दुःखीको सेवा मुक्त कम्लरी सपना


प्रकाशित मिति :2016-01-01 11:44:48

बल्लतल्ल कम्लरीबाट मुक्त भएर विद्यालय र उच्चशिक्षा पढिरहेका पूर्व कम्लरीको सपना साँच्चिकै महान छ । भन्छन्, ‘हिजो हामीले दुःख पायाैं, अब दुःखीको सेवा गर्छौं ।’

निर्मला ठकुराठी

nnकञ्चनपुर । कमलरी मुक्तीको घोषणापछि गैर—सरकारी संस्थाको सहयोग पाएका केही पुर्व कमलरीले आफ्नो जीवनमा लोभलाग्दो प्रगति गरिरहेका छन् । मालिकको घरबाट छुटकारा पाएपछि उच्च शिक्षा अध्ययन गर्ने समयसम्म विभिन्न कठिनाई भोगे । अहिले प्राबिधिक शिक्षा अध्ययन गरिरहेका पुर्व कमलरीहरू आफूले सिकेको सीपले जीवन सहज बनाइरहेका छन् ।

पाँच वर्षसम्म अरुको घरमा कमलरी बसेकी कञ्चनपुर उल्टाखामकी राजकुमारी चौधरी अहिले एच.ए दोस्रो वर्षमा पढ्दैछिन् । घरको आर्थिक अवस्था कमजोर भएकाले सानै उमेरमा अर्काको घरमा काम गर्न बसेकी चौधरी अहिले मालिकको घरमा भोग्नु परेको पीडा सम्झँदा पनि मन जिरिङ्ग हुने बताउँछिन् । आफ्नो विगत सम्झँदै चौधरी भन्छिन् ‘त्यस्तो नरक जस्तो ठाँउबाट कसरी यस्तो सुन्दर जीवनमा आईपुगे विश्वास गर्नै गाह्रो हुन्छ ।’

बिहान उज्यालो नहुँदै सुरु हुने घरको काम राती अबेरसम्म पनि सकिँदैनथ्यो । त्यसमाथि मालिकले गर्ने दुर्व्यवहार खपिनसक्नु । दिनदिनैको गाली जति काम गरे पनि नहुने । सम्झँदा अहिले पनि नराम्रो लाग्छ । राजकुमारी भन्छिन, ‘बिश्वासै लाग्दैन अहिलेको जीवन ।’

उनी गैर—सरकारी संस्था बेसको सहयोगमा १० वर्षको उमेरमा कक्षा ३ मा भर्ना भईन् । उनी भन्छिन्, ‘मुक्त भएपछि घरमै पढें, बेसले सञ्चालन गरेका कक्षाहरूमा सहभागी भएँ ।’ त्यसपछि उनी एकै पटक तीन कक्षामा पढ्न स्कुल गइन् । कक्षा पाँचसम्म गैरसरकारी संस्था बेसकै सहयोगमा पढेपनि त्यसपछि कसरी पढ्ने भन्ने समस्या थपियो । जहाँ इच्छा त्यहाँ उपाए भने जस्तै उनको पढ्ने इच्छालाई कमजोर आर्थिक अवस्थाले रोकेन । कक्षामा सधैँ प्रथम हुने भएकोले उनलाई थप अध्ययनका लागि विद्यालयले सघायो ।

विद्यालयले निःशुल्क पढाउने निर्णय गरेपनि कापी, कलम र पोशाकको व्यवस्था कसरी गर्ने समस्या भयो । हप्तामा दुई दिन अरुको घरमा काम गरेर त्यो खर्च जुटाइन् ।

kk

जसोतसो दश कक्षामा पुगेकी राजकुमारीलाई अतिरिक्त गणित ट्युसन पढ्नलाई खर्च भएन । आमाका पुराना गहना र आफ्नो नाकको फुली बेचेर पढाई खर्च जुटाईन् । एसएलसी पास गरिन्, तर त्यसपछि उच्च शिक्षा कसरी अध्ययन गर्ने अर्को समस्या थपियो । उच्च शिक्षा पढाउने सर्तमा कञ्चनपुरबाट घरेलु कामदारका रुपमा काठमाडौं पुगिन् । तर, मालिकले नपढाएर घरको काममा लगाउन थालेपछि फेरि कञ्चनपुर नै फर्किइन् ।

त्यसपछि सहयोगीको खोजीमा हिडिन् । प्लान नेपालको सहयोगमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले कमलरीलाई सहयोग गरिरहेको थाहा पाएपछि उनी त्यतै लागिन् । एनएनएसडब्लूएमा आफ्नो सबै समस्या सुनाएपछि हेल्थ असिस्टेन्ट (एचए) पढ्ने सहयोग पाइन् । उनी अहिले आफ्नो सपना पुरा गरिरहेकी छन् ।

