खेमा बस्नेत
कैलाली । कैलालीमा यस वर्ष युवा लक्षित च्याउखेती र तरकारी खेती कार्यक्रममा ४२ महिलाले अनुदान सहयोगको अवसर पाएका छन् ।
कृषि कार्यालयमा परेका १०८ निवेदन मध्ये ४२ महिला व्यवसायी अनुदानको लागि छनौटमा परेका हुन् ।कृषि कार्यालयले व्यवसायिक च्याऊ र तरकारी खेती गर्ने कृषकबाट अनुदानको लागि आवेदन माग गरेको थियो ।च्याउखेतीका लागि १ सय ११ र र तरकारी खेतीमा १ सय ६३ निवेदन अनुदानका लागि परेका थिए । जसमध्ये च्याउखेतीतर्फ ४० र तरकारी खेतीतर्फ ६८ गरी १०८ निवेदन वा व्यवसायी अनुदान प्राप्त गर्न योग्य छानिए ।
च्याउखेतीका लागि प्रतिव्यक्ती रु ४० हजार अनुदान उपलब्ध गराउन लागिएको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत कोमल शाहीले जानकारी दिनुभयो । यसरी अनुदान पाउनेले कम्तीमा दश प्रतिशत थप लगानी आफैँ लगाउनुपर्ने जानकारी उहाँले दिनुभयो ।
तरकारी खेतीका लागि प्रतियुवालाई पहाडको हकमा ४० र तराईको हकमा ६० हजार रुपैयाँ अनुदानको व्यवस्था गरिएको छ । तराईको हकमा तरकारी खेती गर्नेले एक बिघामा वर्षभरिमा दुई याम र पहाडको हकमा पाँच रोपनीमा दुई याम तरकारी खेती गर्नुपर्ने प्रावधान रहेको छ ।
अधिकृत शाहीले कैलालीको हकमा पुरुषले भन्दा महिलाले कृषिमा बढी काम गर्ने गरेको वताउनुहन्छ । उहाँले अनुगमन गर्दा पनि महिलाले इमान्दार र मेहनत देखिने गरेको वताउनुभयो । धेरै महिलाको व्यावसायिक च्याउखेतीले जिवन परिवर्तन भएको समेत उहाँको भनाइ छ ।
जिल्ला कृषि विकास कार्यालयले च्याउखेतीका लागि जिल्लाको साबिक धनगढी उपमहानगरपालिका, अत्तरिया र घोडाघोडी नगरपालिकाका साथै चौमाला र मसुरिया गाविसलाई पकेट क्षेत्र तोकेको छ ।
यस्तै तरकारी खेतीका लागि तराई क्षेत्रका धनगढी उपमहानगरपालिका, अत्तरिया नगरपालिका, गोदावरी, हसुलिया, बसौटी, रतनपुर, चौमाला गाविस तथा पहाडी क्षेत्रका सहजपुर र निगाली गाविसलाई पकेट क्षेत्र तोकेको छ । सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउने उद्देश्यले आर्थिक वर्ष २०७०/७१ देखि कृषि विकास कार्यालयमार्फत देशका कैलालीलगायत जिल्लामा यो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।
प्रकाशित मिति :२०७२ पुस २३ गते विहिवार
Comment Here!