खेमा बस्नेत
धनगढी । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ४ किर्तिपुरको जंगलमा नकावधारी समूहको आक्रमणबाट हत्या गरिएको भनिएकी एक महिलालाई उनकै श्रीमानले हत्या गरेको खुलेकोे छ ।
भजनी–त्रिशक्ति नगरपालिका झलझलिया घर भएका २० वर्षीय हिमबहादुर नेपालीले आफ्नी श्रीमती १७ वर्षीया आरती नेपालीको हत्या गरेको स्वीकार गरेका छन् ।
घटनाबारे जानकारी दिन बिहीबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेपालीले भनेको नमानेपछि श्रीमतीको हत्या गरेको बताए । घटनाको अघिल्लो दिन साँझ आफूहरुबीच झगडा भएको उनले बताए । बुधबार आफ्नी श्रीमतीको चक्कुले घाँटी रेटेर हत्या गरिसकेपछि उनले नकावधारी समूहले आफूहरूमाथि आक्रमण गरेको र श्रीमतीलाई मारिदिएको भन्दै माइती पक्षमार्फत प्रहरीलाई खबर गरेका थिए ।
दुवै जनाको ६ महिनाअघि प्रेम बिबाह भएको थियो । हिम राष्ट्रिय उच्च मावि खैलाडमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक राजेन्द्र बिष्टले आफूले भनेको नमानेको भन्दैै हत्या भएको अनुसन्धानका क्रममा खुलेको जानकारी दिए ।
बिबाहपछि दुवै जनाबीच समयसमयमा सामान्य विवाद हुने गरेको र श्रीमतीको आफूले भनेको मान्न छाडेपछि विभत्स हत्या गरेको अनुसन्धानले देखाएको उनले बताए ।
सिलाई कटाइ सिक्न जाने क्रममा हिमले बुधवार दिउँसो सुखड–भजनी सडक खण्डबीचमा पर्ने किर्तिपुरको जंगलमा श्रीमतीको हत्या गरेका थिए ।
हत्या हुनुअघि दुवै जना करिब एक घण्टा जंगलमा बसेको र प्रेमको नाटक गरिरहेका हिमले काखमा बसेकी श्रीमतीलाई घारिलो चक्कुले घाँटी रेटेर हत्या गरेको प्रहरीले बतायो ।
नकावधारी समूहले आफूहरूमाथि आक्रमण गरेको हिमले शुरुमा प्रहरीलाई बयान दिएका थिए । हत्यापछि सोही हतियारले उनले आफ्नो हात, गालालगायत केही ठाउँमा आफैँ घाउ बनाएका थिए ।
हत्यापछि उनले चक्कुले श्रीमतीको यौनीसमेत चक्कु घुसाएर क्षतबिक्षत गरेका थिए । भर्खरै प्रेम विवाह गरेकाले अरुले नै आक्रमण गरेको हुनसक्ने ठानेर सुरुमा प्रहरीले हत्याराको व्यापक खोजी गरेको थियो । हत्याका क्रममा आरतीले हिमको टाउकोको कपाल समातेकी र मृत्युपछि प्रहरीले उनको हातमा कपाल भेटाएको थियो ।
मृतकको हातमा रहेको केही कपाल हिमको टाउकोको कपालसँग मिलेपछि घटनाको अनुसन्धान अर्कोतर्फ मोडिएको प्रहरी उपरिक्षक बिष्टले बताउनुभयो ।
अभियुक्तलाई कर्तव्य ज्यान मुद्दा अन्र्तगत बिहीबार नै जिल्ला अदालत कैलालीबाट १० दिनको हिरासतको म्याद थप गरिएको छ ।
प्रकाशित मिति :२०७२ पुस २४ गते शुक्रवार
Comment Here!