जमुना वर्षा शर्मा
पोखरा । कास्की जिल्ला कारागारमा बन्दी जीवन व्यतित गरिरहेकी २३ वर्षीय विष्णु सुनारले आफूहरूको गरेको गल्तीको सजाय डेढ वर्षको बच्चाले भोग्न नपरोस् भन्दै उसको बाल अधिकार रक्षा गरिदिन आग्रह गरेकी छिन् ।
मानव बेचबिखन मुद्दामा जेल परेकी सुनारले महिला खबरसँग कुरा गर्दै भनिन् ‘हामी श्रीमान श्रीमतिलाई नै १५ वर्षको कैदको फैसला भएको छ, गल्ती गरेपछि गल्तीको सजाय भोग्नुनै पर्छ,तर यो निर्दोष बालकले अनाहकमा बन्दी जीवन व्यतित गर्न बाध्य भयो । यसको पठनपाठन र हेरचाहका लागि कसैले सहयोग गरिदिए यसको भविष्य बिग्रने थिएन ।’
नौ महिना अघि मानव बेचीविखनको मुद्दामा पक्राउ परेका सुनार दम्पत्तिलाई कसूर हेरी कास्की जिल्ला अदालतले १५ वर्ष कैदको फैसला सुनाएको हो ।
उनका श्रीमान सुधन पासवान हाल तनहुँ कारागार छन् भने विष्णु डेढ वर्षको बच्चा सहित कास्की जिल्ला कारागारमा छिन् । उनको अहिलेसम्म विवाह दर्ता भएको छैन भने उनका सन्तानको जन्म दर्ता पनि हुन सकेको छैन । माइतीको संरक्षणमा रहेको पाँच वर्षको जेठो छोरा पनि पढ्नबाट बञ्चित भएको सुनारले बताइन ।
लायन्स क्लब अफ पोखरा गण्डकीका अध्यक्ष सीता पाण्डेले डेढ वर्षीय बालक सुरज पासवानको स्वतन्त्र जीवनको रक्षार्थ आफूहरूले सक्दो पहल गरिरहेको बताउनुभयो । ‘बाल अधिकारको संरक्षण र उनको स्वतन्त्र जीवनयापनका लागि प्रक्रियागत प्रयासहरू जारी रहेका छन्’ पाण्डेले भन्नुभयो ।
कास्की जिल्ला कारागारका प्रमुख हरि प्रसाद गौतमले निज बालकको संरक्षणका लागि सम्बन्धित निकाय र सरोकारवालाहरूसँग छलफल भइरहेको प्रतिक्रिया दिनुभयो ।
प्रकाशित मिति : २०७२ पुस २९ गते बुधवार
Comment Here!