सर्मिला चौधरी अहिले नर्सिङ्ग पढिरहेकी छन् । सानैदेखि साहुको घरमा काम गरेकी शर्मिला परिवारले सहयोग नगर्दा पनि आफ्नै जिद्धिले विद्यालय गएको बताउँछिन् । साहुका छोरा—छोरी विद्यालय गएको देखेर पढ्न मन लागेको उनी बताउँछिन् ।

बिहानै उठेर घरको सबै काम सकेर १० बजे स्कुल जाने र स्कुलबाट आएपछि सबै काम गरेर राती सुत्ने समयमा गृहकार्य गरेर आफ्नो पढाईलाई अगाडी बढाएको शर्मिला बताउँछिन् । मालिकको जमीनमा झुपडी बनाएर बसेको उनको परिवारको सम्पूर्ण काम भनेको मालिकको खेतीपाती र घर सम्हाल्न सघाउनु थियो ।

परिवारका सबैले काम गरे बापत खानामात्रै पाए पनि अन्य खर्च नपाउँने भएकाले घरमा पालेको कुखुरा बेचेर पढाई खर्च जुटाएको बताउँछिन् उनी । ८ कक्षा पढ्दा पढ्दै मुक्त भएपनि संघसंस्थाकै सहयोगमा एसएलसीसम्म अध्ययन गरेकी शर्मिला अहिले मुक्त कमलरी विकास मञ्चको सहयोगमा नर्सिङ्ग पढ्दैछिन् । मालिकको घरमा बस्दा बिमारी हुँदा औषधी नपाएको घटना सम्झँदै उनी भन्छिन् ‘नर्सिङ पढेर दुःखीको सेवामा लाग्ने छु ।’

पार्वती चौधरीले पनि सानैदेखि आमा बुवासँगै मालिकको घरमा काम गरिन् । १० वर्ष मालिकको घरमा बिताएकी पार्वती काम नगरे बिहान साँझको छाँक टार्न मुश्किल पर्ने भएकाले बाध्यताले बाल्यकाल दुःखमा बितेको बताउँछिन् । आफू जस्तै धेरै मुक्त कमलरीको बाल्यकाल आधा पेट खाएर दुःखमा बितेको बताउने पार्वती भन्छिन् ‘पुरानो पीडाले अहिले पनि झस्काई रहन्छ ।’

एनएनएसडब्लूएको सहयोगमा एचए अध्ययन गरिरहेकी उनी स्कुलमा राम्रोसँग पढ्न नपाएको कारण अहिले पढ्न समस्या भइरहेको बताउँछिन् । उनी भन्छिन् ‘हिम्मत हारेको छैन, धेरै मेहेनेत गर्छु ।’

कञ्चनपुरमा कमलरी प्रथा उन्मुलन परियोजना र मुक्त कमलरी विकाश मञ्चले संयुक्त रुपमा ५ सय २० जना मुक्त कमलरीलाई अध्ययनको लागि सहयोग गरिरहेका छन् । अहिले २ जनाले एचए र एक जनाले १५ महिने जेटिए पढिरहेको कमलरी प्रथा उन्मुलन परियोजनाका शिक्षा अधिकृत हिक्मत दमाईले बताए ।

त्यस्तै मुक्त कमलरी विकास मञ्चको सहयोगमा १ जना नर्सिङ्ग र ६ जना प्राबिधिक शिक्षामा नयाँ भर्ना लिएको परियोजना सहायक सुजाता चौधरीले बताइन् । अहिले कञ्चनपुरमा ३८ मुक्त कमलरीले उच्च शिक्षा अध्ययन गरिरहेका छन् । कक्षा २ देखि स्नातक तहसम्म अध्ययन गरिरहेका मुक्त कमलरीहरू ७ वर्षदेखि २५ वर्षसम्मका रहेको परियोजना शिक्षा अधिकृत दमाइको भनाइ छ ।

नेपाल सरकारको नीति अनुसार आधारभुत तहमा १५ सय, माध्यमिक तहमा १८ सय, उच्च माध्यमिक तहमा ५ हजार र उच्च शिक्षा अध्ययन गर्ने कमलरीका लागि १० हजार रकम सम्बन्धित शैक्षिक संस्थामा बुझाउने गरिएको सहायक जिल्ला शिक्षा अधिकारी पदमराज जोशीले बताए । उनका भनाइमा, ‘आफन्त नभएका ४७ जना मुक्त कमलरीकालाई छात्रबासमा राखेर अध्ययन गर्ने व्यवस्था मिलाइएको छ ।’

कञ्चनपुरमा १२ सय ३५ मुक्त कमलरी छन । ७ सय १५ कमलरी विद्यालय बाहिर रहेका परियोजना अधिकृत विवेचना बिष्टले बताईन् ।

प्रकाशित मितिः २०७२ पुस १७ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: