श्रीमान नभएका महिलालाई नियन्त्रण गर्न विधवा प्रथा बनाइएको हो : लिली थापा


प्रकाशित मिति :2016-01-12 14:32:28

मानव अधिकारका लागि महिला, एकल महिला समूहका संस्थापक अध्यक्ष तथा अधिकारकर्मी लिली थापा भन्छिन्– समाजले विधवा महिलालाई नियन्त्रण गर्न अनेक विधि र प्रथा तयार गरेको छ । त्यसैले आज पनि लाखौँ दिदीबहिनी यो कुरीतिको मारमा छन् । महिला खबर डटकमका लागि अरुणा रायमाझीसँग कुरा गर्दै थापा भन्छिन्, ‘अब उनीहरू घरबाहिर निस्कन थालेका छन्, किनकि अहिले उनीहरूसँग बलियो सङ्गठन छ ।’ प्रस्तुत छ थापासँग गरिएको कुराकानी ।

?

सती प्रथाको अन्त्य भए पनि त्यो युगमा एकल महिलालाई पालना गर्न लगाइने नियम र सोच अहिले पनि कायमै छन् नि ?
सती प्रथाको सोचले समाजलाई अहिले पनि गहिरो गरी जकडेको छ । धर्मसँग जोडिएको कुरामा मानिसलाई परिवर्तन गराउन निकै गठिन हुन्छ । श्रीमान नभएकी महिला अलच्छिना, कुलच्छिनी, शुभकार्यमा देखिनै नहुने, रातो र राम्रो लुगा लगाउन नहुने, मीठो र पोषिलो माछामासु खानै नहुने भन्ने विषयलाई धर्मसँग जोडेर यति धेरै प्रचार गरिएको छ कि मानिसलाई एकैपटक उनीहरूको सोचमा परिवर्तन ल्याउन गाह्रो छ ।सामाजिक संरचना धर्मसँग जोडेर निर्माण गरिएकाले सोचमा परिवर्तन गर्न हामी आफैँलाई पनि गाह्रो हुन्छ । एकल महिला पनि समाजले भनेजस्तै गर्नुपर्छ भन्ने सोचबाट हुर्केका छन् ।

समाजले श्रीमानको मृत्युपछि एकल महिलाले गर्न हुने र नहुने कुराको सीमा तोकेको छ । यसो किन भएको होला ?
धेरै कुरा हिन्दू धर्मबाट प्रभावित भएर आएको छ । भारतमा जब सती प्रथाको अन्त्य भयो त्यसपछि श्रीमान नभएका महिलालाई कसरी नियन्त्रण गर्ने भन्ने सोचबाट यो अवधारणा आएको देखिन्छ । राम्रो र रातो लगायो भने अरूसँग लाग्ला, अर्को विवाह गर्ला भन्ने डर, माछामासु खायो भने यौनिकता बढ्ला भन्ने डर । यी सबैबाट हेर्दा यौनिकता रोक्नका लागि यो काम गरिएको देखिन्छ । महिलाले अरूसँग सम्बन्ध राख्नुहुँदैन भन्ने सोचबाट यो अवधारणा आएको हो जस्तो लाग्छ ।

धर्म, संस्कृति र परम्पराको नाममा बारम्बार अपमान हुँदा पनि उनीहरू न्यायका लागि अगाडि आउने आँट किन गर्दैनन् ?
एकल महिलाको अधिकारको पक्षमा अभियान सञ्चालन भएको र उनीहरू सङ्गठित हुन थालेको ८–१० वर्ष मात्र भयो । योभन्दा पहिला आमा, दिदी–बहिनीलाई साथ दिने कोही थिएनन् । उनीहरूले अन्यायको विरुद्ध घरबाहिर निस्केर बोल्ने हिम्मत गर्ने अवस्था पनि थिएन । कुसंस्कारविरुद्ध बोल्नेहरूलाई साथ दिने अहिलेजस्तो सङ्गठन पनि थिएन ।

उनीहरूलाई हेर्ने सामाजिक सोच र चिन्तन अत्यन्तै गलत थियो र छ । गलत संस्कार परिवर्तनका लागि कसैले चेतना अभिवृद्धिका काम पनि गरेका थिएनन् । एकल महिलाई हेर्ने दृष्टिकोण र व्यवहार हाम्रो समाजले हामीलाई पनि गलत ढङ्गले पढाएको थियो । जसको कारण उनीहरू अगाडि आउन सकेका थिएनन् । समूहमा आउन थालेपछि एकल महिलामा पनि जागरण पैदा भयो । उनीहरूले पनि आफ्नो अधिकारबारे थाहा पााउन थाले । बल्ल अहिले आफूजस्ता दिदीबहिनी एकै ठाउँमा आएर सङ्गठित रूपमा बल प्राप्त गर्दै छन् । अधिकारका लागि आवाज उठ्न थालेको छ । अहिले हजारौँको सङ्ख्यामा एकल महिला सङ्गठित छन् ।

एकल महिला आर्थिक रूपमा बलिया भए भने सामाजिक र सांस्कृतिक रूपमा हुने हिंसामा कमी आउला त ?
सामाजिक चेतनासँंगै आर्थिक सशक्तिकरण भयो भने सोचमा परिवर्तन आउन सक्छ । त्यसको साथसाथै शिक्षा पनि आवश्यक छ । नेपालमा करिब ८० प्रतिशत एकल महिला निरक्षर छन् । ती एकल महिलाले के काम गर्ने र कसरी बाँच्ने ? उनीहरूलाई आर्थिक रूपमा कसरी बलियो बनाउने ? निरक्षर भएको कारण धेरै एकल महिला परनिर्भर हुन्छन् । त्यस्तो अवस्थामा हिंसाको सिकार त हुन्छन् नै उनीहरूले हुर्काएका बच्चा पनि परनिर्भर हुन्छन् । यसले उनीहरूको जीवनमा ठूलो प्रभाव पार्छ । आर्थिक सशक्तिकरणका लागि शिक्षा र सीपको आवश्यकता हुन्छ ।

?

नेपालको जनगणना २०६८ लाई हेर्ने हो भने १० वर्षभित्र विवाह भएका पनि छन् भने २० वर्षको उमेरमा विवाह गर्नेको सङ्ख्या धेरै छ । कलिलो उमेरमा विवाह भएपछि उनीहरूले कहिले पढ्ने र आफ्ने खुट्टामा उभिने ? अहिले नेपालमा ६७ प्रतिशत ३५ वर्षमुनिका महिला विधवा छन् । उनीहरूले ३–४ वटा बच्चा पनि जन्माएका छन् भने आफ्नो भविष्यबारे कहिले सोच्ने ? कहिले सीप सिक्ने ? त्यसकारण राज्यले त्यो वर्गलाई केन्द्रमा राखेर सीपमूलक कार्यक्रम ल्याउनुपर्छ । जसबाट उनीहरू आत्मनिर्भर बन्न सक्छन् । आत्मनिर्भर बन्दा सामाजिक हिंसा कम हुन्छ । उनीहरूका बालबच्चा परनिर्भर हुनुपर्दैन ।

जनकपुरको रामजानकी मन्दिरमा राष्ट्रपतिमाथि गरिएको दुव्र्यवहारलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
राजनीतिक मुद्दालाई सामाजिक कुरामा जोडियो । जानकी मन्दिरमा एकल महिला अहिलेसम्म त्यसरी अपमानित भएको थाहा छैन । उनीहरूले अरू केही नपाएपछि राजनीतिक मुद्दालाई विद्या भण्डारीमाथि विधुवा भनेर पोखे, त्यो एकदमै गलत कुरा हो । एउटी एकल महिलालाई अलच्छिना भनेर आफ्ना मुद्दा उठाउन खोज्नु सरासर गलत हो । तर, जनकपुरको घटना सबै मधेसवादी पार्टीले गराएको हो भन्न मिल्दैन । यसमा त एक–दुईजना कार्यकर्ता बोलेका हुन् । जो बोल्नु भो शिक्षित मात्र होइन, शिक्षक र प्याब्सनको उपाध्यक्ष पनि हुनुहुन्थ्यो । कार्यकर्ताले बोले पनि उहाँहरूले नबोल भन्नुपर्ने थियो, तर उहाँहरूले पनि सामाजिक सञ्जालको माध्यमबाट बोल्नुभो । उहाँहरूले तल्लोस्तरको निच काम गर्नुभो । एकजनाले त एकल महिला समूहमा भएर भन्नुभएछ, ‘विद्या भण्डारीलाई निशाना लगाउँदा तपाईंहरूलाई पर्‍यो, माफ गरिदिनुहोला ।’

