काजलले किन काटिन् पतिको यौनाङ्ग ?


प्रकाशित मिति :2016-01-14 15:42:15

धेरै नेपाली नारी घर घरमा जेलभन्दा कठोर सजाय भोगिरहेछन् । जब अत्याचारले सीमा नाघ्छ थोरैले विद्रोह गर्छन् । अनि अपराधी बनेर जेल जान तयार हुन्छन् । काजल त्यस्तै एउटी पात्र हुन ।

दीपेश केसी
Dipesh Kcजेलको फलामे बारले मुस्कुराहटलाई छेकेन । श्याम वर्णकी उनको मुहारमा पृथक चमक थियो । एउटा हातले बार समात्दै बाहिरको पारिलो घामतर्फ घरी घरी हेर्दै गफिँदै थिइन् । ठूला आँखाले जो कसैको ध्यान खिच्थ्यो । एकटकले हेरिरहेँ । टम्म मिलेको दाँतमा बारम्बार मुस्कुराइरहेपछि पंक्तिकारको मनमा प्रश्न उठ्यो– जवानीमै कसरी जेल परिन् यिनी ?

हेर्दा हेर्दै अनायासै वाक्य फुट्यो– ढोकाभित्र उभिएकी केटी पनि बन्दी !
जघन्य अपराधी– प्रहरीले उत्तर फर्काए ।
कौतुहलता जाग्यो । नसोधी चित्त बुझेन । कस्तो अपराध ?
भन्नै लाज लाग्ने !
किन ?
पोईको यौनाङ्ग काटिदिछ ।
बोली बन्द भयो मेरो । आश्चर्यमा परें । एक मनले भन्यो– हेपाहा तरिकाले कसरी प्याच्च भन्न सकेको ! अर्को मनले सोच्यो–यस्ती राम्री केटीले त्यस्तो गरी होली ? प्रश्नहरू मनमनै तेर्सिए । अदालतबाट दोषी ठहर भइसकेकी । लिङ्ग काटेर हत्या गरेकाले २० वर्ष कैद भुक्तानी गर्नुपर्ने । असल चालचलन भए आधा माफी ।

जेलको फलामे छडभित्र छेकिएको कत्ति पनि नसुहाएको । सामान्य पहिरनमा समेत आकर्षक । केही सोच्दै उनीतर्फ बारम्बार फर्किएपछि चौकीदारले भनिहाले– अनुहारले असल र खराब छुट्टिदैँन ।
उत्तर काफी थियो ।

देशका धेरै जेलहरूमा शोध र समाचार संकलनका लागि पुग्दा सुनेजानेको मध्ये नयाँ घटना र परिस्थिति थपियो । पंक्तिकार काजल (परिवर्तित नाम) बारे जान्न उत्सुक भयो । उद्देश्य र योजनाको सीमालाई तोड्नुपर्ने । जोखिम मोलिहालौं । भोलिपल्ट काजल आउने ढोकाको बार बाहिर टुसुक्क बसें । चौकीदार दिदीसँग लामो भलाकुसारी गर्दा गर्दै घण्टा बित्यो । काजल आइनन् । अरूहरूको आवत्जावत् भइरह्यो । काजलको कहानी उनकै मुखबाट सुन्ने व्यग्र इच्छा जागेर तानिएको म ।

अकस्मात् काजल देखा परिन् । उनी ढोकाबाहिर बस्ने मार्फत् पसलबाट केही अर्डर गर्न चाहन्थिन् । लजालु पारा देखाइन् । मसिनो स्वरले भनिन्– बिस्कुट पठाइदिन भन्दिनुहोस् ।

अर्डर नआएसम्म मलाई बेवास्ता गरेर फर्केर बसिन् । अन्जान मान्छे ढोका अगाडि देखेर असजिलो लाग्यो होला । लज्जाको सम्मान गरें । नचाहँदा नचाहँदै उनीतर्फ आँखा गयो । त्यतिञ्जेल चुन्नीले मुख आधा छोपिसकेकी ।

बिस्कुट आउन समय लाग्यो । घुर्सेर बोल्न मुख खोलें । तर, उनीसँग होइन सँगै रहेकी साथीसँग ।
यतिका मान्छेलाई जेल साँघुरो भयो जस्तो छ ?
कम्ता गार्‍हो छ दाई हामीलाई– साथीचाहिं बोलिन् ।
पीडितको आवाज कस्ले सुन्छ । त्यसमाथि जेलका कैदी !

दुईतर्फ कुराकानी हुँदासम्म काजल मौन थिइन् । कानचाहिं हामीतिर । लज्जा कम गर्ने उपाय अपनाएँ ।
किन यति सारो मुख छोपेको ?

हाँसो फुस्किइहाल्यो । तैपनि मुख छोपेको छोप्यै गरिन् । यस्तै माहोल बीच परिचय दिन भ्याएँ । काजलको बिस्कुट आइपुग्यो । साथीलाई डाक्दै बढ्नि । दाई फेरि आउनु भयो भने भेटौंला नि है ?

यति भन्दै अगाडि बढ्नि। पाइला सर्दा सर्दै भनें–म अब आउने जाने गरिरहन्छु ।
टक्क रोकिइन्– उसो भए पछि कुरा गरौंला है ।
हवस् ।

महिला जेलमा धेरैसँग अन्तर्वाता लिएँ । काजल अन्तवार्ताको सूचीमा परिनन् । विषय नमिलेर नचाहेर होइन । विषय बाहिरको नै किन नहोस् । अनौपचारिक कुराकानी गर्नैपर्नेको सूचीमा थिइन् । बुझ्ने र सुन्ने उत्सुकता ।

दैनिकजसो कारागारको ओहोरदोहोर, औपचारिक र अनौपचारिक कुराकानीले नजिकिइसकेको थिएँ । काजल ढोकामा आइपुग्दा सहज तरिकाले बोल्थिन् । तर लजाउने स्वभाव हटेन । नारी स्वभाव झल्किइहाल्ने । यति लजालु केटी कसरी हत्यारा हुनसक्छिन् ? आफैसँग प्रश्न सोधिरहन्थें । उत्तर कि त काजल स्वयंसँग होला कि त इश्वरसँग ! अदालतको फैसलामा सबैले न्याय पाएको छैनन् । राज्यमा बसेपछि फैसला स्वीकार्नै पर्ने । कतै काजललाई अन्याय त भएको होइन ?

काजलसँग सिधा सोध्नु उपयुक्त थिएन । नजिककी साथी पूर्णिमा (नाम परिवर्तन) बाट केही त पत्तो लाग्छ कि ! अन्तवार्ताको आग्रह गरें पूर्णिमासँग । हिच्किचाइन् । उद्देश्य प्रष्ट पारेर पुनःआग्रहपछि स्वीकार गरिन् ।

पतिको हत्या ठहर भएपछि पूर्णिमा जन्मकैद सजाय भोग्दै थिइन् । हत्या गर्ने पुरूषसँग उनको सम्बन्धका कारण तानिएकी थिइन् जेलसम्म ।

हत्या गर्न लगाएको आरोप लाग्यो दाई ।
अभियोग ठहर भएकाले पूर्णिमासँग पिंजडाभित्रबाट संसारको कल्पना गर्नुको विकल्प थिएन ।

मेरो मात्र के काजल पनि लोग्ने मारेको आरोपमा परेकी ।
सोध्न खोजेको विषयमा प्रवेश गरिदिइन् । निकै सहज भयो ।

पूर्णिमासँग अन्तरंग कुरा हुँदोरहेछ काजलको । असाध्यै मिल्ने साथी । जेलभित्र बिताउनुपर्ने लामो समय बाँकी थियो । दुःख सुख साटासाट गर्दारहेछन् ।

काजलको घटना के हो ?
लोग्ने असाध्यै जड्याहा । हरेक दिन नराम्रो व्यवहार गथ्र्यो रे ।
पूर्णिमाको बोली नरोकियोस् !

विना बनावट दुःखान्त कहानी सुनाइन् ।
रातभरी सुत्न नदिने । अति गरेपनि अत्याचार नगर्नु नि !

एक दिन होइन दुई दिन होइन । अत्याचार गरेछ । हरेक दिनको बलात्कार !
पतिबाट बलात्कार ? प्रश्न तेर्साएँ ।

भोग्नेलाई पो थाहा हुन्छ दाई ।
अत्याचार असह्य भएपछि एक रात रिसको झोकमा काटिदिएकी रे ।

मर्छ भन्ने थाहापाएको भए किन त्यसो गर्थी ! सधैँको दुःख दिने व्यवहारबाट छुटकारा पाउन गरेकी मरी गएछ ।
आक्रोशयुक्त सुर सुनियो बोलीमा ।

काजल अत्याचारबाट मुक्ति पाउन हिंसाको बाटो लिन पुगिन् । जसले उनलाई जेलमा पुर्‍यायो । समाजको नजरमा अपराधी ठहरिइन् । बितिसकेको तीता क्षणहरू भुल्न चाहँदैमा भुलिने छैन । सिंगो समाजले पतिको हत्यारा भन्छ । हत्याको कारणबारे कस्ले सोच्ने ? भवितव्य हो वा योजनावद्ध ? न्यायालयले फैसला दिइसक्यो ।

समग्र समाजको दृष्टिकोण सकारात्मक हुने छैन । चाहे उनी सुधारिएर सामान्य जीवन बाँच्ने चेष्टा किन नगरुन् । एकपटकको अपराधी सधैंको अपराधी ! त्यसमाथि जघन्य घटनाको अपराधी ! सामान्य नागरिकले हेर्ने दृष्टिकोण नकारात्मक ।

कति सपना देखेकी थिइन् होली काजलले । बाबुआमाले अन्माएर पठाउनु अघि ज्वाईंलाई भनेका थिए रे– पाले पाप मारे पुण्य ! आखिर पुरूषको बोलवाला भएको समाजमा हुर्किएकी परिन् । पाल्नु त परै जाओस् उल्टो गरिखान नदिने । आरामको निन्द्रा कहिले सुत्न पाइनन् । काबूमा राखेको रिस बिष्फोट हुँदा समयले कोल्टे फेर्‍यो । सपनाहरू क्षतविक्षत् भए ।

काख भरीको सन्तान खेलाउने रहरहरू जेलभित्र कैद भए । कैद भुक्तानी गर्दासम्म उमेर चढिसक्छ । त्यसमाथि कता कता उनको आँखाले पुरूषप्रतिको घृणाभाव दर्शाउँथ्यो । सही ठहरिएँ । पूर्णिमा भन्थिन्– काजल लजाउँछे जरूर, तर केटा मान्छेलाई मनै पराउँदिन । सबै पुरूष एकै कहाँ हुन्छन् र ?

विगतका पीडा र आवेग स्वरूपको परिणामले जेलमा ल्याउँदाको आक्रोश त्यति सजिलै कहाँ मेटिन्छ र ? नारी हो । सृष्टिकर्ता । आमा बन्ने रहर त पक्कै होला । सायद रहर पूरा गर्न कठिन छ । पूरा अवधि कैद भुक्तानी गर्नुपरे ४० कटिसक्छिन् । त्यतिबेलासम्म प्रजनन् क्षमता रहला नरहला ? त्यसमाथि जेलभित्रको लामो बसाईंको तनाब र शारीरिक अवस्थाले साथ देला नदेला ? प्रजनन् अधिकार हनन् ।

उमेरले २५ पनि नकटेकी काजलको वैँश चार पर्खालभित्र जानेछ । जेलयात्राको एउटा बिन्दुसम्म पूर्णिमा साथी होलिन् । सायद अरूको अनुहार हेर्दै चित्त बुझाउँलान् । सबैका आ–आफ्ना कथा व्यथा छन् त्यहाँ । कोही फसेका त कोही फसाइएका । अपराध गरेकै भएपनि केही न केही कारण जरूर छ ।

‘हाम्रो के कुरा नगरेकाहरू परेका छन् । एउटाले अपराध गर्छ अर्को पर्छ । यहाँ यस्तै छ,’ प्यार्प्यार् बोलिरहनुपर्ने पूर्णिमा खुलेरै बोल्छिन् । कोही लागू औषधको भरिया त कोही अपहरणको घटनामा सहयोगीको आरोप लागेका । ठूलालाई ऐन सानालाई चैन ! न्याय निसाफ भगवान् जाने !
मनभरीको बह पोखिन् पूर्णिमाले ।
यहाँ कुनचाहिं हुनेखाने परेका छन् ? महिलामध्ये आधा निर्दोष छन् । नपिएको विष लाग्या छ !
केही आक्रोश मिसिएको वाक्य ।

गर्छ एउटाले भोग्नुपर्ने अर्काले ।
पैसा र पावर हुनेको मात्र रहेछ देश ! पूर्णिमा भोगाई सुनाउँछिन् ।
केहीबेर रोकिइन् ।

यत्तिकैमा काजलको मुहारमा नियालें । साहस र जाँगर मरेजस्तो । मुस्कान कतै अभिनय त होइन ? जतिबेला पनि चुन्नीले मुख छोप्ने उनले कहिले चुन्नी पन्छाएर भन्लिन्– चुनौतीको सामना गर्छु ।

झट्ट याद आयो इटालियन युवतीको जो कण्डममा लागूऔषध चरेशको पोको बनाएर यौनांगभित्र लुकाएर यूरोपतर्फ उड्नलाग्दा विमानस्थलमा पक्राऊ परी बन्दी थिइन् । पंक्तिकारको प्रश्नमा ठाडो जवाफ दिएकी थिइन्– दुई महिनाभित्र पैसा खर्च गरेर निस्कन्छु । नभन्दै तिनी केही महिनामै जेलमुक्त भई इटाली फर्किइछन् ।

काजलसँग त्यो साहस पनि छैन । वकिल राख्न समेत पैसा जोहो गर्न नसकेकी रे । यसैपनि बाबुआमाबाट मारे पाप पाले पुण्य भनेर पठाइएकी । पुरूषको थिचोमिचो हदैसम्म सहन सिकाइएकी । हद नाघेपछि भयावह नतिजा निस्कियो । सायद उनीसँग पतिको लिंग काट्नुपर्ने कारणको जवाफ सहज छैन ।

अपराध आखिर अपराध हो । सिधा बुझाईमा अपराधको बचाऊ उचित होइन । कारण खोज्ने कस्ले ? काजल विद्रोही भइन् । हिंसा गरिन् । यौनपिपाशु पतिको यौनदासी जस्तै थिइन् । जेलको चार पर्खाल नै सही । वर्तमानमा अन्यायबाट मुक्तिको श्वास फेरिरहेकी छिन् । जेलबाहिर भन्दा जेलभित्र सुरक्षित महशुश गर्दैछिन् ।

काजल जस्ता धेरै नेपाली नारी घर घरमा जेलभन्दा कठोर सजाय भोगिरहेछन् । जब अत्याचारले सीमा नाघ्छ थोरैले विद्रोह गर्छन् । अनि केही अपराधी बनेर जेल जान तयार हुन्छन् । जेलको बारभित्र परेकालाई नियाल्दा मात्र जवाफ आउँछ– शक्ति र पैसा भएकाहरू अपराध गरेपनि सायदै जेल पर्छन् । कमजोर र निर्दोषहरू धेरै ।

अपराधको पर्याय गरिबी र पिछडिएको समुदाय जस्तो । केही महिला त लालाबालासहित जेलभित्र कष्टप्रद जीवन जिउँदैछन् । निर्दोष भइकन जेल परेकाहरू हरपल छटपटिन पुग्छन् । नखाएको विष लागेजस्तो ।

(अपराधबारे विद्यावारिधीको शोध गरिरहेका केसीले इथिक्सलाई ध्यान दिँदै स्थान र पात्रहरूको वास्तविक नाम उल्लेख नगरेका हुन्)

[email protected]

प्रकाशित मिति :२०७२ पुस ३० गते  विहिवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: