घरबाटै सुशासन अभियान


प्रकाशित मिति :2016-01-14 12:20:14

 

सुर्खेत ।आफ्नै श्रीमानले समेत वनको रकम खाएको थाहा पाएपछि पनि सार्वजनिक सम्पत्ति हिनामिना रोक्ने अभियान छाडिनन् कमलाले लेखपराजुल गाविसमा रहेको श्री सरस्वती सामुदायिक वनको आम्दानी हिनामिना भइरहेको चर्चा गाउँभरि फैलियो । विस्तृत जानकारी भने कसैले बाहिर ल्याउन सकेको थिएन ।

कमला शाही

सार्वजनिक सम्पत्ति व्यक्तिले आफूखुसी चलाउनु अपराध हो भन्ने बुझेका गाउँमा प्रसस्त थिए । तर वनको आम्दानी कसले, किन र कसरी हिनामिना गरिरहेको छ ? सार्वजनिक सम्पत्ति कसले चलाइरहेको छ भन्ने गुपचुप नै थियो । कसैले खोजीनिती गरेको थिएन ।

भर्खरै महिलाको छलफल केन्द्र सञ्चालनमा आएको थियो गाउँमा । ‘सिर्जनशील सामुदायिक छलफल केन्द्र’ मा महिला भेला भएर आफ्ना अधिकार, आफूमाथि भइरहेका हिंसा, स्थानीय संरचना, नेतृत्वलगायत विषयमा छलफल गर्थे । समस्या समाधानका उपाय पहिल्याउँथे ।

kamala shaiयही क्रममा वनको आम्दानी हिनामिना भएको खबर छलफल केन्द्रमा ठूलो मुद्दाका रूपमा उठ्यो । केन्द्रमा सहभागी महिला पुरुषले गरेका बदमासी सच्याउनुपर्छ भन्न थाले । उनीहरूले यो कुरा घरमा गएर आफ्ना श्रीमानसमक्ष पनि राखे ।

श्रीमानका प्रतिक्रिया सुनेर ती महिलाले थाहा पाए, सार्वजनिक आम्दानी आफूखुसी चलाउनेमा आफ्नै श्रीमान पनि रहेछन् । पुरुषहरूले यो विषय नउठाउन आफ्ना श्रीमतीलाई धम्की दिए । ‘घरको कुरा केन्द्र लगेर गर्ने होइन, यस्तो कुरा गर्‍यौ भने म केन्द्रमा जान दिन्न’ सम्म भनेछन् ।

त्यसपछि केन्द्रमा बिस्तारै यो मुद्दाबारे छलफल कम हुँदै गयो ।
हिनामिना भएको रकम उठाउने साहस कसैले गर्न सकेन । यत्तिकैमा केन्द्रकी सहजकर्ता कमला शाहीले भनिन्, ‘थाहा पाइपाई आफ्नै परिवारका सदस्यलाई यस्तो अपराध गर्न दिनुहुँदैन । सच्याउनुपर्छ । म यसको नेतृत्व लिन्छु । तपाईंहरू साथ दिनुहोस् ।’

त्यतिबेलासम्म कमला शाहीलाई आफ्ना श्रीमानले पनि वनको पैसा चलाएका छन् भन्ने थाहा थिएन । कमलाले नेतृत्व लिने भनेपछि अरू महिलाले ‘तिम्रा श्रीमानले पनि पैसा चलाएका छन्’ भनेर सुनाए । कमलाले घर पुगेर श्रीमान भुपेन्द्र शाहीलाई सोधिन् । भुपेन्द्रले १५ हजार रूपैयाँ चलाएको स्वीकार गरे । यो थाहा पाउँदापाउँदै पनि हिनामिना भएको रकम उठाउनुपर्छ भनेर उनी अघि बढिन् ।

‘रकम हिनामिनाबारे मैले घरमा श्रीमानसँग कुरा गरेपछि मात्र थाहा पाएँ, उहाँले पनि त्यो रकम चलाउनुभएको रहेछ,’ शाहीले भनिन् । उनीमाथि झन् ठूलो चुनौती आइलागेको थियो । विवाह गरेर आएको एक वर्ष पनि पुगेको थिएन । कमलाले घरपरिवार त राम्ररी बुझ्न पाएकी थिइनन्, टोल, समाज बुझ्ने मौका कहाँबाट पाउनु ? उनका लागि यो ठाउँ र समाज पूरै नयाँ थियो । त्यसमा पनि बुहारी । तैपनि उनी पछि हटिनन्, सार्वजनिक सम्पत्ति हिनामिना घटनाको नेतृत्व लिने प्रतिबद्धता कायमै राखिन् ।

कमलाका श्रीमानले उनलाई ‘मैले लिएको पैसा तिर्छु, तिमीले किन यसको नेतृत्व गर्नुपर्‍यो ?’ भनी त्यो मुद्दा त्यहीँ छाड्न आग्रह गरे तर उनले मानिनन् । ‘तपाईंबाट पैसा असुल गरेर हुँदैन, सबैबाट उठाउनुपर्छ’ भनेर नेतृत्व लिइन् ।

कमलाकी ६० वर्षीय सासू कौशिला शाही पनि यसअघि यही वनकी कार्यसमिति सदस्य थिइन् । कमलाले सासूसँग सल्लाह गरेर रकम उठाउने निधो गरिन् ।

वनको स्तर दिनप्रतिदिन खस्किँदै गएकाले त्यसको विकल्प पनि थिएन । व्यापक फँडानी भइरहेको थियो । गाईवस्तु मनलागी चराइन्थ्यो । ‘काँचो दाउरा काट्ने र ढाल्ने नगर’ भनेर सम्झाउँदा पनि कसैले नमान्ने अवस्था थियो ।

‘वन पुरुषलाई भन्दा महिलालाई चाहिने हो, घाँसपात संकलन र काठदाउरा लिन महिला नै जानुपर्छ । खर काट्न महिला नै जानुपर्छ,’ उनले यिनै कुरा सम्झाएर अन्य महिलालाई पनि आन्दोलनमा हिँड्न सहमत गराइन् ।

श्रीमानले मिति नै तोकेर दिन्छु भनिसकेका थिए । यतिले मात्र कमलाको चित्त बुझेन । टोल र समाजलाई आर्थिक पारदर्शिताको पाठ सिकाउने लक्ष्य राखिन् र सातपटकसम्म चिठी काटेर वडा भेला डाकिन् ।

‘कहिले उपभोक्ता नआउने, कहिले पदाधिकारी नै नआउने अवस्था भयो,’ उनले भनिन् । त्यसपछि कमला वन उपभोक्ता समितिका अध्यक्ष प्रेम नेपालीलाई भेट्न गइन् । नेपालीले उनलाई ‘तैँले भनेर हुन्छ र ? मेरो काममा तैँले किन चिठी काटिस् ?’ भनेर गाली गरे । तैपनि कमला गलिनन् । आफूले नजानेको र नबुझेको काममा जोकसैसँग माफी माग्दा पनि केही हुँदैन भन्ने सोचिन् । उनले नेपालीसँग भनिन्, ‘माफ गर्नुहोस्, मैले जानिन गल्ती भो ।’ यतिभन्दा पनि अध्यक्ष भेलामा आएनन् ।

यसबीच कमलालाई स्थानीय पुरुषले खुबै गाली गरे । ‘बाटो हिँड्दा पनि तँलाई खुब नेता बन्ने रहर छ होइन ? पैसा खाउँला भनेर नेता बनेकी होली भने’, उनले आफ्नो अनुभव सुनाइन्, ‘तर म कहिल्यै रिसाइनँ । मेरो उद्देश्य र लक्ष्य सफा थियो । म कसैलाई फसाउन अघि बढेकी थिइन् । हो, म हजुरहरूको नेता हुँ भन्छु ।’

यति हुँदाहुँदै पनि कमला आफ्नो लक्ष्यमा अघि बढिरहेकी थिइन् । उनले फेरि पनि १४ जना महिलाको नेतृत्व गरेर घरदैलो कार्यक्रम गरिन् । प्रत्येक घरमा गएर वडा भेलामा आउने प्रतिबद्धताका लागि हस्ताक्षरसमेत गराइन् । नआउनेले एक सय रूपैयाँ जरिवाना तिर्नुपर्ने चेतावनी पनि दिइन् ।

‘यति गरेपछि बल्ल ४० जना आए,’ उनले भनिन् । भेलाले हिनामिना भएको रकम पत्ता लगायो । ६७ हजार ४ सय १० रूपैयाँ हिनामिना भएको हिसाब निस्कियो । भेलाले ब्याजसहित गरेर एक लाख सात सय रूपैयाँ उठाउने निर्णय गर्‍यो । वन समितिका अध्यक्ष नेपालीले ३२,४१०, कमलाका श्रीमान भुपेन्द्रले १५ हजार, समितिका कोषाध्यक्ष वीरे बुढाले ८ हजार, उपभोक्ता माया गुरुङले १० हजार र समितिका सचिव करसिंह राउतले २ हजार रूपैयाँ बिनाब्याज भोगचनल गरेको भेलाले सार्वजनिक गर्‍यो ।

यसमध्ये कमला नेतृत्वको टोली सबैभन्दा पहिले अध्यक्ष नेपालीसँग पैसा माग्न गयो । अध्यक्षले दुई महिनाको भाका लिएको कमलाले बताइन् । माया गुरुङले आफ्नो पैसा समितिको कोषमा फिर्ता गरिसकेकी छन् । वीरे बुढाले आफूले लगेको मध्ये ५ हजार ५ सय रूपैयाँ फर्काइसकेका छन् । सचिव करिसिंहले पनि दुई हजार रूपैयाँ फिर्ता गरिसकेका छन् । कमलाका श्रीमान भुपेन्द्रले पनि फागुन १ पैसा फिर्ता गरे ।

‘पैसा नउठे अख्तियारसम्म जाने निर्णय गरेका छौँ,’ कमलाले भनिन् । भेलाले सामुदायिक वनको नयाँ कार्यसमिति बनाउने निर्णय पनि गरेको छ भने उपभोक्ताको नयाँ परिचयपत्र बनाउने तयारी भइरहेको छ ।

‘पुराना पदाधिकारीले अहिले पनि हाम्रो निर्णयको विरोध गरिरहेका छन् तर हामीले यो काम पनि गर्छौैं,’ कमलाले भनिन् ।
सामुदायिक वन कार्यसमितिकी सदस्य जसमती गुरुङले पैसा उठेपछि महिलाको नेतृत्वमा कार्यसमिति बनाउनेबारे केन्द्रमा छलफल भइरहेको बताइन् । ‘नेतृत्वमा महिला बस्यो भने यस्ता घटना दोहोरिँदैनन् भन्ने लागेको छ,’ छलफल केन्द्रकी सहभागीसमेत रहेकी जसमतीले भनिन् ।

उपभोक्ता माया गुरुङले कमलाले घरमै गएर राम्ररी सम्झाएकाले उनको कुरामा सहमत भएर वनको पैसा फिर्ता गरेको बताइन् ।
कमलाको अभियानमा सासू कौशिला र श्रीमान भुपेन्द्रले पनि साथ दिएका छन् । सासू पहिलेदेखि नै सामाजिक कार्यमा संलग्न भएकाले आफू यो अभियानमा सफल भएको कमलाले बताइन् ।

‘गलत काम सच्याउनुपर्छ भनेर मैले नै बुहारीको हौसला बढाएकी हुँ’, सासू कौशिलाले भनिन् । पढेकी बुहारी भित्राएपछि उसको नेतृत्व र क्षमता विकासमा सहयोग गर्नुपर्ने बताउँछिन् कौशिला । ‘हाम्रो जमानाजस्तो छैन अहिले । पढेकी बुहारी ल्याएपछि आकाश–जमिनको फरक भएको छ,’ उनले थपिन् ।

श्रीमान भुपेन्द्रले पनि कमलालाई मार्गदर्शन गरिरहेका छन् । एक वर्षअघि मात्र विवाह गरेकी कमलाको एउटा छोरो छ । वीरेन्द्रनगर नगरपालिका–८, भानुचोकमा जन्मिएकी कमला साइँली सन्तान हुन् । बुबाले दुई विवाह गरेका थिए । कमला जेठी आमाकी सन्तान हुन् । किसान बाबुले आफूहरूलाई जग्गा बेचेर पढाएको उनी सुनाउँछिन् ।

(याे लेख अक्स्फामका लागि रेडियो सगरमाथाद्वारा तयार पारिएको  ‘सफलताका  पाइलाहरू ‘  नामक पुस्तकबाट साभार गरिएकाे हाे। )

प्रकाशित मिति :२०७२ पुस ३० गते  विहिवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: