टयाम्पु चालक महिलाको अनुभवः ‘बदमास यात्रुले हैरान पारे’


प्रकाशित मिति :2016-01-10 12:50:46

उपत्यकामा चल्ने ७ सय मध्ये ३ सय ५० टयाम्पुका चालक महिला छन् । उनीहरूका भनाइमा, ‘भारतीय नाकाबन्दीले टयाम्पुको कमाइ बढेपनि भीडभाडमा पैसा नदिइ हिड्ने यात्रुले हैरान पारेका छन् ।’

कालिका खड्का
DSC04348काठमाडौं । ‘पैसा त दिएर जानु, २० रुपैयाँमा इज्जत नै फाल्छन्’ सुन्धारा नजिकै ट्याम्पु रोकेर चालक बिमला तामाङ कराउँदै गर्दा एकजना यात्रु पर पुगिसकेका थिए । ‘गाडी छैनन् भनेर हुरुरु चढ्छन्, झर्ने बेलामा पैसा नदिई हिँड्छन् । इज्जत त अलि ठूल्ठूलो पैसामा फाल्नु नि २० रुपैयाँमा के फाल्नु ?’

बिमलाले ट्याम्पु चलाउन थालेको पाँच वर्ष भयो । मधेश आन्दोलन र भारतीय नाकाबन्दीका कारणले सवारी साधन कम चलेपछि यात्रु ट्याम्पुमा कोचाकोच गरेर यात्रा गर्छन् । तर, यस्ता यात्रुमध्ये पैसा नदिई हिड्ने बद्मास पनि उत्तिकै हुन्छन् । बिमलाका भनाइमा, ‘नाकाबन्दिले धेरै यात्रु चढेको देखिए पनि ट्याम्पुबाट झरेर चुपचाप भाडा नदिई जाने बद्मासका कारण कमाइमा भने खासै अन्तर हुन्न । अझ कति त भाडा माग्दा उल्टै झगडा पो गर्छन् ।’

व्याट्रीबाट चल्ने भएकाले आन्दोलन र नाकाबन्दी भएपनि ट्याम्पु चलाउन समस्या छैन । पाँचवर्षदेखि ट्याम्पु चलाउन थालेकी रामेछापकी बिमला सुन्धारा, त्रिपुरेश्वर हुँदै छाउनी पुग्छिन् । उनको अनुभवमा एक ट्रिपमा एक जना बद्मास यात्रु चढ्छन् । यात्रुले मात्रै होईन् कहिलेकाँही बिनासित्ति ट्राफिक प्रहरीले पनि दुःख दिने गर्छ । बिमला भन्छिन् ‘२०० को चिट काटेर ५०० लिन्छ, हैरान पार्छ ट्राफिकले ।’

ट्याम्पु चलाएर राम्रो जीविका चलाएका धेरै ट्याम्पु चालक महिला बद्मास यात्रुबाट हैरान छन् । सात वर्षदेखी काठमाडौंमा ट्याम्पु चलाउदै आएकी दोलखाकी मुना श्रेष्ठ पनि भाडा नदिई हिड्ने यात्रुले हैरान पार्ने बताउँछिन् । सुन्धारा, पुरानोबानेश्वर हुँदै नयाँबानेश्वर रुटमा ट्याम्पु चलाउने मुना भन्छिन्, ‘ट्याम्पु चलाएर आत्मनिर्भर हुँदा सुःखी जीवन बिताउन पाएपनि बद्मास यात्रुलाई देख्दा असुरक्षित लाग्छ ।’

यात्रुको संख्या जति धेरै भएपनि टयाम्पुको सिट संख्या १२ मात्र हुन्छ । मुना भन्छिन् ‘ट्याम्पुमा मानिस खचाखच चढेको देख्दा सिट बढाउन पाए हुन्थ्यो जस्तो लाग्छ, तर अरु बेला मानिस नहुँदा यही पनि बढी भएजस्तो लाग्छ ।’ ठूल–ठूला बस, माइक्रोबस धेरै नचल्दा यात्रुलाई सास्ती भएपनि ट्याम्पुको कमाई राम्रो भएको मुनाको भनाई छ । अरु महिला चालकले ट्याम्पु मालिकले भाडा बढाउँदा आम्दानी बढ्न नसकेको बताए पनि मुना अहिलेको आम्दानी राम्रो भएको बताउँछिन् । ब्याट्रीबाट चल्ने हुँदा डिजेल/पेट्रोल पाएन भन्ने चिन्ता नभए पनि उभिएर/झुण्डिएर यात्रा गर्ने यात्रुको संख्या बढेकाले असुरक्षित यात्राले दुर्घटना हुने हो कि भन्ने चिन्ता हुन्छ मुनालाई ।

DSC04350

नाकाबन्दि पछि आम्दानी राम्रो भएको भन्दै मालिकले एक ट्रिपमा ५० रुपैयाँ भाडा बढाए पनि यात्रु धेरै हुने भएकाले अहिले आम्दानी राम्रो भएको मुनाको भनाइ छ । उनी भन्छिन् ‘हुलमुलमा कुनै यात्रुले पैसा नदिई झरेपछि ट्याम्पु रोकेर तान्न नमिल्ने भएकोले समस्या हुन्छ ।’ मुनाले प्रतिट्रिप ४ सय ४५ रुपैयाँ मालिकलाई बुझाउँनु पर्दछ ।

चार वर्षदेखी सुन्धारा, त्रिपुरेश्वर हुँदै छाउनी स्वयम्भु रुटमा ट्याम्पु चलाउदै आएकी सर्लाहीकी सोनी तामाङलाई अब आफ्नै ट्याम्पु किनेर चलाउने आँट बढेको छ । २० वर्षको उमेरदेखि ट्याम्पु चलाउन थालेकी सोनी ट्याम्पु चलाएर परिवार चलाउन सहज हुने बताउँछिन् । बद्मास मानिस जता पनि हुने भएकाले त्यस्ता व्यक्तिबाट बच्दै काम गर्नुपर्ने उनको भनाइ छ । अहिलेको नाकाबन्दिले यात्रुको संख्या निकै बढेपनि आम्दानी खासै नबढेको उनको गुनासो छ ।

केटा मानिसले चलाउँदा ओभरटेक गर्ने भएकाले महिला चालकलाई समस्या पर्ने सोनीको अनुभव छ । महिलाले चलाएको ट्याम्पु सुरक्षित हुन्छ भन्दै यात्रु चढेपनि अरुले असुरक्षित तरिकाले टयाम्पु चलाउँदा आफू जस्ता महिला चालक समस्यामा पर्ने सोनी बताउँछिन् । बिहान ५ बजेदेखि  बेलुका ६—७ बजेसम्म सडकमा ट्याम्पु गुडाउने महिला चालकलाई बिहानै र साँझमा कतिले जिस्क्याउने, भाडा नदिई हिड्ने र मदिरा सेवन गर्ने यात्रुले दुःख दिने गर्दछन ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता कोषराज पोखरेल पुरुषको तुलनामा महिलाले चलाएको ट्याम्पु सुरक्षित हुने बताउँछन् । पोखरेलका अनुसार दुर्घटना कम भएपनि महिला चालकले जथाभावी रोक्ने र ट्राफिक नियम उल्लघंन गर्ने समस्या पनि छ । पोखरेल भन्छन्, ‘मोडमा, जेव्रा क्रसिङ्मा रोक्ने अनि उल्टै ट्राफिकले हेप्यो भनेर उल्टै रिसाउने र आफूहरूलाई विशेष व्यवस्था गर्नुपर्छ भन्दै थर्काउने गर्छन् ।’ नाकाबन्दिपछि ट्याम्पुलगाएतका ठुला सवारी साधनमा झुण्डिएर हिड्ने यात्रुको संख्या धेरै भएपनि अब झुण्डिएर यात्रा गर्न नदिने उनको भनाइ छ ।

विद्युतीय पारवहन व्यवसायी सङ्घका अध्यक्ष होमप्रसाद पोखरेलका अनुसार, पुरुषको तुलनामा महिलाले सभ्य भएर ट्याम्पु चलाउँछन् । अहिलेको नाकाबन्दिमा ट्याम्पु चलाउनेको आम्दानी बढेपनि अरुको ट्याम्पु भाडामा चलाउनेको खासै आम्दानी नबढेको उनको भनाई छ । सङ्घको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा चल्ने ७ सय १४ ट्याम्पु मध्ये ३ सय ५० मा चालक महिला छन् । पोखरेल भन्छन, ‘उनीहरूले आफनो परिवार मात्रै पालेका छैनन, समाजलाई आत्मनिर्भर बन्न समेत सघाइरहेका छन् ।’
(खड्का राष्ट्रिय समाचार समीतिमा कार्यरत छिन् ।)

प्रकाशित मिति :२०७२ पुस २६ गते अाईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: