महिला खबर
रुपन्देही । एचआइभी सङ्क्रमित आमाबाट जन्मने बच्चामा एचआइभी सङ्क्रमण हुन नदिन रुपन्देहीमा अभियान सुरु भएको छ । जिल्लामा तीन वटा अस्पतालसहित १८ वटा बर्थिङ सेन्टरमा अभियान सुरु भएको हो ।
समुदायमा आधारित आमाबाट बच्चामा सर्ने एचआइभी एड्स रोकथाम कार्यक्रम जिल्लाका १८ वटै बर्थिङ सेन्टरका साथै आम्दा अस्पताल बुटवल, देवदह मेडिकल कलेज देवदह र युसिएमएस भैरहवामा सुरू भएको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका निमित्त प्रमुख टीकाराम अधिकारीले बताउनुभयो ।
सङ्क्रमित आमाबाट बच्चामा एचआइभी सङ्क्रमण हुने सम्भावना २० देखि ४५ प्रतिशत हुने भन्दै यो कार्यक्रमलाई प्रभावकारी बनाउन सके उक्त दर दुई प्रतिशतभन्दा तल झर्ने राष्ट्रिय एड्स तथा यौन रोग निवारण केन्द्रका जनस्वास्थ्य अधिकृत कृष्णप्रसाद नागिलाले बताउनुभयो । उहाँका अनुसार सङ्क्रमित आमाबाट बच्चामा सर्ने सम्भावना गर्भावस्थामा पाँचदेखि १०, सुत्केरी हुनेबेला १० देखि १५ र स्तनपान गराउँदा पाँचदेखि २० प्रतिशतसम्म हुन्छ ।
आमाबाट बच्चामा सर्न सक्ने सङ्क्रमण रोक्न गर्भवती महिलालाई औषधि तथा परामर्श सेवा दिइने र त्यसका लागि सेवा दिने स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ ।
सन् २००५ बाट नेपालमा यो कार्यक्रम लागू भए पनि रुपन्देहीमा यसैवर्षबाट सुरु गरिएको हो । हाल यो कार्यक्रम लुम्बिनी अञ्चलका सबै जिल्लासहित देशभर १५ जिल्लामा रहेको छ ।
यो वर्षको अन्तसम्म ६२ वटा जिल्लामा पुर्याउने लक्ष्य रहेको केन्द्रका अधिकृत नागिलाले बताउनुभयो ।
प्रकाशित मिति : २०७२ पुस १६ गते विहीवार
Comment Here!