदालती प्रक्रिया अघि बढाउन सकिरहेकी छैनन् ।
महिला तथा बालबालिका कार्यालय दैलेखका कार्यालय प्रमुख मनसरा शाही विवाह दर्ता गराउनका लागि महिला चनाखो नभएकै कारण अपराध गर्नेलाई कानुनी प्रक्रियामा ल्याउन अप्ठ्यारो भइरहेको बताउँछिन् । उनी भन्छिन् ‘काखमा बच्चा बोकेर कलिला किशोरी पीडा पोख्न आउँछन् । विवाह दर्ता छैन भने हामीले कसरी कानुनी कारबाहीको बाटोमा जानुस् भन्ने ?’
महिला अधिकारकर्मी पार्वती विसुन्केका बिचारमा विवाह गर्ने वित्तिकै नागरिकता बनाउनु पर्छ र विवाह दर्ता गर्नुपर्छ भन्ने चेतना फैलाउन नसकेकै कारण प्रमाणको अभावमा महिलालाई न्यायको लडाई लड्न कठिन भइरहेको छ । विवाह पछि जुनी जुनी उसकै हुन्छु भनेर विवाह दर्ता नगरी बस्ने सोच बदलेर नागरिकता बनाउने र विवाह दर्ताको महत्वबारे महिलालाई सचेत गराउन आवश्यक रहेको उनको धारणा छ ।
१५ वर्षकै उमेरमा विवाह गरेकी चन्द्राको घरवार विग्रियो। अहिले गुजाराको लागी सदरमुकाममा किराना पसल गर्दै छन्
समाजमा बालविवाह निरुत्साहित गर्ने प्रयत्न पनि जारी छ । पुख्र्यौली रूपमा पुरोहित काम गर्दै आएका दैलेखका नरेन्द्र उपाध्यायले पाँच वर्षदेखी बालबिवाहलाई बहिष्कार गर्दै आएका छन् । विवाह गराईदिन निम्ता आयो भने जोडी सानै उमेरको भए विवाह नगर्न सल्लाह दिने गरेको उनले बताए । उनले भने, ‘अहिलेसम्म मैले पाँच जोडीको विवाह बहिष्कार नै गरिसँके ।’ जिल्ला बाल अधिकार अधिकृत मोहन पौड्यालको भनाइमा बालविवाह गर्न हुँदैन भन्ने जनचेतनामुलक कार्यक्रम गर्ने अभियान सुरु भएपछि यो प्रवृत्तिमा तुलनात्मक रूपमा कमी आउँदै गएको छ, तर पुरै रोकिएको छैन ।
बालविवाह हुने दक्षिण एसियाली मुलुकहरूमध्ये नेपाल तेस्रोमा पर्छ । नेपाल स्थित राष्ट्रसंघिय जनसंख्या कोषद्वारा सन् २००३ मा सार्वजनिक एक तथ्याङ्कअनुसार, नेपालमा ६० प्रतिशत किशोरीले १८ वर्ष नपुग्दै विवाह गरेका हुन्छन् । सरकारले सन् २००६ मा गरेको एक अध्ययन अनुसार, १५ वर्षदेखि १९ वर्ष उमेर समूहका किशोरीमध्ये एकतिहाइले विवाह गरिसकेका हुन्छन् ।
कानुनमा दस वर्ष नपुगेकी बालिकाको विवाह गरे/गराएमा छ महिनादेखि तीन वर्षसम्म कैद सजाय र रु. एक हजारदेखि १० हजारसम्म जरिवाना वा दुवै सजाय हुने ब्यवस्था छ । १० वर्षदेखि १४ वर्ष नपुगेकी बालिकाको हकमा तीन महिनादेखि एक वर्ष कैद र रु. पाँच हजारसम्म जरिवाना वा दुवै सजाय, तथा १४ वर्ष माथि देखि १८ वर्ष नपुगेकी महिलाको हकमा ६ महिनासम्म कैद र रु. १० हजार जरिवना वा दुवै सजाय गर्ने व्यवस्था कानुनले गरेका छ । त्यस्तै जानी जानी तोकेको विवाहको काम गर्ने पुरोहित, लमी र अरु मद्दतीहरूलाई एक महिना कैद वा रु. एक हजारसम्म जरिवाना हुने व्यवस्था छ । नेपाल बार एसोशियसन दैलेखका अध्यक्ष सुरेन्द्र अधिकारी कानुनलाई व्यावहारिकता प्रदान नगर्दा नै समस्या उत्पन्न भएको बताउँछन् । अधिकारी भन्छन्, ‘कानुनमा यो व्यवस्था छ भनेर जनस्तरसम्म प्रचार/ प्रसार नहुँदा बालविवाह रोकिन सकेको छैन ।’
(भिम दैलेखको धु्व्रतारा एफएममा आबद्ध छन् ।)
प्रकाशित मिति: २०७२ पुस १६ गते विहीवार
Comment Here!