संविधान मान्दैनन् सामाजिक प्रथाहरू


प्रकाशित मिति :2016-01-06 10:54:56

संविधान र कानुनले जे जस्तो व्यवस्था गरेपनि नेपाली समाजमा संस्कारका नाममा यति बलिया प्रथा छन् जसलाई चिर्न अर्को शसक्त आन्दोलनको जरुरी छ ।

भुवन पाण्डे
Bhuwanभैरहवा । रायपुरकी विन्दावती हरिजन आफ्नै पति रुदलको दोस्रो बिहे गराउन राजी भइन् । लामाले सौता ल्याए निको हुन्छ भनिदिएपछि बिमारी विन्दावतीले दोस्रो विवाह गर्न श्रीमानलाई अनुमति दिएकी हुन् । बेलाबेलामा मुर्छा पर्ने समस्या झेल्दै आएकी विन्दावतीका घरमा सौता आएपनि उनको रोग निको भएन ।

रोग निको हुनु त कता हो कता, अब उपचार गर्न नसक्ने भनेर पति र सौता मिलेर  उनलाई माइत पठाइदिए । माइती पक्षले घर लैजान वा केही सम्पत्ति दिलाउन निकै कोशिश गरे । विन्दावती गाउँका महिलाको सहयोगमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको महिला सेलसम्म पुगिन् । २ वर्षदेखि समस्या भोगेकी उनको त्यहाँ पनि सुनुवाइ भएको छैन । ‘घरपरिवार र लामा दुवै मिलेका रहेछन् ।’ विन्दावती गुनासो गर्छिन् ‘दिनहुँ सानोतिनो गल्तीमा पनि गाली गर्ने हुनाले म बेहोस् हुन्थे, उनीहरूले यही समस्यालाई बाहाना बनाएर घरबाट निकाले ।’

मानसिक रोगका कारण बेलाबेलामा काप्ने पोखरभिण्डी १ की बच्ची यादवलाई वैशाखमा आफन्तले नै बोक्सीको आरोपमा कुटपीट गरे । बोक्सी डाम्ने भन्दै तातो पन्युले शरिरभरि डाम्दा उनी बेहोस् भइन् । छिमेकीले प्रहरीकहाँ उजुरी लैजाने बताएपछि उनीहरूले घरभित्रको समस्या भन्दै घटना थामथुम पारे । घटनाबारे बच्ची बोल्दिनन् । छिमेकीका भनाइमा, ‘अहिले पनि लामा बोलाउने र पूजा लगाउने गरेर बच्चीमाथि नियमित हिंसा भइरहेको छ ।’

1

कानुनले बन्देज गरेपनि धार्मिक तथा सामाजिक परम्पराका रुपमा चलेका धेरै अन्धविश्वासले महिलामाथि हिंसा गरिरहेको छ । अन्धविश्वासका कारण आफूमाथि सौता हाल्न पनि तयार हुने महिलालाई अस्पताल गए रोग निको हुन्छ भन्ने सामान्य ज्ञान पनि छैन । कुरीतिविरुद्धको राष्ट्रिय संजालका अनुसार नेपालमा विधवा प्रथा, बालविवाह, बहुविवाह, क्रियापुत्री, कन्यादान, दाइजो, तिलक, छुइप्रथा, घुम्टो, झुमा, तलाक, बेल विवाह, कुमारी, बोक्सीलगायतका ३५ वटा कुसंस्कारले महिलामाथि हिंसा बढाएको छ । बहुविवाह, कुमारी, लोकन्ती, बेल विवाह, गुफा राख्ने, महिनाबारीमा छुइ बार्ने, छुवाछुतलगायतका अन्धविश्वासले पनि महिलामाथि हिंसा भएको छ ।

यस्तो प्रथाको शिकार हुने एक पात्र हुन बुटवल १३ की राधिका आचार्य । पतिको मृत्युपछि चुरा टिका लगाएकी उनलाई घरपरिवारले भान्छामा पस्न दिएनन् । चुरा टिका र रातो वस्त्र नत्यागे छोएको पानी पनि नखाने अड्डी परिवारले कस्यो । एक वर्ष जसोतसो गुजारिन् । ७ वर्षे छोरालाई समेत आमाको नजिक जान दिइएन । छोरा समेत टाढिएपछि २८ वर्षे राधिका केही समय माइतीघर अर्घाखाची गएर बसिन् । अहिले माइतीकै सहयोगमा साउदी अरब गएकी छन् । ‘मरेका छोराको आत्मालाई शान्ति दिन भन्दै बाँचेकीलाई पनि मरेतुल्य बनाए ।’ अरव जानु अघि राधिकाले भनेकी थिइन् ‘निकै हिंसा गरे, रातो वस्त्र लगाउनमात्रै होइन विधवा महिला बाहिर पनि हिँड्न हुन्न भनेर घरभित्रै कैदीसरह राखे ।’

अन्धविश्वासको मारमा अवोध बालिकाहरू पनि परेका छन् । त्यसमध्येका हुन् रुदल धवलका ४ छोरी । गाउँलेले महिनाबारी नहुँदै छोरीको विहे गरेर जल खाए छोरा जन्मन्छ भनेपछि वयरघाट २ का धवल नाबालकमै छोरीहरूको बिहे गराउन तयार भए । छोराको आशमा उनले ४ छोरीको ९, ११ र  १३ वर्षको उमेरमा विहे गरिदिए । यसो गर्दा पनि  छोरा जन्मिएन । कान्छी छोरीको विहे लगत्तै रोगले थलिएर उनको मृत्युभयो । १ लाख २५ हजारमा जग्गा बेचेर बिहे गराएकी कान्छी छोरी बबितालाई उनका पतिले माइती मै फर्काइदिए ।

2

बालविवाहविरुद्ध कार्यरत सिद्धार्थ सामुदायिक संस्थाका सामाजिक परिचालकले बबितालाई घर पठाउन निकै कोशिश गरे । तरपनि घरपक्ष भेट्नै नआएपछि बबिता अहिले माईतीमै छिन् । आमा बच्ची भन्छिन् ‘सानी छे, मेरो चित्त बुझाउन सकिन भनेर ज्वाईंले फर्काए ।’ बच्ची दुखेसो पोख्छिन् ‘अरुले भनेको मान्दा छोरीको जिन्दगी बर्बाद भयो, पतिलाई पनि गुमाएँ ।’

समुदाय अनुसारका अनेक संस्कारले महिलामाथि हिंसा हुने गर्दछ । नेवार समुदायका बालिकालाई महिनावारी सुरु हुनुअघि १३ दिनसम्म गुफा राख्ने (सूर्यको उज्यालो नछिर्ने अध्याँरो कोठामा) परम्पराले पनि बालिकालाई समस्यामा पार्ने गर्दछ । गुफामा राख्दा सूर्य र चन्द्र हेर्न नदिने मात्र होईन पुरुषलाई देख्न र बोली सुन्न पनि नदिने चलन छ । डर भगाउन भन्दै एक्ली बालिकालाई थुनेर ख्याग (एक किसिमको भूत) बोलाउने गरिन्छ । यसो गर्दा धेरै बालिका डराउने र मानसिक रुपमा तनावमा हुने गर्छन् । बेललाई पति मानेर अवोध बालिकालाई विवाह गरिदिने र बेल फुटेमा विधवाको भेषमा बस्नुपर्ने कुप्रथा अहिले पनि नेवार समुदायका महिलाले सामना गरिरहेका छन् ।

अन्धविश्वासलाई संस्कार मान्दै बुटवलमा पनि नेवा पुःच बुटवलले करिब १२ वर्षयता बुटवलमा सामूहिक रुपमा अवोध बालिकाहरूको बेल विवाह गरिदिने गरेको छ । १२ वर्षमा गुफा बसेकी शिक्षक सिर्जना श्रेष्ठ भन्छिन् ‘परम्परा नै भएकाले कसैले विरोध गर्न सक्दैन, तर गुफा बस्दा निकै हिनता बोध हुन्छ, छोरी भएर जन्मेकोमा ग्लानी हुन्छ ।’

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार अन्धविश्वाश र कुरीतिका कारण महिलामाथि हुने हिंसाका थोरैमात्रै घटना प्रहरीकहाँ आउँछन् । गएको वर्ष दाइजो, तिलक, बहुविवाह, अनमेल विवाह, विधवा लगायतका प्रथाजन्य समस्याका कारण हिंसा भएका उजुरी प्रहरीमा परे । त्यसमध्ये दाइजोजन्य समस्या लिएर आएका २५ जनाले घरेलु हिंसाविरुद्ध उजुरी गरे । दाइजोका कारण पत्नी हत्या गरेको घटना कर्तव्य ज्यानमा प¥यो । बहुविवाहविरुद्ध २३ महिलाले उजुरी गरे । यी मुद्दा सुनुवाइको प्रक्रियामा छन् । मुद्दा शाखाका प्रहरी नायब निरिक्षक डेलीम घिमिरेका भनाइमा, ‘महिला हिंसाका घटना अनुसन्धान गर्दै जादा धेरै हिंसा कुरीति, कुंसस्कार र अन्धविश्वासका कारण भएका भेटिने गर्छन् ।’

3

बालविवाहविरुद्ध कार्यरत नमुना एकिकृत विकास परिषदकी अध्यक्ष ज्ञानु पौडेल महिला सबैभन्दा बढी अन्धविश्वास र कुसंस्कारबाट हिंसामा परेको बताउँछिन् । ‘कानुनले हटाए पनि समाजमा मान्यता पाएका बालविवाह, बहुविवाह, दाइजो, तिलक, बोक्सी, विधवा, छुइ बार्नेलगायतका प्रथा र यसप्रतिको अन्धविश्वासले धेरै महिला पीडित छन् ।’

नेपाल बार एशोसिएसन पुनरावेदन अदालत बुटवलका अध्यक्ष अधिवक्ता मीना पाण्डे भन्छिन्, ‘शिक्षा र चेतनाका हिसाबले पुरुषभन्दा पछाडि रहेका महिलाले अन्धविश्वाश चिर्न र प्रतिकार गर्न नसक्ने भएकाले उनीहरूमाथि निरन्तर हिंसा भोगीरहेका छन् । अध्यक्ष पाण्डेका भनाइमा ‘कानुनले बन्देज गरेका कुरीतिजन्य संस्कारको विरुद्ध उठेर महिलामाथि भएका हिंसा रोक्न कानुनी र सामाजिक चेतना फैलाउन जरुरी छ ।’

(भुवन कान्तिपुर टेलिभिजनका भैरहवा संवाददाता हुन् ।)

प्रकाशित मिति :२०७२ पुस २२ गते वुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: