परिवार र राज्य दुबै महिलामाथि लगानी गर्न हिच्किचाउँछन् : अध्यक्ष रिजाल


प्रकाशित मिति :2016-01-04 12:06:30

राज्यले महिलालाई ऋण पत्याउँदैन, परिवारले लगानीमा बिश्वास गर्दैनन्। परिणाम उद्यम र व्यवसाय गर्न सक्षम महिला पनि घरमा खुम्चिएर बस्न बाध्य हुन्छन्। महिला खबर डट कम का लागि दुर्गा कार्कीसँग कुरा गर्दै दक्षिण एशियाली महिला विकास मञ्चका अध्यक्ष प्रमिला रिजालले भनिन्, ‘तर आफनै बलबुतामा पछिल्लो समय लघु उद्यममा महिलाले आश लाग्दो उपस्थिती देखाएका छन्।’ प्रस्तुत छ अध्यक्ष रिजालसँगको कुराकानी।

Prmila rijal 2

नेपाली महिलामा उद्यमशील हुनुपर्छ भन्ने चेतना कतिको छ ?

बीस वर्ष अगाडी मैले यो क्षेत्रमा काम शुरु गर्दा एकदमै नयाँ थियो। अम्बिका श्रेष्ठ, म्यागी शाह र शान्ति चड्डा व्यवसायिक क्षेत्रमा महिलालाई कसरी अघि बढाउने भनेर लागिरहनु भएको थियो। नेपालमा महिला उद्यमशीलता बढाउनुपर्छ भनेर यस्तो पहल र अभियान सुरु गर्ने उहाँहरू हो। त्यतिखेर महिला उद्यमी भनेर महत्व थिएन। महिलाले व्यवसाय किन गर्नुपर्‍यो र ? भन्ने मान्यता थियो। अझै सम्पन्न परिवारका महिला छन् भने तपाइको बुवाको मनग्य सम्पत्ति छ किन दुःख गर्नुपर्‍यो? छोरीलाई आयआर्जनको आवश्यकता नै छैन भन्ने चलन थियो। अहिले यो सोचमा निकै परिवर्तन आएको छ। हामी जोसँग भेटेपनि तपाई के गर्दै हुनुहुन्छ भनेर सोध्छाैं। अहिले समाजमा महिला पनि आर्थिक काममा सक्रिय रहेर आत्मनिर्भर हुनुपर्छ भन्ने सोच आएको छ। तर, अझै यतिले मात्रै पुग्दैन।

नेपालमा अहिले कुन क्षेत्रमा महिला उद्यमी धेरै छन् ?

सुरुदेखि नै महिला सिमित क्षेत्रमा मात्रै थिए। हस्तकला, घर मै बसेर गर्न सकिने सानातिना कामहरू। परिकार बनाउने जस्ता कामबाट महिला उद्यमशीलता विकास हुँदै आएको हो। पछि यसलाई व्यवसायिक बनाउनुपर्छ भन्ने सोच पनि आउन थाल्यो। बैंक र पर्यटन जस्ता सेवा क्षेत्रमा महिला थोरै थिए। अहिले यसमा पनि बढ्दैछन्।

नेपालमा महिलाले जोखिम मोलेर ठुला व्यवसायमा लगानी गर्नसक्ने अवस्था छ ?

यस्तो सोच बढ्दै छ। अहिले भैरहेको सानो दायराबाट उनीहरू निस्किन चाहिरहेका छन्। अहिले महिलामा म पनि जोखिम र चूनौति लिन सक्छु भन्ने आत्मविश्वास आइरहेको छ। तर, अझैपनि उनीहरूमा परिवार, समाज र राज्यले विश्वास गर्न सकिरहेको छैन। महिलाले यत्रो ठुलो व्यवसाय गर्न सक्छन् र ? आफूले दुःख गरेर कमाएको सम्पत्ति डुब्ने पो हो की भन्ने खालको सोचाइ छ। पुरुषप्रति जति निर्धक्क भएर परिवारका सदस्यले लगानी गर्छन् त्यति नै लगानी छोरी, बहिनीहरूमा गर्नु परेमा धेरैपटक सोच्छन्।

लगानी गर्नुको साटो किन काम गर्नुपर्‍यो ? दुःख पाएको छैन भन्ने कुरा धेरै हुन्छ। दुःख पाएरमात्रै जिन्दगीमा आत्मनिर्भर बन्ने हैन नी। महिला पुरुष दुबै व्यवसायी भए परिवार, समाज र देशलाई नै फाइदा हुने हो। यसबाट अर्थतन्त्र दह्रो हुने हो। आवश्यकता वा परिस्थितीलेमात्र मान्छेलाई आत्मनिर्भर बन्नुपर्छ भन्ने सोचले अघि बढ्ने हो भने आर्थिक क्षेत्रमा हाम्रो विकास र परिवर्तन कहिल्यै हुँदैन।

राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन सहयोग पुग्नेगरि महिलाले लगानी गरेका क्षेत्र छन् ?

औलामा गन्न सकिने एकदमै थोरै छन्। यसमा पनि कि परिवार कै व्यवसायलाई निरन्तरता दिने महिला छन्। आफ्नै बुता र परिकल्पनाले सुरु गर्ने एउटै महिला हो अम्बिका श्रेष्ठ। उहाँले होटेल व्यवसायका माध्यमबाट पर्यटन क्षेत्रको परिभाषा नै अर्को बनाइदिनुभयो। अरु पनि छन्, तर परिवारबाट भएका व्यवसायलाई निरन्तरता दिएर आयस्रोत बढाउन नयाँ लगानी गरेका छन्। त्यसैले आफैँले व्यवसाय सुरु गर्ने संस्कार महिलामा अझैपनि विकास हुन सकेको छैन। नेपालमा मात्रै होइन सार्कका ८ वटा देश मै यस्तै छ। म सार्कका अन्य देशमा बिभिन्न कामका शिलशिलामा जाँदा त्यहाँ पनि एकदमै कम महिला पाएँ, जो जोखिम मोलेर व्यवसाय आफैँले सुरु गरेर पुरुषसरह ठुला उद्यमीको वर्गमा पुगेका छन्।

Pramila

सामाजिक र राजनीतिक रुपमा सार्क क्षेत्रमा धेरै प्रगती भएको छ। यस क्षेत्रमा महिला प्रधानमन्त्री बनेका छन्। राष्ट्रपति बनेको छन्। हामीले सामाजिक क्षेत्रमा धेरै विकास गरेको छौं, पुरस्काहरू पाएका छौं। नेपालमा ३३ प्रतिशत महिला सभासद बनाउन सफल पनि भयौं, जवकी सार्क कै अन्य देशमा यस्तो छैन, तर अर्थिक क्षेत्रमा हामी पछाडी परे कै हौं।

सार्क कै कुरा गर्दा कुन देशमा महिला उद्यमीलतामा अघि छन् ?

भुटान र श्रीलंकाका महिला अघि छन्। यसो हुनुको पनि कारण छ। सामाजिक संस्कारले पनि धेरै फरक पार्छ। श्रीलंकामा ९८ प्रतिशत साक्षरता छ। सबै शिक्षित छन्। यसले गर्दा मान्छेमा आत्मविश्वास वढ्दो रैछ। यस्तै भुटानमा पनि शिक्षा निःशुल्क छ। भुटानी महिला देखेर म छक्क परेँ। उनीहरू पर्यटन क्षेत्रमा पुरुषभन्दा निकै अगाडी छन्। मैले त्यहाँका महिला कुनैपनि क्षेत्रमा संकुचित भएको देखिनँ। उनीहरू एकदमै सक्षम छन्। पढेलेखेका छन् र व्यवसायमा लगानी गर्न हिच्किचाउँदैनन्। परिवारले पनि उनीहरूलाई सहयोग गर्छ। त्यसैले त्यो देशको सामाजिक संस्कार र शिक्षाको अवसरले पनि धेरै फरक पार्दो रहेछ।

सार्क क्षेत्रमा नेपालको अवस्था कस्तो छ?

आर्थिक क्षेत्रमा हामी त्यती नराम्रो नभएपनि श्रीलंका र भुटान भन्दा हामी पछाडी नै छौ। तर, वंगलादेश, पाकिस्तान, भारतका तुलनामा नेपालका नीतिहरू भने लैगिंकमैत्री छन्।
म केही समय अघि इस्लामाबाद गएकी थिएँ। त्यहाँको एक टेलिभिजनले नेपालबाट पाकिस्तानले सिक्न सक्ने कुरा मलाई सोधेको थियो। मैले नेपालका नीति नियम महिलामैत्री छन्, राजनीतिक सामाजिक क्षेत्रमा यो कुरा सिक्न सकिन्छ भनेर जवाफ दिएकी थिएँ। संकुचित समाजमा महिलालाई निस्केर काम गर्न असजिलो हुन्छ।

महिला व्यवसायी हुन चाहन्छन्, उद्यमी बन्न चाहन्छन् भने उनीहरूलाई सहुलियत दरमा बिना धितो ऋण दिन राज्यले कस्तो व्यवस्था गरेको छ त?

यसका लागि राज्यले महिला उद्यमशीलता विकास कोष स्थापना गरेको छ। यसबाट पाँच लाख रुपैयाँ धितो नराखकिन ऋण पाइन्छ। यो ऋण अरु बैंकमा भन्दा एक प्रतिशत कम व्याजदरमा पाइन्छ। यो व्यवस्थाले महिलाले कुनै क्षेत्रमा लगानी गरेर व्यवसाय सुरु गर्छु भन्ने चाहेमा लिएर गर्न सजिलो हुनेछ। तर, गाउँघरका महिलालाई भन्दा पनि यो अलि शहरी क्षेत्रमा केही गर्न चाहने महिलाका लागि हो। गाउँका महिलाले गर्ने व्यवसाय लघु उद्यम हो जुन थोरै रकममा पनि सुरु गर्न सकिन्छ।

आर्थिक रुपमा महिलालाई शसक्त बनाउँदा उनीहरूमाथि हुने हिंसा पनि स्वत कम हुँदो रहेछ। यस तर्फ लक्षित कार्यक्रम छन् ?

महिलामाथि सामाजिक रुपमा जति विभेद भइरहेको छ, हिंसा भइरहेको छ, यो सवै गरिवीका कारणले हो। जवसम्म महिला आर्थिकरुपमा शसक्त भएर आत्मनिर्भर हुँदैनन्, तबसम्म उनीहरूमाथि हिंसा कम हुँदैन। हाम्रो आवाज नै यहि हो कि महिलाले आयआर्जन गर्न सक्ने वातावरण बनाउँ। उनीहरूलाई सक्षम बनाउँ। यसो भएमा घरभित्रका समस्या आधा घट्छन्।

आवाज उठाउन सवैभन्दा पहिला महिला सक्षम हुनुपर्‍यो। त्यसैले अर्थिक क्षेत्रमा भएका महिलाले उनीहरूलाई सीप सिकाइ सक्षम बनाउन आवाज उठाइरहेका छौं। समाजिक क्षेत्रमा भएका चूनौतिहरू बेचविखन गरीवी कम गर्न हामीले हिंसा पीडित महिलालाई आर्थिक रुपमा सक्षम बनाउन बिभिन्न संघसंस्थाको समन्वयमा काम गरिरहेको छौं।

2

आर्थिक क्षेत्रमा महिलाको ठूला भुमिका छ भनेर सोचमा परिवर्तन ल्याउन एकदम चूनौति छ। दुःख पाउँदा मात्रै लाग्ने हैन भनेर हामीले धेरै महिलालाई उद्यमशीलता तालिम दिएका छौं। तालिम लिएपछि उनीहरूले उत्पादन पनि गरे तर, बजार पाएनन्। त्यसैले हामीले वीन कोअपरेटिभ खोल्यौं र उनीहरूले उत्पादन गरेका वस्तुलाई बजारसम्म पुर्‍याउने काम गर्‍यौं। त्यसपछि महिलाले केही आम्दानी गर्न थालेपछि यसको महत्व बुझेको छन् र काममा लागेका छन्। नेपालमा अति राजनीतिकरणले गर्दा समाजले आर्थिक क्षेत्रको महत्व बुझेकै छैन। प्रत्येक कुराको समाधान राजनीतिमात्रै होइन। नागरिकका आधारभुत आवश्यकता राजनीतिले मात्रै पुरा गर्न सक्दैन।
नेपालमा महिलाका लागि सुरक्षित व्यवसाय के हो जस्तो लाग्छ यहाँलाई?

व्यवसाय यस्तो क्षेत्र हो जहाँ घाटा खानु पदर्नै, यो चाहिँ सतप्रतिशत सुरक्षित छ भन्ने हुँदैन। तर, केही कम जोखिमका क्षेत्र छन्, त्यो पर्यटन क्षेत्र हो। कृषि त झन राम्रो क्षेत्र हो। आफ्नै जग्गा जमीन हुन्छ। परिवार मै वसेर पुरानो शैलीलाई परिवर्तन गरेर अलिक आधुनिक प्रविधिमार्फत व्यवसायिक हुन कृषि क्षेत्र जस्तो सुरक्षित कुनैपनि क्षेत्र छैन। तर, दुर्भाग्य हामीसँग कृषिकालागि उपयुक्त वातावरण हुँदाहँुदै पनि हामीले केही गर्न सकिरहेका छैनौं।

अहिले गाउँ गाउँमा महिलाले होमस्टे मार्फत आम्दानी गरिरहेका छन्। नेपालका युवाहरू विदेशमा यति कष्टपुर्ण काम गर्न जान्छन्। आफ्नो देशमा कर्म गर्न नपाउने निराशाजनक स्थिति छ।

नेपालमा अनि सार्क क्षेत्रमा महिलाले उद्यमी हुनका लागि रुचि देखाएका कुन क्षेत्र पाउनुभएको छ ?

अवशर पाए सवै क्षेत्रमा उनीहरूको रुचि छ। जागरि खाइसकेपछि त्यही क्षेत्रमा लगानी गर्न चाहन्छन्। अहिले महिला सञ्चारमा, होटेल व्यवसाय, पर्यटन क्षेत्रमा धेरै छन्। महिलाले समूह बनाएर सेलरोटी बेचेर राम्रो आम्दानी गरेको छन्। त्यसैले महिलामा धेरै प्रगतीशील सोच आइसकेको छ। तर, सानो कुराबाट लगानी गर्ने सोच उनीहरूमा छ। उनीहरूले सुरु मै मझौला उद्योग स्थापना गर्न सक्दैनन्।

महिला साना साना व्यवसायमा निकै आवद्ध छन् भन्नुभयो, यसले देशको कुल गार्हस्थ उत्पादनमा पनि योगदान गर्न सघाएको छ ?

33

विश्व बैंकको तथ्याकं अनुसार नेपालमा साना तथा मझौला उद्यममा जम्मा २ प्रतिशत महिला छन्, र सार्क क्षेत्रमा १० प्रतिशत। सार्कका सबै देशमा ५० देखि ५१ प्रतिशत महिलाको जनसंख्या छ। यत्रो जनसंख्यामा जम्मा यति थोरै संलग्नता १ तर, अनौपचारिक क्षेत्रको श्रममा महिलाको ८० प्रतिशत संलग्नता छ, विशेष गरेर कृषिमा। यति ठूलो योगदान छ। तर, उनीहरूलाई सर्धैँभरि यहि स्तरमा राखेर भएन। अव यीनलाई व्यावसायिक बनाउनु पर्‍यो। यो सार्क क्षेत्रकै चुनौति हो।

यसलाई आर्थिक क्षेत्रमा गणना हुने बनाउन कस्तो नीति चाहिन्छ ?

नीति बनाएर सहुलियत दिनुपर्छ उनीहरूलाई। पुरानो सीपलाई आधुनिक बनाउनुपर्‍यो। सामूहिक लगानी र समूहमा लगानी गरेर व्यवसायिक बनाउन सकियो भने उनीहरूको कामलाई औपचारिक अर्थतन्त्रमा गणना हुने काममा प्रवेश गराउन सकिन्छ।

प्रकाशित मितिः २०७२ पुस २० गते साेमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: