महिला खबर
काठमाडौं । मेलम्ची सिन्धुपाल्चोक दनुवार गाउँकी अनिता दनुवारको भूकम्पले घर ढालेको नौ महिना पुगि सक्यो । ढलेको उनको घर कहिले बन्ने हो, वा होइन थाहा छैन, तर उनी अहिले जस्ताले बारेको झुपडीमा बस्दै आएकी छिन् । भूकम्पबाट लुटिएकी उनीसंग पुसको चिसो छल्न, न त न्यानो घर छ ,न त तातो ओछ्यान नै ।
दनुवार यहि मंसिरमा सुत्केरी भएकी हुन । पुसको चिसोबाट आफू र बच्चा जोगिने न्याना कपडा,पोसिलो खाना र खाना पकाउने भाडाकुँडा उनको झुपडीमा निकै कम छन् । सरकारले घोषणा गरेको राहत पनि उनको आगनमा कहिले पुग्ने हो, थाहा छैन ।
नाजुक अबस्थामा रहेकी दनुवारका हरेक रात कठांग्रीएर बित्ने गरेका छन् । दिउँसो झुलल्कने झुपडीको सागुँरो आगमा घाम ताप्न पाए बाँच्निछ कि जस्तो लाग्छ उनलाई । दनुवार भन्छिन् ‘मलाई त केही छैन बच्चालाई चिसोबाट कसरी बचाउने चिन्ता लाग्छ । रातमा चिसो हावा धेरै आउँछ ।’
भूकम्प गएको ९ महिनासम्म पनि प्रभावितका लागि स्थायी बसोबासको व्यवस्था हुन सकेको छैन् । चिसो मौसमकाकारण महिला, बालबालिका, बिरामी र बृद्धाबृद्धहरू सबैभन्दा बढी प्रभावित बनिरहेका छन् । चिसोकाकारण केही समय अगाडि दोलखामा १३ जना भूकम्प पीडितको मृत्यु भैसकेको छ ।
सरकार र केही संघ संस्थाले अत्यावश्यक सामाग्री र खाद्यन्नको बन्दोबस्ती गरिदिए पनि मन खोलेर खानेसक्ने अबस्था भने छैन । उनको जस्तै स्थिति छ, धादिङ सदरमुकाम धादिङबेशी माथिका डाँडामा अस्थायी शिविरमा बसिरहेका भूकम्प पीडितहरूको पनि । यहाँका १२ वटा अस्थायी शिविरमा ५ हजार जना जति भूकम्प पीडित मासिनहरू बस्दै आएको धादिङका प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले बताउनुभयो ।
भूकम्प र पराकम्पनबाट धादिङमा ६ सय ८१ जनाको मृत्यु भएको काफ्ले जानकारी दिनुभयो । झण्डै १२ सयको हाराहारीमा घाइते भएका छन् ।
जिल्लामा ८१ हजार भन्दा बढी घर पूर्ण रुपमा क्षति भएका छन् । ३ हजार भन्दा बढी मानिस यो तथ्यांकमा छुटेको भन्दै निवेदन परेको प्रमुख जिल्ला अधिकारी काफ्ले बताउनुभयो ।
सदरमुकामबाट करिव ४ किलोमिटरको दूरीमा रहेको अल्छेडा“डामा अवस्थित सो शिविरमा धादिङको दुर्गम बस्ती तिप्लिङ र झारलाङका करिव ४ सय घरधूरी भूकम्प पीडित बस्छन् ।
यहाँका सुत्केरी महिलाको अवस्था पनि पीडा दायिकनै छ । अल्छेडाँडा शिविरमा बस्दै आएकी साइमाया तामाङले सुनाइर्न बच्चा र बुढा बुढीलाई चिसोमा गाह्रो भएको छ ।’
शिविरहरूमा १० देखि १५ घरका लागि एउटा मात्र सामूहिक शौचालय हुँदा विशेष अवस्थामा रहेका महिलाको लागि सबै भन्दा अप्ठ्यारो हुुने गरेको तामाङले बताइन ।
शिविरमा बस्दै आएका सबै बालबालिका विद्यालय जाँदैनन् । विद्यालय जानेले पनि उज्यालोको व्यवस्था नहुँदा पढ्न समस्या भएको बालिका लेमाया लामाङले बताइन । शिविरमा सामूहिक बसाई असुरक्षित भएको सिन्धुपाल्चोक र धादिङका भूकम्प पीडित महिलाले सुनाए ।
भूकम्प पीडित कतिपय महिलाले परिचयपत्रसम्म नपाएकाले राज्यले दिने आधारभूत सुविधा समेत पाएका छैनन् । कति महिला त श्रीमान वैदेशिक रोजगारीमा गएको कारण परिचयपत्र पाउनबाट समेत बञ्चित भएका छन् ।
भूकम्पको त्रासदी बिर्सदै अधिकांश पीडितहरू काममा फर्किएको भएपनि खेतीपाती गरेर उत्पादन भएको थोरै बालीनाली पनि कहाँ भित्र्याउने भन्ने चिन्तामा छन् ।
उनीहरू आफ्नै गाउँ फर्कन त चाहान्छन् तर,भूकम्पबाट धाजा फाटेको जमिन वरपर बस्न मिल्ने वा नमिल्ने बारेमा सरकारले आवश्यक निरीक्षण गरेर भनि दिए ढुक्क भएर गाउँ फर्कने शिविरमा बस्नदै आएका पीडितले सुनाए ।
यता सरकारले पुननिर्माणको लागि प्राधिकरण गठन त गर्यो तर, काम कहिलेदेखि सुरू हुन्छ र ति पीडितहरूले राहत पाउने हुन, यसै भन्न सकिदैन ।
प्रकाशित मिति २०७२ पुस २० गते सोमवार
Comment Here!