महिला खबर
पोखरा। पत्रकार महिलाका जैविक विशेषतालाई समस्याको रुपमा नलिन पत्रकार महिलाले मिडिया हाउसहरूलाई आग्रह गरेका छन्। सामाजिक रुपान्तरणमा अहोरात्र खटिएका पत्रकार महिलाको क्षमतालाई मिडिया हाउसले मुल्यांकन गर्न नसकेको उनीहरूले गुनासो गरे ।
विभिन्न जिल्लाका पत्रकार महिलाले आ—आफ्नो जिल्लामा पत्रकार महिला भएकै कारण भोग्नु परेको समस्या र कामको अनुभव सुनाउने क्रममा सो कुरा बताएका हुन्। उनीहरूले न्युज रुम लैगिंक मैत्री नभएको, समाचार रिपोर्टिङमा समेत क्षमतामाथि प्रश्न उठाउँदै पछि पार्ने गरेको, तलब देखि विभिन्न तालिम, भ्रमणबाट बञ्चित गराएको र शाब्दिक हिंसा गर्ने गरेको बताए।
क्रियाशिल पत्रकार महिलाका अध्यक्ष शुभेच्छा बिन्दु तुलाधारले गर्भवती, महिनावारी, सुत्केरी जस्ता जैविक विशेषतालाई महिलाका समस्या मानेर अवसरबाट बञ्चित गराउने कार्यको निन्दा गर्नुभयो। उहाँले संचार माध्यममा महिला निर्णायक तहमा हुन नसक्दा पत्रकार महिलामाथि विभेद हुने गरेको बताउनुभयो।
पत्रकार महासंघका कास्की अध्यक्ष रामकृष्ण ज्ञवालीले संचारमाध्यममा पछिल्लो समय पत्रकार महिलाको क्रियाशिलता बढ्दै गएको भएपनि महिलाका केही जैविक समस्याले गर्दा यस पेशामा आफ्नो क्षमता देखाउन महिलालाई सहज नभएको बताउनुभयो। उहाँले महिलामैत्री वातावरणलागि सम्पूर्ण मिडियाहाउस प्रतिवद्ध हुन आवश्यक रहेको आंैल्याउनुभयो ।
क्रियाशिल पत्रकार महिलाले पोखरामा आयोजना गरेको अनुभव आदान प्रदान कार्यक्रममा कास्कीका अध्यक्ष सरीता तिमिल्सिना, म्याग्दीका रेखा रेग्मी, तनहुँकी सोनी खनिया, धादिङकी सरीता श्रेष्ठलगायतले आफ्ना अनुभव सुनाएका थिए।
प्रकाशित मितिः २०७२ पुस २१ गते मङ्गलवार
Comment Here!