रमला सिंगक
सुनसरी । दुई महिला वीचको विवाद सुल्झाउनुको सट्टा एक पक्षीयरुपमा प्रहरी जवानले शुक्रबार साँझ सार्वजनिक स्थलमा महिलालाई मुक्का र लाती प्रहार गरेका छन् ।
सुनसरी मोरङको औधोगिक करिडोर क्षेत्रमा कार्यरत सिआरभी युनिटका प्रहरी जवान कृष्ण चौलागाईले वर्दीमै रहेको बेला इटहरी उपमहानगरपालिका जनता बस्तीमा सोही वडाकी रेविका राईलाई मरणासन्न हुनेगरी कुटपिट गरेका हुन् ।
प्रहरी जवान चौलागाईले आफ्नै घरभित्र बसेकी रेविकालाई कपालमा जगल्टाउदै तानेर बाहिर सडकमा निकाली बुट र मुक्का प्रहार गर्दा स्तन, टाउको र ढाडमा गम्भीर चोट लागेको छ । उनको इटहरीस्थित एपेक्स अस्पतालमा उपचार भइरहेको छ ।
घट्ना विवरण अनुसार प्रहरी जवान चौलागाईले रेविकाका श्रीमानलाई सार्वजनिक यातायातको साधन सिटी सफारी ठेक्कामा चलाउन दिएका थिए । उक्त साधन चलाएवापत भएको आम्दानीका बारे प्रहरी जवान चौलागाईकी श्रीमती सरिता र रेविका वीच विवाद भएको थियो । उक्त विवाद मिलाउनुको सट्टा चौलागाईले आफ्नै छिमेकी राइलार्ई कुटपीट गरेका हुन् ।
चौलागाईले आफ्नो श्रमितीलाई कुटपिट गरेको भन्दै रेविकामाथि जथाभावी बुट र मुक्का प्रहार गरेपछि स्थानीय महिलाले छुटाउने प्रयास गरेपनि नसकेको रेविकाकी बहिनी प्रियाले बताइन् । उनले भनिन्, ‘दिदीलाई प्रहरी भएर पनि चौलागाईले भएभरको बल निकालेर लछारपछार गर्दै लात्ती र मुक्काले जथाभावी कुटे ।’
भीड जम्मा भएपछि मात्र चौलागाईले कुटपिट गर्न छाडेका थिए । उनलाई स्थानीय महिलाले कव्जामा लिएर जनता बस्ती प्रहरी चौकीमा जिम्मा लगाएका छन् । प्रहरी चौकीले इलाका प्रहरी कार्यालयलाई जिम्मा दिएको छ । स्थानीय महिलाले वर्दीमा रहेका प्रहरीले विवाद सुल्झाउनुको सट्टा एकपक्षीय रुपमा छिमेकी महिलामाथि कुटपिट गर्नु अशोभनीय र निन्दनीय भएको भन्दै कारवाहीको माग गरेका छन् । महिला महिला वीचको विवादमा इप्रका इटहरीका प्रहरी निरिक्षक राजन कार्कीले महिलामाथि हातपात गर्ने प्रहरीमाथि विभागीय कारवाही हुने आश्वासन स्थानीय महिलालाई दिएका थिए ।
प्रकाशित मिति: २०७२ पुस १९ गते अाइतवार
Comment Here!