निर्मला भट्ट
ललितपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले सवै क्षेत्रमा महिलाको सहभागिता बढाउन उनीहरूको शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ। आज ललिपुरमा आयोजित निजामति सेवामा महिला विषयक अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री ओलीले शिक्षामा अगाडी भएका देशहरूमा महिला सहभागिता सवै क्षेत्रमा बढी पाईएकाले महिलालाई शिक्षित बनाउनुपर्ने बताउनुभएको हो।
अहिलेसम्म परिवर्तनका लागि भएका सवै आन्दोलनमा महिला सक्रिय सहभागि भएपनि उनीहरूले त्यस अनुरुप अधिकार नपाएको उहाँको भनाइ थियो। उहाँले सवै क्षेत्रमा समानता, पछौटेपनको अन्त्य र महिला माथिको विभेदको अन्त्य चाहेको बताउनुभयो। निर्णायक तहमा महिला सहभागिता न्युन नै भएपनि पहिलेको तुलनामा प्रगति देखिएकोमा खुसी व्यक्त गर्दैं ओलीले आफ्नो सरकारले सवै क्षेत्रमा महिला सहभागिता बढाउन विशेष प्राथमिकता दिएको दावी गर्नुभयो। सदियौँदेखि महिलाले उत्पीडनमा जिवन विताएको स्मरण गर्दै उहाँले अहिलेको लोकतान्त्रिक समाजमा समेत आफ्नै परिवार, नातागोता र समाजबाट विभिन्न खाले हिंसा सहनुपरेको प्रति दुःख लाग्ने गरेको बताउनुभयो।
छोटो समयमा नै सरकारमा ३३ प्रतिशत महिला सहभागिता गराउन सफल भएका दावी गर्दै निजामती सेवामा महिला सहभागिता न्युन देख्दा आफूलाई दुःख लाग्ने प्रधानमन्त्रीको भनाई थियो।
मानवजातिलाई महिलाले लगाउने ठुलो गुण प्रजनन् भएपनि त्यहि कुरालाई लिएर महिला पछाडी पारिने कुरा दुःखलाग्दो भएको ओलीको टिप्पणी थियो। प्रधानमन्त्रीले भन्नुभयो ‘महिलालाई अगाडी नबढाए पनि पछाडी नपारिदए उनीहरू आफैँ प्रगती गर्न सक्छन्।’ उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रमा अत्यधिक महिला सहभागिता रहनुपर्ने बताउनुभयो।
कार्यक्रममा निजामति सेवामा १८ प्रतिशत र संसदमा ३० प्रतिशत महिला सहभागिता रहेको जानकारी दिइएको थियो। निजामती सेवाको पनि उच्च तहमा महिलाको सहभागिता एकदमै न्युन रहेको तथ्याङ्क कार्यक्रममा प्रस्तुत गरिएको थियो।
प्रकाशित मितिः २०७२ पुस २७ गते साेमवार
Comment Here!