राजनीतिक परिवर्तनका लागि देशमा ठूला–ठूला आन्दोलन भए, तर महिलालाई हेर्ने दृष्टिकोण बदलिएन, किन होला ?
अहिले पनि पितृसत्तात्मक सोचबाट पुरुष मात्र होइन महिला पनि माथि उठ्न सकेका छैनौँ । अर्को, महिलाको लैङ्गिक भूमिकाले गर्दा नेतृत्व तहमा पुग्नका लागि अवसर पनि कम प्राप्त हुन्छ । महिलाको मुद्दा उठाउन नेतृत्व तह र निर्णायक तहमा महिला पुग्न अत्यन्तै जरुरी हुन्छ र छ । महिला प्रतिनिधि होइन, निर्णय गर्न सक्ने हैसियत राख्ने महिला त्यो ठाउँमा पुग्नुपर्छ ।

एक–दुईजना महिला माथिल्लो पदमा पुग्नेबित्तिकै परिवर्तन हुन्छ भन्ने पक्षमा म छैन । जुन महिला माथिल्लो तहमा पुगेको छ, उसले महिलाका मुद्दालाई कसरी उठाउँछ ? कुन कुरालाई बढी महत्व दिन्छ र महिलाको पक्षमा निर्णय गर्ने हैसियत राख्छ–राख्दैन ? त्यस्तो निर्णय कार्यान्वयन गराउन पहल गर्छ–गर्दैन भन्ने विषयले बढी महत्व राख्छ ।

धर्म र संस्कारको आडमा महिलामाथि हुने हिंसाविरुद्ध समाजमा धेरैले मुख खोल्दैनन्, किन  ?
जनकपुरको घटनामा सबै महिला बोल्नुपर्दथ्यो, तर बोलेनन् । भोलि जो पनि महिला एकल बन्न सक्छन् । जसले भन्यो उनीहरूका श्रीमती पनि विधवा हुन सक्छन्, यसमा केही भन्न सकिँदैन । मृत्यु र जन्म त प्राकृतिक कुरा हुन् । सार्वजनिक रूपमा महिलाको सम्मानमा आँच आउने कुरा बोलेका बेला महिलावादी सोच राख्ने सबैले आवाज उठाउनुपर्दथ्यो । विडम्बना, एकल महिला मात्र बोल्नुपर्ने भयो । अघिपछि महिला अधिकार र मुक्तिका कुरा गर्नेको पनि आवाज सुनिएन । जसको मुद्दा हो, उही बोल्नुपर्छ भन्ने चिन्तनले हामीमा बलियो जरा गाडेको छ ।

केन्द्रदेखि गाविसस्तरसम्म एकल महिलालाई सङ्गठित गर्नुभएको छ, उनीहरूले भोग्नुपरेका मुख्य समस्या के–के हुन् ?
श्रीमानको मृत्युपछि एकल महिलाले भोग्ने पहिलो समस्या भनेको आर्थिक हो । सामाजिक अन्यायलाई उनीहरूले आफ्नो भाग्य ठानेर सहन्छन् । आर्थिक अभावले गर्दा अनौपचारिक क्षेत्रमा काम गर्न बाध्य हुन्छन् । श्रीमान हुँदा सामाजिक कार्य, विवाह र पूजामा अग्रसर भएर काम गरेका महिलालाई श्रीमानको मृत्युपछि गाउँमा नबोलाउँदा कस्तो पीडा हुन्छ होला ? यसरी हेर्दा सामाजिक रूपमा दिने मानसिक पीडा बढी छन् ।
दुई हजार ५० गाविसमा एक लाखभन्दा बढी एकल महिला सङ्गठित भएका छन् । एकल महिलालाई आफू बसेको घरमा आफ्नो अधिकार के हो भन्ने थाहा छैन । थाहा पाउने अवसर मिलेन । विवाह गरेर गएपछि उहाँहरूको भूमिका बाहिर निस्कन नसक्ने गरी घरभित्र सीमित गरिएको छ । अहिलेसम्म पनि कैयौँ दिदीबहिनीलाई सरकारले सामाजिक सुरक्षा भत्ता दिन्छ, न्यायका लागि सरकारले सहयोग गर्छ भन्ने नै थाहा छैन । समूहमा आबद्ध भएर ज्ञान लिनुपर्छ भन्ने सोच छैन । म त पुरुषलाई दोष दिन चाहन्नँ । अहिले महिलाले चाहे भने पुरुषले रोक्दै रोक्दैनन् । त्यसैले महिला आफैँ अग्रसर नभएसम्म परिवर्तन हुँदैन ।

तपाईंहरूले ‘रातो अभियान’ चलाउँदा झेल्नुपरेका समस्या र प्राप्त गरेका सफलता के–कस्ता रहे ?
विधवाबाट एकल महिला बनाउन र रातो अभियान चलाउन मलाई महिलाले होइन, पुरुषले साथ दिनुभएको हो । यो अभियानका लागि मैले धेरै धार्मिक गुरुहरूको साथ–सहयोग पाएँ । ठूला धार्मिक गुरुहरूसँग एकल महिलाबारे धेरैपटक छलफल गरेर उहाँहरूलाई बुझाउन सफल भएँ । त्यसपछि उहाँहरूको माध्यमबाट म समाजका एकल महिलामाझ पुगेँ । धार्मिक गुरुहरूले एकल महिलाले रातो लगाउन हुन्छ भन्दा सबैले मान्ने, तर हामीले भनेको नमान्ने हुँदा यो माध्यम अपनाउनुपर्‍यो । गाउँमा हामी मात्र गएर भनेको भए मिलेर कुट्न आउँथे होला ।

धार्मिक गुरुहरूपछि हामीले गाउँका पार्टीका नेताको सहयोग लियौँ । गाउँका पुरुषले रातो लगाउन हुन्छ भन्दा लगाउने पनि भेटिए । उहाँहरूबाट रातो लगाउने काम पनि सुरु गर्‍यौँ । यो अभियानबाट मैले बुझेको पुरुषलाई दोष दिएर हुँदैन, बुझायो भने उनीहरूले बुझ्दा रहेछन् । पितृसत्ता भन्ने कुरा महिला–पुरुष दुवैमा छ । त्यसकारण सबैलाई बुझाउनुपर्छ ।

मुलुकी ऐनमा रहेका विभेदकारी कानुनी व्यवस्था परिवर्तनपछि एकल महिलाको जीवनमा कस्तो फरक पाउनुभएको छ ?
सम्पत्तिमाथिको अधिकार सुनिश्चित भयो । पहिला एकल महिलाले श्रीमानको सम्पत्ति पाउन ३५ वर्ष कुर्नुपर्दथ्यो । अहिले २१–२२ वर्षमै पाउँछन् । यसले उनीहरूको जीवनमा ठूलो प्रभाव पारेको छ । सम्पत्ति आफ्नो हातमा हुँदा आर्थिक र सामाजिक रूपमा केही बलिया भए । अहिले एकल महिलाले विवाह गर्ने क्रम पनि बढेको छ । सबैभन्दा ठूलो परिवर्तन भनेको उनीहरू घरबाट निस्किएर सङ्गठित भएका छन् । उनीहरूले आफ्नो शोकलाई शक्ति बनाएका छन् । एकल महिला समूह भनेपछि गाउँगाउँमा प्रख्यात भइसकेको छ । राज्यले केन्द्रदेखि गाविससम्म एकल महिलाका लागि छुट्टै बजेट दिन्छ । धेरै ठाउँमा छहारी निर्माण गरेर आयमूलक काम गर्न थालेका छन् । एकल महिलाका लागि करोडौँ सामाजिक सुरक्षा बजेट भनेर छुट्याएको छ । समूहले सिफारिस गर्‍यो भने कानुनी लडाइँ लड्नका लागि आर्थिक सहयोग गर्ने, उपचार र बरखीको खर्चसम्म पाउने व्यवस्था भएको छ गाविसका महिलालाई । अर्को कुरा एकल महिला समूह मिलेर आयमूलक काम गर्न चाहेमा राज्यले पाँच लाखसम्म सहयोग दिन्छ ।

तत्कालीन विद्रोही पक्ष र राज्यपक्षका पीडित परिवारले समान सुविधा नपाएको कुरा उठाउनुभएको छ, कहाँ–कहाँ असमानता रहेछ ?
तीनवटा सुरक्षा निकायका घाइते र मरेर गएका परिवारको एउटा सङ्गठन छ । उनीहरूलाई राज्यले दिने सुविधा छ, जुन अरूभन्दा भिन्न छ । सबै पीडित सुरक्षा निकायको आश्रित परिवारले सात लाख ५० हजार पाएका छन् भनिएको छ । यसमा सर्वसाधारणले पाउनेभन्दा फरक छ । पार्टीमा लागेर मरेकाहरूलाई सहिद घोषणा गरेर १० लाख दिएको छ । सहिद परिवार भन्दै छोरा–छोरीलाई शिक्षालगायतका सुविधासमेत दिएको छ । घाइतेलाई मासिक तलब र सहयोगी पनि दिएको छ । त्यही लडाइँमा परेर मरेका सुरक्षा निकायका परिवारलाई दिने सहयोग अत्यन्तै गाह्रो गरी पाइन्छ । सुरक्षा निकायका तीनवटा अङ्गभित्र पनि परिवारलाई दिने सेवा–सुविधा फरक छन् । एउटै प्रकृतिको घटनामा फरक किन ?

नयाँ संविधानमा व्यवस्था भएको नागरिकताको हक एकल महिलाको हितमा छ ?
आमाको नामबाट नागरिकता दिने व्यवस्था एकल महिलाका लागि हो । आमाको नामबाट नागरिकता दिने कुरा सुन्दा खुसी लाग्यो,तर घुमाएर बुबा पनि चाहिने कुरा लेखिएकाले एकल महिलाको पक्षमा देखिएन ।

अन्य मुलुकका एकल महिलाको अवस्थाबारे अध्ययन गर्नुभएको छ ? छ भने समस्या उस्तै हुन् वा फरक छन् ?
दक्षिण एसियाको कुरा गर्ने हो भने भारत र नेपालका एकल महिलाका समस्या उस्तै हुन् । मुस्लिम र हिन्दू धर्म मान्ने एकल महिलाले भोग्नुपरेका समस्याहरू फरक छन् । हिन्दू धर्म मान्ने एकल महिलाले धेरै समस्या भोग्नुपरेको देखिन्छ । कतिपय ठाउँमा मुस्लिम धर्म मान्ने भएपनि एकल महिलाको हकमा हिन्दू धर्म मान्ने महिलाले जस्तै पीडा भोग्नुपरेको पाइन्छ ।

भुटानमा एकल महिलाको समस्या छैन । उनीहरूले एकल भएपछि सजिलै विवाह गरेकै हुन्छन् । अफ्रिकामा हेर्ने हो, भने एकल महिला जति एचआईभी/पीडित छन् । श्रीमान मरेर त गए, तर एचआईभी सारेर गए । त्यहाँ हजारौँ एकल महिला छन् । उनीहरूका छोराछोरीलाई पनि एचआईभी/एड्स भएको पाइन्छ । अहिले पनि अफगानिस्थानमा १० हजार श्रीमान हराएका एकल महिला छन् । उनीहरूको श्रीमान मरे–बाँचेको पत्तो छैन । इराकमा विधवा महिला नभएको घर नै छैन ।

एकल महिला र अन्य महिलाले भोग्ने समस्यामा के फरक छ ? एकल महिलामाथि हुने हिंसाको जड के हो ? समाधान कसरी गर्ने ?
जबसम्म हाम्रो समाजमा वैवाहिक आधारमा हुने विभेदको अन्त्य हुँदैन, तबसम्म कुनै पनि महिला हिंसामुक्त हुन सक्दैनन् ।

प्रकाशित मिति २०७२ पुस २८ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: