महिला खबर
काठमाडौं। नेपाली काग्रेंस निकट नेपाल महिला संघका अध्यक्ष डिला संग्रौलाले पार्टीमा पदाधिकारी सहित ३३ प्रतिशत महिला सहभागितालाई विधानमै व्यवस्था गर्न माग गर्दै देशभरबाट पार्टीको विधान संशोधन समितिमा प्रस्ताव पठाएको जानकारी दिनुभएको छ। आसन्न १३ औं महाधिवेशनलाई मध्यजनर गरी पार्टीमा महिला सहभागिता बढाउन र दवाव सृजना गर्नका लागि संघले देशभर महिला जागरण अभियान सम्पन्न गरेको अध्यक्ष संग्रौलाले बताउनुभयो। अभियानले महिलामा उत्साह पैदा गर्नुका साथै नेतृत्वमा आउनु पर्छ भन्ने तिव्र इच्छा पैदा भएको उहाँको भनाइ छ।
महिला खबर डटकमसँग कुरागर्दै अध्यक्ष संग्रौलाले भन्नुभयो ‘जागरण अभियानमा क्रियाशील महिलालाई आफ्नो ठाउँबाट पार्टी सदस्यता लिन भनेका छौं, पहिलेको तुलनामा अहिले महिला सदस्य संख्या बढ्ने छ।’
उहाँले भन्नुभयो ‘नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा जम्मा १७ प्रतिशत महिला पार्टी सदस्यको संख्या थियो, भने ७५ जिल्लामा जम्मा एक जना महिलामात्र जिल्ला सभापति पदमा पुग्नु भएको थियो। अव यो संख्या बढ्नुपर्छ।’
उहाँले पार्टीमा महिलाले सजिलै स्थान नपाउने भएकाले सबै महिलाले आफ्नो ठाउँबाट पहल गर्नुपर्ने जिकिर गर्नुभयो। जिल्लादेखि केन्द्रसम्म पार्टीका हरेक निकायमा महिलाको ३३ प्रतिशत सहभागिता अनिवार्य गराउनुपर्ने कुरा देशभरबाट उठेकाले आफूहरूको माग सम्बोधन हुनेमा पूर्ण विश्वास राखेको अध्यक्ष संग्रौलाको भनाइ छ।
उहाँले पार्टीको विधानमै पदाधिकारीमा महिला महिला विच खुल्ला प्रतिस्पर्धा गराउने व्यवस्था गर्ने माग समेत संघले उठाएको बताउनुभयो।
नेपाली कांग्रेसले पार्टीको १३ औं महाधिवेशन फागुन २० देखि २३ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ।
कांग्रेसले गाउँ र नगरको अधिवेशन माघ १५ गते, निर्वाचन क्षेत्रमा माघ २२ गते र जिल्ला समितिको अधिवेशन माघ २५ गतेका लागि तय गरेको छ।
प्रकाशित मितिः २०७२ पुस २० गते साेमवार
Comment Here!