महिला खबर
पोखरा । श्रीमान विदेश गएका बेला परिवाको हिंसा सहन नसकेर छिमेकीको घरमा शरण लिएर बसेकी एक महिलालाई छिमेकीले धाराको पानी प्रयोग गर्न नदिएर सामाजिक बहिस्कार गरेका छन् ।
परिवारमा बस्न नसकेपछि छिमेकी मदन लामिछानेको घरमा रहँदा उनले लामिछाने कै बच्चा जन्माएकी छन् । लेखनाथ नगरपालिकाकी २० वर्षीया ती महिलाले गत असोज २० गते छोरालाई जन्म दिइन्, तर लामिछानेले नस्वीकारेका कारण तीन महिनासम्म बच्चाको न्वारन हुन सकेको छैन । बच्चाको न्वारन नभएको भन्दै छिमेकीले उनलाई धाराको पानी प्रयोग गर्न नदिएर सामाजिक बहिष्कार गरेका हुन् ।
न्यायका लागि महिला तथा बालबालिका कार्यालय कास्कीमा आइपुगेकी ती महिलाका अनुसार पहिलाको लोग्नेले अर्को विहे गरिसकेका छन् । परिवारका अन्य सदस्यबाट हिंसा भोग्दै आएकी उनलाई छिमेकी मदनले सम्झाउँदै साहरा दिने आश्वासन दिएका थिए । त्यही क्रममा गर्भवती भएकी उनी बच्चा जन्मिएपछि मदन लामिछानेले बच्चा र आफू दूबैलाई नस्वीकारेको बताइन् । मदन हाल वैदेशिक रोजगारीको क्रममा दुबईमा छन् ।
ती महिलाकी दिदीले बच्चा जन्मिसकेपछि आमा समूहले खोजबिन गर्दा मदनले स्वीकारेको बताइन् । ‘मदनले फोनमा आफ्नो घरमा लगेर राख्न भनेपनि मदनका बाबुआमाले बच्चा अस्वीकार गरे । अहिले मदन सम्पर्क बाहिर रहेको उनले बताइन् ।
महिला तथा बालबालिका कार्यालय कास्कीका प्रमुख लक्ष्मी जिसीले बच्चाको न्वारन हुन नसकेको मात्र नभई नावालकले खोप पनि नपाएको जानकारी दिइन् । ‘न्वारन नभएर पीडामा परेका महिलालाई सार्वजनिकरुपमा धाराको पानी प्रयोग गर्न नदिएर सामाजिक बहिस्कार गर्नु अर्को अपराध हो ।’ जिसीले भनिन् । उनले बच्चाको न्वारन गराउन र नाता कायम गराउन अदालत जाने तयारी भइरहेको जानकारी दिइन् ।
न्याय खोज्दै महिला तथा बालबालिका कार्यालय आइपुगेकी उनको १५ वर्षको उमेरमै प्रेम विवाह भएको थियो । ती महिलाका पहिलाको श्रीमानतर्फ डेढ वर्षकी छोरी छन् ।
प्रकाशित मिति :२०७२ पुस २६ गते अाईतवार
Comment Here!