म काठमाडौंमा रुमल्लिएकी छु


प्रकाशित मिति :2016-01-06 13:08:03

गोमा परियार

म काठमाडौं आएको एक महिना पुगिसक्यो । काठमाडौं प्रतिको मेरो सोच अलि छुट्टै थियो । एउटा अलग्गै मिठो सपना बोकेर काठमाडौं छिरेकी म यहाँको अभाव देख्दा दिक्क भएकी छु । सबैको सपनाको शहर काठमाडौं यति धेरै अस्तव्यस्त होला भनेर म कल्पना पनि गर्न सक्दिनँ ।

पानी र बिजुली त हेर्नको लागि यहाँ साईत जुराउनु पर्छ । म जस्तै मिठो सपना बोकेर काठमाडौं आउनेलाई एक हप्तामा नै यहाँको कोलाहलले दिक्क बनाउँदो रहेछ । मलाई पनि त्यस्तै बनायो । कतिखेर बत्ति आउला र पानी तताएर खाउँला भनेर घडीको सुई हेरेर बस्नु पर्छ ।  यो भन्दा पहिला चार पटक काठमाडौं आएपनि लामो समय बस्ने गरेर पहिलो पटक आएकी मलाई यो एक महिना पनि वर्षौ जस्तो लागेको छ । जब म मंसिर १४ गते काठमाडौं आईपुगें, कता—कता बिरानो र नौलो लाग्यो । काठमाडौंमा एक छात्रावासमा बस्ने मेसो मिल्यो मलाई । १५ गतेदेखी मलाई जुन काम र रहरले काठमाडौंमा ल्यायो त्यही शिलशिलामा काठमाडौंको भिडभाड शहरमा घुलमिल हुन खोजें । यहाँ मेरो गाउँमा जस्तो एक—अर्कासँग घुलमिल हुन पनि निकै गाह्रो हुँदोरहेछ । अहिले म यो शहरमा रुमल्लिएकी छु । लामो समयदेखि अघोषित नाकाबन्दीले काठमाडौंको बसाईं अस्तव्यस्त भएको भन्नेहरू धेरै भएपनि मलाई यो अस्तव्यस्त भर्खरै सुरु भए जस्तो लाग्दैन । मंसिर—पुसको कठ्याङ्ग्रिदो जाडोले बाहिरी शरिरमात्र होईन मन पनि कठ्याङ्ग्रिएको छ । अहिले यहाँ भोगेको समस्या सम्झिँदा यो शहरमा सबैभन्दा धेरै दुःख भोग्ने ममात्रै हुँ कि जस्तो पो लाग्दैछ ।

विहान साँझ चिसो पानीसँगै खेल्नु पर्ने भएकाले यसले मलाई नराम्ररी थल्यायो । चिसोमा एक घुट्की तातो पानी पिउने कुरा त धेरै परै जाओस चिसो पानी पाउँन पनि भाग्य ठान्नुपर्छ यहाँ । छात्रावास सञ्चालन गर्नेलाई तातोपानी माग्दा नाकाबन्दी ग्याँस छैन्, लामो लोडसेडिङ, यस्तो समयमा तातोपानी कहाँबाट दिनु तपाई पत्रकार आफैँ बुझ्नु, भन्ने जवाफ आउँछ । एक मनले सोच्छु हो नी यस्तो अभावमा तातो खान त पाईएकै छ, पानी नखाँदा के फरक पर्ला र ? अनि मनमनै सोच्छु मेरो देशको राजधानी हो, यहाँ बस्नलाई यति सास्ती त भोग्नु पर्‍यो नी १ यी त राजधानी बस्दाका समस्या हुन् । आजसम्म आमाबाबुलाई छाडेर बाहिर ननिस्केकी म घर बाहिर बस्दाको पीडा झनै ठुलो छ । घरकी कान्छी छोरी भनाई नै छ नि कान्छा सन्तान बुवा, आमा घरपरिवार कै सबैभन्दा प्यारा र लाड्ला हुन्छन् ।

जब म काठमाडौं छिरें, त्यसपछि मैले पाउने सबै लाड्प्यार हराए या घरमै छुटे सायद । अब म आफ्ना सबै आवश्यकता आफैँ पुरा गर्नुपर्ने, घरको सबै सुविधा बिर्सनु पर्दछ भन्ने निष्कर्षमा पुगेकी छु । काठमाडौंलाई सबैभन्दा धेरै सम्भावना भएको ठाउँ मानिन्छ । यहाँ यसका धेरै उदाहरण छन् ।  एसएलसी पास भयो कहाँ पढ्ने ? काठमाडौं । धेरैको एक अनौठो र बिचित्रको सपना, रहर नै बनिसक्यो यो काठमाडौं । दिनमा धेरै मानिसलाई भेट्नु पर्ने र धेरै ठाँउमा कुद्नु पर्ने भएकाले म भिडमा दिनहुँ हराईरहेकी हुन्छु । समाचारका लागि सूचना पाउँन पनि यहाँ कम्ती सास्ती छैन । अनि बाटो पार गर्दाको पीडा भनिसक्नु छैन । जेब्रा क्रसिङ गर्दा प्रत्येक पटक झसङ्ग हुनु पर्दछ । जेब्राक्रसिङबाट बाटो काट्न खोज्यो गाडीहरू यति तिब्र गतिमा आउँछन कि मलाई नै उडाउलान् जस्तो गर्दछन् । बाटो काट्नलाई एक ठाँउमा १५\२० मिनेट त कुर्नैपर्छ मलाई ! अनि यहाँका मानिसहरू साँच्चिकै व्यस्त हुन कि सहयोग गर्न नचाहेका हुन बुझ्नै गाह्रो हुन्छ । केही सोध्यो थाहा छैन भन्छन् । बोली पनि कति रुखो हो भन्या ! ठुलो शहरमा बस्नेको पहिचान यस्तै हुन्छ कि क्या हो ?

१४ अञ्चल र ७५ जिल्लाका मानिसको बसोबास भएकाले नै होला यहाँ एकसँग अर्काको कुनै विचार नमिल्ने । यहाँ कसैलाई कसैको वास्ता छैन । सबै आ-आफ्नो सुरमा छन् । अब मलाई पनि यस्तै कुरामा बानी पार्नुछ । सम्पन्नहरू धेरै खाएर र नहुनेहरू खान नपाएर मर्ने शहर रहेछ यो । कसैले केही दिए खाउँला भन्दै सडकमा माग्दै हिँड्ने र घरमा धेरै भएको खाना सडकमा फाल्ने पनि उत्तिकै रहेछन् यहाँ । जब म कामको शिलशिलामा रत्नपार्क, स्वयम्भु र पशुपतिनाथको मन्दिर पुग्छु, माग्नेको दृश्यले म चिसो हुन्छ । काठमाडौंले सम्पन्न बनाउँछ या विपन्न यसको जवाफ छैन् मसँग । यतिमात्र बुझेकी छु संसारका सबैभन्दा खुसी र दुःखी मानिस हेर्न मन छ भने काठमाडौंलाई बुझे पुग्छ । यहि बुझ्दा—बुझ्दै म पनि यहि रुमल्लिएकी छु । अब मलाई काठमाडौंले कस्तो बनाउँछ त्यो हेर्न बाँकी छ ।

प्रकाशित मिति :२०७२ पुस २२ गते वुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: