पुस दोस्रो र तेस्रो साता आफनै लोग्नेबाट क्रुरतापूर्वक मारिएका श्रीमतीको आत्माले पनि प्रश्न गर्दो हो– आफ्नी मायालु माथि समेत मानिस किन यति क्रुर हुन्छ?
दुर्गा कार्की
ललितपुर । पुस दोस्रो हप्ता एकजना युवकले कैलालीको जगंलमा लगेर श्रीमतीको निर्मम हत्या गरे। छ महिना अघि प्रेम विवाह गरेका २० वर्षीय हिमबहादुर नेपालीले आफ्नी श्रीमती १७ वर्षीया आरती नेपालीको हत्या गरेको प्रहरी सामु स्वीकार गरे। उनले हाकाहाकी स्विकार गरे, ‘श्रीमतीले भनेको मानिन, मारिदिएँ।’
सुखड–भजनी सडक खण्डबीचमा पर्ने किर्तिपुरको जंगलमा उनीहरुले प्रेमालाप गरे। हिमबहादुरले श्रीमतीलाई काखमा बसाए। माया देखाए, अनि आफ्नै काखमा बसेकी श्रीमतीको छुरी घोपेर हत्या गरे। प्रहरीका अनुसर आरतीको यौनाङ्ग छतविक्षत थियो। हिमबहादुरले श्रीमतीको घाँटी र यौनाङ्गमा छुरी हानेर हत्या गरेका थिए।
याे पनि पढ्नुहाेस
‘भनेको नमानेपछि श्रीमतीको हत्या गरेँ’
२७ पुसमा रुपन्देहीमा एकजना श्रीमानले आफ्नी ८ महिनाकी गर्भवती श्रीमतीको हत्या गरे। निहुँ थियो यौन सम्पर्क गर्न नदिएको। रक्सी खाएर मध्यरातमा आएका २५ वर्षीय शैलेस मल्लाहले श्रीमती सुनितासँग यौन प्रस्ताव राखे, तर बच्चालाई असर गर्छ भनेर श्रीमती मानिनन्। रिसको झोंकमा उनले पेटमा निर्मम लात्ती र मुक्का प्रहार गरे र गर्भवती श्रीमतीको हत्या गरे।
किन मानिस यति क्रुर हुन्छ, त्यो पनि आफ्नी मायालुमाथि समेत ? मनाेरोग विशेषज्ञ करुणा कुवँरका भनाइमा, कडा खालको मानसिक रोगबाट गुज्रिएको व्यक्ति यस्तो हिंसामा सहजै संलग्न हुन्छ।’ कस्ता मानिस यस्तो क्रुर अपराध गर्न उत्प्रेरित हुन्छ भन्ने महिला खबर डट कमको जिज्ञाशामा कुवँरले भनिन् ‘ब्यक्तिले एकै पटकमा हत्या गर्दैन, पहिलादेखि नै उ हिंसामा संलग्न भइरहेको हुन्छ र हत्यासम्म आइपुग्छ।’
कुवँर भन्छिन्, ‘परिवारले पनि उसको बानी यस्तै हो भनेर सामान्य सम्झाइ बुझाइ गर्छ। उसको व्यवहार गलत भन्छ, तर उसभित्र गुज्रिरहेको भयानक रोगका बारेमा ध्यानै दिँदैन परिणाम उ यस्तो क्रुर हुन पुग्छ।’ यस्तो मानसिक रोग लागेका व्यक्तिहरू अघिपछि राम्रो व्यवहार गर्ने, समाजमा घुलमील हुने कुँवरको भनाइ छ।
अधिकारकर्मी बन्दना राणाका विचारमा संस्कार मुख्य कुरा हो। राणा भन्छिन्, ‘श्रीमानले भनेपछि जतिसुकै बेला पनि तयार हुनुपर्ने र इन्कार गर्ने बित्तिकै उसको पुरुषत्वमाथि आघात पर्ने ‘मेल इगो हर्ट’ हुने कारणले उनीहरूलाई यस्तो क्रुर हिंसा गर्न उत्साहित गराउँछ।’ राणाका भनाइमा ‘यस्तो खालको संस्कार उसले आफ्नो परिवार र समाजबाटै सिकेको हुन्छ।’ यसले सिकाउने पाठ के हो ? राणा भन्छिन्, ‘आफ्ना छोरालाई कस्तो संस्कार दिने र असल नागरिक बनाउने भन्ने कुरामा खास गरि पुरुषहरू नै अघि सर्न ढिलो भइसकेको छ।’
यस्ता व्यक्तिलाई कार्वाही गर्नु सट्टा उम्काउने प्रयास धेरै हुने हुनाले हिंसा गर्नेहरुलाई प्रोत्साहन मिलेको राणाको भनाइ छ। विश्वभर महिला आफ्नै श्रीमान, आफन्त र चिनेजानेकाबाट सवै भन्दा असुरक्षित रहने गरेको र घर नै महिलाको लागि झन् झन् असुरक्षित बन्दै गएको उनको टिप्पणी थियो।
अधिकारकर्मी विष्णुकला भण्डारीले महिलामाथि हुने क्रुर हिंसालाई राज्यले सामान्य रुपमा लिने गरेकोले यस्ता घटना बढिरहेको बताइन। निरास हुँदै उनले भनिन्, ‘अहिले राज्यको उपस्थितीको अनुभूति कहीँ पनि छैन, त्यसकारण महिलामाथिका यस्ता गम्भीर अपराध भइरहेका छन् र हामीले राज्यसँग आशा गर्नु नै वेकार छ।’
अधिवक्ता मीरा ढुङ्गाना यस्ता क्रुर अपराध गर्नेलाई दिनेे कडा सजायँ आजन्म कैदमात्रै हुने बताउँछिन्। २० वर्षको जन्मकैदले नपुग्ने उनको बुझाइ छ। ढुङ्गानाको ठहर यस्तो छ –’राजनीतिक आबद्धता भएपछि जहाँ जे गरेपनि हुन्छ भन्ने मानसिकताले यस्तो अपराध घटनु साटो बढिरहेको छ।’
प्रकाशित मितिः २०७२ पुस २९ गते बुधवार
Comment Here!