बालविवाह : उजुरी नै पर्दैन


प्रकाशित मिति :2016-01-11 12:47:19

जाजरकोटमा १५ वर्षभन्दा तलको उमेरमा विवाह गर्ने आमप्रचलनजस्तै छ । आश्चर्यको कुरा के भने यहाँ बालविवाहविरुद्ध गएको वर्ष अदालतमा एउटा पनि उजुरी परेन ।

जनक केसी

janak जाजरकोट । नौ वर्षअघिको कुरा हो । अर्छानी– ७ फलफुलेकी धनरूपा नेपाली सात कक्षामा पढ्दै थिइन् । उनलाई विवाह भनेको के हो थाहा थिएन । एक दिन उनको घरमा पल्लो गाउँका आफन्त पर्नेहरू आएर बाबाआमासँग छुट्टै बसेर कुरा गरे । धनरूपालाई उनीहरू आफ्नो बिहेको कुरा गर्न आएका होलान् भन्ने शङ्कासम्म पनि थिएन । १३ वर्षको उमेरमा पढाइबाहेक अरू कुनै कुरा नसोचेकी धनरूपाले अन्ततः बाबाआमाको कुरा काट्न नसकी विवाह गर्नुप¥यो । अहिले उनका दुई छोराछोरी छन् । विवाहपछि उनले पढ्न पाइनन् । धनरूपा भन्छिन्, ‘विवाह भन्ने कुरा थाहा नै थिएन । बाबाआमाले जा भनेपछि जानैपर्‍यो ।’

जाजरकोट– ५ मौगानकी गोरीकला जैसीको पनि उस्तै अवस्था छ । आठ कक्षा पढ्दापढ्दै उनका बाबाआमाले आफ्ना इष्टमित्र पर्नेका छोरासँग बिहे गरिदिने भए । ‘गाउँघरको चलन, बाबाआमाले सल्लाह गरेर जाऊ भनेपछि जानैपर्‍यो,’ दबाबमा वालविवाह गर्नुपरेको बाध्यता सुनाउँदै गोरीकलाले भनिन्, ‘१२ कक्षामा पढ्ने बेला हुँदा त दुईवटा छोरा जन्मिसकेका थिए ।’

गर्खाकोट– २ की जयन्ता परियार, दह– ८ साक्याकी भविसरा टमाटा, खगेनकोट काप्राकी पार्वती परियार, लहँ– ४ की दिलसरा सुनारले पनि बाबाआमाले हेरेकै केटासँग विवाह गर्नुपर्‍यो । त्यो पनि स्कुल जाने उमेरमै । आश्चर्यको कुरा यी सबैका श्रीमान् पनि उनीहरूकै उमेरका छन् ।
स्कुले उमेरमै विवाह गर्नुपरेपछि उनीहरू अहिले कठिन सामाजिक र आर्थिक अवस्थाको सामना गर्न बाध्य छन् । आफ्नै उमेरका र बेरोजगार अवस्थाका युवा जीवनसाथी भएपछि उनीहरूलाई दैनिक गुजारा चलाउन गाह्रो छ । आफन्तको घरमा भेटघाटका गर्न गएका बेला बाबाआमाले सानै उमेरकी छोरी भए पनि विवाह गर्नलाई स्वीकृति दिन्छन् । चलनचल्तीको भाषामा त्यसलाई ‘हात माग्ने’ भनिन्छ ।

यो कुप्रथाका कारण बालबालिकाको जीवन नारकीय बन्ने गरेको छ । पढाइ हुन्न, जीवन कष्टकर हुन्छ । महिला अधिकारकर्मी निर्मला थापाका भनाइमा, ‘गाउँमा इष्टमित्रको घरमा छोरी देख्नेबित्तिकै हात माग्ने र सानै भए पनि विवाह गराइदिने चलन छ । यसले एकातर्फ विकृति र अर्काेतर्फ उनीहरूको भविष्य निर्माणमा समस्या पारिरहेको छ ।’ बाबाआमाले मागीविवाहमा जोड दिएपछि बालविवाह गर्ने चलन धेरै भएको थापाको भनाइ छ ।

Bal bibaha @ jajarkot -1

यो कुप्रथा यति बलियोसँग झाँगिएको छ कि अभिभावक घरमा इष्टमित्र आएर छोराछोरीको विवाहको कुरा गरेपछि नाइँ भन्नै सक्दैनन् । इज्जतकै लागि भनेर कलिला नानीहरूको विवाह गर्ने निर्णय गर्छन् । १३ वर्षको उमेरमै विवाह गरेकी धनरूपाकी आमा देउकला नेपाली छोरी ६ कक्षामा पढ्दा पल्लोगाउँका इष्टले कुरा चलाएपछि आफूहरूले सहमति जनाएर बिहे गरिदिएको बताउँछिन् ।

जिल्लामा बालविवाहको दर उच्च रहेको जिल्ला बालकल्याण समितिले हालै सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनअनुसार कुल विवाह गर्नेहरूमध्ये ६५ प्रतिशत बालबालिका नै छन् । यसमध्ये ३७.१३ प्रतिशत बालक र ६२.८७ प्रतिशत बालिका छन् । राष्ट्रिय जनगणना २०६८ अनुसार जाजरकोटमा १० वर्षमुनि विवाह गरेका एक सय ६५, १० वर्षदेखि १४ वर्षको उमेरमा विवाह गरेका पाँच हजार ६ सय ६८ र १५ वर्षदेखि १९ वर्षको उमेरमा विवाह गर्नेको सङ्ख्या ४४ हजार २९ छ ।

विशेषगरी जिल्लाको ग्रामीण भेगमा बालविवाहको चलन बढ्दो रूपमा रहेको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए । उनका भनाइमा गरिबी, बेरोजगारी र अन्धविश्वासको प्रभाव बढी भएको गाउँ र बस्तीहरूमा बालविवाहको चलन बढी छ । जिल्लाका ढिमे, भुर, पुन्मा, खलङ्गालगायतका ठाउँमा बालविवाह धेरै हुने गर्छ ।

बालविवाहले जीवनमा पार्ने नकारात्मक असरबारे अभिभावक र स्वयम् बालबालिकालाई बुझाउन नसकिएका कारण समस्या परेको महिला तथा बालबालिका कार्यालयका बालकल्याण अधिकृत डम्बरबहादुर रोकाय बताउँछन् । सानैमा विवाह गरिदिने चलन परम्पराको रूपमा रहेकाले यसलाई बदल्न समय लाग्ने उनको भनाइ छ । अन्तरपार्टी महिला सञ्जालकी पार्वती नेपालीले सामाजिक कुसंस्कार र कमजोर जनचेतनाका कारण बालविवाह बढिरहेको बताइन् ।

बालविवाह गैरकानुनी भए पनि आमा, बुबा र अभिभावकको कमजोरी र दबाबका कारण यसलाई रोक्न निकै गाह्रो भइरहेको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका भनाइमा कानुनले मात्रै बालविवाह रोक्न सक्दैन । उनले स्थानीय जनता र अभिभावक सचेत नभएसम्म बालविवाह र यसका नराम्रा असरलाई रोक्न मुस्किल हुने बताए । सामाजिक कुपरम्परा, प्रविधिको गलत प्रयोग र जनचेतनाको कमीका कारण बालविवाह कानुनको नजरमा दण्डनीय भए पनि समाजमा नियन्त्रणमा आउन नसकेको हो । जिल्ला बाल सञ्जाल जाजरकोटका उपाध्यक्ष रत्नबहादुर शाह कानुन देखाउनका लागि मात्र भएको बताउँछन् ।

कानुनअनुसार १० वर्षभन्दा मुनिका बालबालिकाको विवाह गराउनेलाई ६ महिनादेखि तीन वर्षसम्म कैद वा एक हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । १० वर्षमाथि १४ वर्ष नपुगेका बालबालिकाको विवाह गराए तीन महिनादेखि एक वर्षसम्म कैद र पाँच हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ ।

त्यस्तै, १४ वर्षमाथि १८ वर्ष उमेर नपुगेका बालबालिकाको विवाह गराए ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था मुलुकी ऐनमा छ । जानी–जानी बालविवाहको लमी, पुरेत्याइँ र सहयोग गर्नेलाई एक महिना कैद र एक हजार रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ ।

नेपालको संविधान २०७२ को धारा ३९ मा व्यवस्था भएको बालबालिकासम्बन्धी मौलिक हकमा पनि बालविवाहविरुद्ध प्रतिबद्धता देखिन्छ । सो धाराको उपधारा ५ मा कुनै पनि बालबालिकालाई बालविवाह गराउन पाइनेछैन भन्ने उल्लेख छ ।

जाजरकोट जिल्लामा बालविवाह धेरै भए पनि उजुरी र कारबाही भने शून्यजस्तै छ । बालबालिकासम्बन्धी प्रतिवेदनका अनुसार गत दुई वर्षमा विभिन्न पारालिगल समिति र लैङ्गिक हिंसा निगरानी समूहमा २३ वटा बालविवाहका घटना दर्ता भएका देखिन्छन् । बालविवाहसम्बन्धी मुद्दा अदालतसम्म पुग्न सकेका छैनन् । यसले जिल्लामा बालविवाहविरुद्ध गतिलो कानुनी उपचार र सामाजिक अभियान नचलेको देखिएको स्थानीय अधिकारकर्मी मैना कार्कीले बताइन् ।

(सञ्चारिका फिचर सेवा)
(जनक, जाजरकोटका पत्रकार हुन् ।)

प्रकाशित मिति २०७२ पुस २७ गते साेमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: