कथा ८३ हजार २४० रूपैयाँको


प्रकाशित मिति :2016-01-12 11:19:16

कुनै पनि महिलाको सफलताको पछाडि उसको परिवारको ठूलो हात हुन्छ भन्ने पार्वताको ठहर छ  । ‘मेरो घरमा मेरो ससुराले धेरै सहयोग गर्नुभएको छ, उहाँ आफू पनि पहिले स्थानीय नेता भएकाले होला,’ पार्वता भन्छिन्, ‘उहाँको सहयोग नभएको भए म अगाडि बढ्न सक्दिनथेँ ।’

पार्वता कार्की
भेरीगंगा नगरपालिका–५, मैनतडा, कार्की टोल
Untitled

सुर्खेत । ‘खै कहाँ छ हामीले बुझाएको पैसा ?’ उनको यही प्रश्नले वर्षौंदेखिको बेथिति भण्डाफोर भयो । यस्तो प्रश्न गर्न सक्ने उनीभन्दा धेरै पाका महिला गाउँटोलमा थिए । तर, अघि सरिन् २६ वर्षीया पार्वता कार्की ।

ठाउँमै पुगेर सम्बन्धित व्यक्तिलाई सिधा प्रश्न सोधेपछि वर्षौंदेखि हिनामिना हुँदै आएको रकममात्र असुल भएन, स्थानीय समाजमा पारदर्शिता र जवाफदेहिता पनि स्थापित भयो ।

भेरीगंगा नगरपालिका–५, मैनतडा, कार्की टोलकी पार्वताले सरकारी बाँझो जग्गाको आम्दानी हिनामिना भएपछि उक्त प्रश्न गरेकी थिइन् । ‘प्रश्न गर्ने वातावरण बनाउन मलाई कम्ती हैरानी भएन,’ उनी भन्छिन्, ‘सजिलै उठाइएको होइन ८३ हजार २ सय ४० रूपैयाँ ।’

कार्की टोलमै रहेको दमार क्षेत्रको आम्दानी हिनामिना भएपछि स्थानीय महिला असन्तुष्ट थिए । तिनै असन्तुष्ट महिला आवाजलाई नेतृत्व दिइन्, पार्वताले । झन्डै १०–१२ वर्षदेखि दमारको आम्दानीमा सीमित व्यक्तिले भोगचलन गर्दै आएका थिए । यो जग्गा राष्ट्रिय वन होइन, चुुरेमा रहेको बा“झो भिरपाखो हो, जहाँ झाडी–बुट्टयान र सालका रुख छन् ।

सयौं हेक्टर क्षेत्रफलको यो जग्गा व्यवस्थापन गर्ने नाममा एक दशकअघि बनेको दमार वन संरक्षण उपभोक्ता समिति र तिनका पदाधिकारीले आम्दानीमा मनलागी गरिरहेका थिए । त्यो आम्दानी भनेको स्थानीय उपभोक्ताले तिरेको कर नै हो । ‘सरकारी सम्पत्ति उपभोग गरेबापत उपभोक्ताले तिरेको कर केही व्यक्तिले मात्र कहाँ चलाउन पाइन्छ र ?’ टोल–समाजमा यो प्रश्न भित्रभित्रै उठिरहेको थियो । तर, कसैले सोध्ने हिम्मत गरेका थिएनन् ।

‘पुरुषहरू उतै मिल्ने र महिला बोल्न नसक्ने अवस्था थियो,’ पार्वताले भनिन् ।
दमार क्षेत्रमा घाँस, दाउरा, थागल, खर, ढलेर सुकेका काठ, स्याउलालगायत वस्तु निकाल्न स्थानीयले पुर्जी काट्ने व्यवस्था थियो । त्यसबापत एउटा निश्चित रकम दमार कार्य समितिलाई बुझाउनुपथ्र्यो । यसरी बुझाएको रकम समितिका केही पदाधिकारीले भोगचलन गर्दै आएका थिए ।

पार्वताका अनुसार करिब एक दशक अघिदेखिको पैसा हिसाबकिताब गरिएको थिएन । समितिका अधिकारीले आ–आफ्नो किसिमले जहाँ मन लाग्यो त्यहीँ बसेर पुर्जी काट्थे । र, पैसा उठाउँथे । हिसाबकिताब राख्ने चलनै थिएन ।

‘चाउचाउको कार्टुनलाई टुक्रा बनाउने र त्यसैमा नम्बर लेखेर पुर्जी दिने गरिन्थ्यो । पैसा लिइन्थ्यो तर रसिद दिने चलन थिएन,’ पार्वताले दमार समितिको बेथिति सुनाइन् । गाउँटोल समाज सबैलाई यस्तो बेथितिबारे थाहा थियो तर कसैले आवाज उठाएका थिएनन् ।

समाजमा उनीभन्दा पाका र उमेर खाएका महिला धेरै थिए । तिनले यो बेथितिबारे अघि सरेर कुरा उठाउने हिम्मत गरेनन् । ‘अलिअलि पढेलेखेको र टाठोबाठो ऊ नै थिई, त्यसैले हामी सबै मिलेर उसलाई अघि सार्‍यौं,’ पार्वताकी गुरु जीवनज्योति महिला छलफल केन्द्रकी अध्यक्ष विष्णु रोकायाले भनिन्, ‘ऊ अघि बढी, हामी सबैले पछाडिबाट सहयोग गर्‍यौं ।’

Untitled2

पार्वता माथिल्लो कार्की टोलमा रहेको हरियाली चिसापानी सामुदायिक वनकी सचिव पनि हुन् । उनी आफ्नो वन हराभरा भएको देख्छिन् । उजाड हुँदै गएको वन एक वर्षअघि मात्र सामुदायिक वनमा दर्ता गरेको सम्झन्छिन् । यसले बर्सेनि आम्दानी गरिरहेको छ भन्ने पनि उनलाई थाहा छ । यसबाट उपभोक्ताको आवश्यकता पूरा भएको छ । तर, नजिकैको सरकारी दमार क्षेत्र दिनप्रतिदिन फडानी भइरहेको छ । हरिया रुख मासिएका छन् । चरिचरण जथाभाबी छ । पुर्जीका नाममा उठाइएको पैसा पनि हिनाहिना भएको छ । समितिका पदाधिकारीले मनलागी रुख काटेर व्यक्तिगत प्रयोग गरिरहेका छन् । सार्वजनिक सुनवाइ कहिल्यै हुँदैन । कार्य समिति बैठक पनि कहिल्यै बोलाइँदैन ।

 ‘यी सबै कुरा मनमा खेलिरहे, आखिर यो वन पनि त हामीले नै गरेर भएको हो । त्यो दमारलाई पनि किन नबनाउने भन्ने सोच मनमा एकाएक आयो । यो कुरा मैले आफ्नो समूहमा राखेँ, समूहका अग्रज महिलाले तिमी अलि पढेलेखेकी छौ, टाठीबाठी पनि छौ, तिमी अघि बढ हामी सहयोग गर्छौं भन्नुभयो,’ पार्वता भन्छिन् ।

पार्वता सचिव रहेको वन समूहको कार्यसमितिमा अध्यक्ष र सहसचिवबाहेक अन्य सबै पदमा महिला छन् ।
‘मैले दमारको कुरा आफ्नो वनको अध्यक्षसँग पनि राखेँ, उहाँले पनि हामीलाई दमारको अनियमितता सार्वजनिक गर्न हौसला दिनुभयो,’ पार्वता भन्छिन्, ‘तल्लो टोलका पढेलेखेका बुद्धिजीवी पुरुषले पनि उत्साह बढाइदिनुभयो ।’

सबैतिरबाट उत्प्रेरणा पाएपछि दमारको रकम असुल गर्ने अठोटसहित ०७१ साउनमा महिला आन्दोलन सुरु भयो । पहिलोपटक पार्वता एक्लै दमार वन संरक्षण उपभोक्ता समितिका अध्यक्ष नरबहादुर वलीलाई भेटन गइन् । उनले उपभोक्ता सम्मिलित बैठक डाक्न बारम्बार वलीलाई आग्रह गरिन् तर उनको सुनुवाइ भएन । ‘पछि धेरै महिला गएर भन्यौं, त्यतिबेला पनि टेरपुच्छर लगाउनुभएन,’ उनले भनिन्, ‘मेरो दोस्रो प्रयास पनि असफल भयो ।’

पार्वताका अनुसार तेस्रोपटक टोलभरका महिला एकजुट भएर गएपछि मात्र वलीले बैठकको मिति तय गरे । अध्यक्षसहित दमार समितिका केही पदाधिकारी बैठकमा आए । अन्य पुरुष भने बैठकमा सहभागी नै भएनन् । यही पहिलो बैठकमा पार्वताले अध्यक्षलाई सोधेकी हुन्, दमार क्षेत्रको कमाइको हिसाबकिताब ।

उनको अर्को प्रश्न थियो– ‘हिनामिना भएको पैसा र वन बचाउन कतैबाट कोसिस नहुँदा हाम्रो त मन दुख्छ, तपाईंको दुख्दैन ?’
महिलाहरूबाट प्रश्नका वाण बर्सिन थालेपछि अध्यक्षले यसरी जबाफ दिएका थिए, ‘पैसा कतै गएको छैन, हामीले चलाइरहेका छौं, बुझाउँछौं ।
‘अध्यक्षको जबाफपछि हामी केही ढुक्क भयौं,’ पार्वताले भनिने्, ‘कति पैसा क–कसले चलाइरहेको छ, त्यसको हिसाबकिताब पनि माग्यौं ।’
हिनामिनाको जानकारी तल्लो टोलका महिलालाई पनि थियो । तर, उनीहरूमा भण्डाफोर गर्ने आँट थिएन । पार्वताका अनुसार सबै विषय भण्डाफोर भएपछि हिसाबकिताबको खोजी भयो । महिलाहरूले समितिका सबै अधिकारीसँग बसेर छलफल गरे । सबैतिर हल्लीखल्ली मच्चियो । र, अन्तमा ८३ हजार २ सय ४० रूपैयाँको हिनामिना सार्वजनिक भयो । यो पैसा दमार समितिका पदाधिकारी र सदस्यले चलाएको खुल्न आयो । असुल भएको पैसा के गर्ने भन्ने विषयमा दुवै टोलका महिला भेला भए । उनीहरूले त्यो रकम स्थानीय नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय खुरिल्लालाई दिने निर्णय गरे । पार्वता यही स्कुल व्यवस्थापन समितिमा संस्थाका तर्फबाट सदस्य पनि छिन् । उनलाई स्कुलको अवस्थाबारे राम्ररी ज्ञान छ । तीन जनामात्र दरबन्दी शिक्षक रहेको यो विद्यालयमा ८ जना शिक्षक स्थानीय स्रोतबाट पढाइरहेका छन् ।

‘त्यो रकम बैंकको मुद्दती खातामा राखेर त्यसको ब्याजबाट विद्यालयको विकास निर्माण र विद्यार्थीको छात्रवृत्तिमा खर्च गर्ने भनेर महिला दिदी–बहिनीले निर्णय गर्नुभएको छ,’ विद्यालयका प्रधानाध्यापक भुपेन्द्रकुमार रोकायाले भने, ‘अहिले त्यो पैसा शौचालय बनाउन खर्च भएको छ । पछि त्यसलाई बैंकमा राखेर निर्णयअनुसारको प्रयोजनमा खर्च गर्नेछौं ।’

०७१ साउनमा सुरु भएको दमार भण्डाफोर अभियान पुस अन्तिममा टुंगिएको थियो । रोकायाका अनुसार महिलाले उठाएको रकम एक वर्षको मात्र हो । ‘यो त एक वर्षको हिनामिना रकममात्र हो, त्यसअघि पनि धेरै रकम हिनामिना भएको हुुनुपर्छ,’ उनी थप्छन् ।

पार्वता नेतृत्वको आन्दोलनले दमारको हिनामिना भएको रकममात्र असुल गरेन, दमार वन संरक्षण उपभोक्ता समितिलाई लोकतान्त्रिक पद्धति अंगाल्न बाध्य पनि बनायो ।

हिनामिना भण्डाफोर भएपछि दमारको पुरानो कार्यसमिति भंग भएको छ । आफ्ना कमी–कमजोरी सार्वजनिक भएकाले पुराना व्यक्ति समितिमा बस्न मानेनन् । अहिले दुवै टोलका महिलाको सक्रियतामा नयाँ तदर्थ समिति गठन गरेका छन् । दमार संरक्षण व्यवस्थापन र सदुपयोगका सबै हिसाबकिताब रजिस्टरमा दर्ता गर्छन् । समय–समयमा उपभोक्ता भेला र सार्वजनिक सुनवाइ पनि गरिरहेको पार्वता बताउँछिन् । सँगसँगै, दमारको वनलाई सामुदायिक वनका रूपमा दर्ता गर्ने पहल पनि सुरु भएको छ ।

‘अब जुनसुकै संघ–संस्थामा अनियमितता र रकम हिनामिना हुन दिनुहुँदैन भन्ने चेतना फैलिएको छ, टोल, समाज र छिमेकमा भइरहेका यस्ता जस्तोसुकै बदमासीको भण्डाफोर गर्न हामी सक्छौं भन्ने आत्मविश्वास बढेको छ,’ पार्वताले भनिन् ।

एक महिलाका लागि यो आन्दोलन त्यति सहज पक्कै थिएन । छ महिना आफैंमा लामो समय पनि हो । हरेक दिन, हरेक क्षण घर छाडनुपर्ने अवस्था थियो, उनलाई । पारिवारिक जिम्मेवारी एकातिर थियो भने अर्कातिर सामाजिक संरचनाको नेतृत्वले उनलाई हरेक पल चिमोटिरहन्थ्यो ।

०४५ सालमा जन्मिएकी पार्वताको १६ वर्ष उमेरमै विवाह भएको थियो । उनका ११ र ३ वर्षका दुई छोरा छन् । श्रीमान भारतमै बसेर कमाइ गर्छन् । घरमा ५९ वर्षीय ससुरा चन्द्रबहादुर कार्की र ६० वर्षीया सासू खली कार्की छिन् । तीन भाइमध्ये माहिलाकी श्रीमती हुन् पार्वता । घर एउटै भए पनि तीन भाइको भान्छा छुट्टै छ ।

कुनै पनि महिलाको सफलताको पछाडि उसको परिवारको ठूलो हात हुन्छ भन्ने पार्वताको ठहर छ । अझ त्यसमा पनि कुनै एक सदस्यको भरपुर सहयोग नभएसम्म महिलालाई अघि बढ्न गाह्रो हुने उनी बताउंँछिन् । ‘मेरो घरमा मेरो ससुराले धेरै सहयोग गर्नुभएको छ । उहाँ आफू पनि पहिले स्थानीय नेता भएकाले होला, बाहिरी समाज र दुनियाँबारे धेरै जानकार हुनुहुन्छ,’ पार्वता भन्छिन्, ‘उहाँको सहयोग नभएको भए म अगाडि बढ्न सक्दिनथेँ होला ।’

उनको एउटा अनुभव यस्तो छ— पार्वतालाई सुर्खेत, वीरेन्द्रनगरमा एउटा तालिममा भाग लिन जानुपर्ने थियो । त्यतिबेला उनी छलफल केन्द्रकी सहभागी सदस्य मात्र थिइन् । सहजकर्ता थिइन्, विष्णु रोकाया जो अहिले अध्यक्ष छिन् । विष्णुले पार्वतालाई तालिममा पठाउन ससुरासँग आग्रह गरिन् ।

त्यो वैशाख महिनाको समय थियो ।
‘तँ गइस् भने तोरीमा कसले दाइँ लगाउँछ ?’ सासूले प्रश्न गरिन् ।
पार्वताले जबाफ नदिँदै ससुराले बीचैमा भने, ‘म दाइँ लगाउँछु, तिमी तालिममा जाऊ ।’
‘अघिपछि पनि ससुरा आफैंले घाँस काटेर मलाई छलफल केन्द्र, वन समूह र विद्यालय समितिको बैठकमा भाग लिन पठाउने गर्नुहुन्छ,’ पार्वता सम्झन्छिन् ।

पार्वताका ससुरा चन्द्रबहादुर बुहारीको वाहवाहीबाट दंग छन् । ‘जहाँ पनि अगुवै हुन्छे, चतुर छे नि, हामीले घरमा सहयोग नगरेको भए कसरी गर्न सक्थी र !’ उनले सेतो जुंगा सुम्सुम्याउँदै भने, ‘घरका काम हामी बूढाबूढीले गर्ने हो । छोरा छोड्छे, कालो झोला भिर्छे र दगुरिरहन्छे ।’ आफ्नै पहल र जोडमा बुहारीलाई सामाजिक कार्यमा सहभागी गराएको उनको भनाइ छ ।

 ‘फलानोकी बुहारी यतिविधि अघि बढी भनेर गाउँभरि चर्चा हुन्छ, म दंग पर्छु, ऊ बाहिर गई भनेर मलाई कुनै पिर छैन,’ चन्द्रबहादुरले भने ।
पार्वताको अनुभवमा ससुराभन्दा सासू अलि कडा मिजासकी छन् । तैपनि सकी–नसकी बुहारीलाई सहयोग गरेकी छन् ।

तोरीबारीमा तोरी उखेल्दै गर्दा भेटिएकी पार्वताकी सासू साँच्चै खरो स्वभावकी रहिछन् । कुरा उठाउनासाथ उनले भनिन्, ‘६–७ दिन घर नआउँदा रिस उठ्छ । कहिले पिट्न पनि खोज्छु, कहिले चाहिँ टिठ लाग्छ ।’सासूले यसो भनिरहँदा पार्वता छेउमा मुसुमुसु हाँसिरहेकी थिइन् ।
उनको सफलताका पछाडि सासूको भूमिका कम छैन । उनका छोरा र सम्पत्ति स्याहार्न आफू व्यस्त हुने गरेको सासू खलीले बताइन् । ‘नजा भन्दा पनि बोल्दै नबोली हिँड्छे,’ उनले भनिन् ।

सासू–ससुराको जोडबलमा प्रगतिपथमा अघि बढेकी पार्वतालाई श्रीमानले भने त्यति साथ दिएका छैनन् । पार्वता श्रीमानसँगको अनुभव यसरी सुनाउँछिन्, ‘भारतमा धेरै बस्ने हुनाले उहाँलाई बुझाउन अलि गाह्रो हुन्छ । जाऊँ त भनेर सोधे नाइँ भन्नुहुन्न तर सँगै जानुहुन्न ।’
०५९ सालमा आठ कक्षा उत्तीर्ण गरेकी पार्वता स्थानीय छलफल केन्द्रकी सहजकर्ता पनि हुन् । पहिलेकी छलफल केन्द्रकी सहभागी पार्वता अरूभन्दा निकै अघि बढिसकेको उनकी गुरु विष्णु रोकाया बताउँछिन् ।

‘म सहजकर्ता हुँदा यसले धेरै राम्रो गरी, लगनशील, नया कुरा सिक्न खोज्ने, निडर र सहयोगी भएकाले नै यो अहिले अरू महिलालाई उछिनेर सहजकर्ता भएकी छ, जुनसुकै कार्यक्रममा प्रभावकारी नेतृत्वको भूमिका निर्वाह गरेकी छ,’ रोकायाले भनिन् ।

पार्वताले अहिलेसम्म धेरै तालिम, गोष्ठीलगायत कार्यक्रममा भाग लिएकी छन् । नेतृत्व विकास, आधारशीला, रिफलेक्ट, पिआर र टुल्स, भित्ते पत्रिका, सामुदायिक अंक तालिका, पोषण तथा सन्तुलित भोजन, लैंगिक र पूर्व सहकारीजस्ता दर्जनभन्दा बढी तालिम लिइसकेकी पार्वता आफ्नो गाउँबाट सबैभन्दा टाढा गएको ठाउँ नै वीरेन्द्रनगर हो । सरकारले पछिल्लो समय सुर्खेतका छिन्चु, मैनतडा र दशरथपुर गाविसलाई गा“भेर भेरीगंगा नगरपालिका बनाएको छ ।

आठ कक्षासम्मको पढाइ, ससुराको सहयोग र लगनशीलताले उनी नेतृत्व तहमा पुगेकी हुन् । १६ वर्षकै उमेरमा वैवाहिक सम्बन्ध गा“सेकी पार्वता माइतकी सात सन्तानमध्ये चौथी हुन् । उनीभन्दा माथिका कुनै पनि दिदीले ६ कक्षाभन्दा बढी उत्तीर्ण गरेका छैनन् । विवाह गरेर घर भित्रिँदा उनी परिवार बाहिरका मान्छे देख्दा पनि डराउँथिइन् । घरबाट बाहिर ननिस्किने उनको स्वभाव थियो । पहिलाकी सहजकर्ता विष्णुको पटक–पटकको आग्रहपछि उनी छलफल केन्द्रमा जान थालेकी हुन् ।

उनको नेतृत्वमा दमारको हिनामिना भएको रकम मात्र होइन, स्थानीय तहमा विकास निर्माणका थुप्रै काम भएका छन् । जीवनज्योति महिला समूहको पहलमा गाउँका घरघर पुग्ने बाटो खनिएको छ । सामुदायिक वनको १ लाख ८० हजार रूपैयाँ खर्च गरेर यो बाटो बनाइएको हो । यसबाट बचेको खर्चले १४ तालबाजा बनाइएको छ । यी बाजा वैवाहिक कार्यक्रममा भाडामा दिइन्छ । विभिन्न वैवाहिक तथा पूजापाठका कार्यक्रममा स्थानीय संस्कृति भल्किने खालका कार्यक्रम पनि गरिन्छ । त्यसबापत निश्चित रकम लिने गरिन्छ ।

पछिल्लो समय समूह सामुदायिक भवन बनाउने पहलमा जुटेको छ । भैंसीको खाल बसाल्ने ठाउँमा माटोले पुरेर भवनका लागि जग्गा तयार गरिएको छ । त्यसमा घर बनाउन स्थानीय खोलाबाट आफैंले ढुंगा बोकेर ल्याएका छन् उनले । ‘कुनै बेला घरदेखि बाहिर ननिस्किने मान्छे हुँ, घर–व्यवहारमा सीमित थिएँ, अहिले यहाँसम्म आइपुगेकी छु,’ पार्वता भन्छिन्, ‘अझै धेरै माथि उक्लिनुछ ।’

याे लेख अक्स्फामका लागि रेडियो सगरमाथाद्वारा तयार पारिएको ‘सफलताका  पाइलाहरू ‘ नामक पुस्तकबाट साभार गरिएकाे हाे

प्रकाशित मिति :२०७२ पुस २८ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: