नन्दा थापा
काठमाडौं। महिलाले भुमिको उपयोग गरी उत्पादनमात्र गरिरहेको तर नियन्त्रण र स्वामित्वमा नरहेको एक कार्यक्रमका सहभागी बताएका छन्। नेपालमा भुमिमाथि महिलाको स्वामित्वलाई हेर्दा १९ दशमलब ७१ प्रतिशतमात्र रहेको छ। आज काठमाडौंमा नेपाल महिला किसान संघले आयोजना गरेको भोगाधिकार र सुशासन बारे ऐच्छिक निर्देशिका, भुमि, जमिन, जल, मत्स्य र वनजंगल सम्वन्धि सवालमा महिला किसान विषयक कार्यक्रमका सहभागीले यस्तो बताएका हुन्।
कार्यक्रममा किसान महासंघका उपाध्यक्ष केशवलाल श्रेष्ठले नीति निर्माणमा महिलाका सवाल पुगे पनि कार्यान्वयन नभएको बताउनुभयो। उहाँले महिलालाई पुरुष सरह भुमिमा स्वामित्व छ, तर कार्यान्वयन नभएको बताउनुभयो। आयआर्जनमा सहभागि नभए महिलाले भुमि, जल, जंगलमा आफ्नो स्वामित्व ग्रहण गर्न नसक्ने उहाँको भनाई थियो ।
महिलाको शरीर र श्रमलाई नियन्त्रण गरी मालिक बन्ने दासयुक्त सामन्ति व्यवस्थाले महिलालाई भुमिको अधिकारबाट अलग गराएको अखिल महिला किसान संघका अध्यक्ष जीवन्ती पौडेले बताउनुभयो। उहाँले भन्नुभयो ‘महिलाको भुमिसँग प्राकृतिक रुपमै अन्योन्याश्रित सम्वन्ध छ। अध्यक्ष पौडेलले नेपालको परिवेशमा भुमि उत्पादन, खाना र इन्धनमात्र सम्वन्धित नभई सम्पति, शक्ति, आत्मसम्मान, सुरक्षा, पहिचानसँग र स्वतन्त्रता सम्वन्धित भएपनि भुमिमाथि महिलाको जिम्मेवारी छ, तर नियन्त्रण भने अरुकै भएको बताउनुभयो।
पौडेलले आफ्नो कार्यकालमा महिलाको साथ सहयोग रहेमा यस्ता मुद्दालाई लिएर निति निर्माण तहमा घच्घचाएरै भुमिमा महिला र पुरुषको पचास/पचास प्रतिशत स्वामित्व रहने व्यवस्था मिलाएरै छोड्ने दाबी गर्नुभयाे।
कार्यक्रममा महिला किसान संघका सचिव सरिता भुसालले पुरुष युवाहरुको आन्तरिक र बाह्य तिब्र स्थानागमनको कारण कृषि क्षेत्र महिलाकरण भएपनि महिलामैत्री कृषि औजार, बजार व्यवस्थापन, महिलाको चौतर्फी कामको बोजको कारण उत्पादन निर्वाहमुखीमा सिमित भएको बताउनुभएको छ। उहाँले २५ दशमलब १६ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी रहेको र यसमा महिलाको अवस्था जोखिमपुर्ण रहेको बताउनुभयो।
महिलाको अस्तित्व र पहिचान उसको वैवाहिक र लैङ्गिक अवस्थाबाट हेरिएका कारण भुमिमाथि महिलाको अधिकार कायम हुन नसकेको उहाँको भनाइ थियो। नेपालको ६५ दशमलब ६ प्रतिशत जनसंख्या कृषि पेशामा निर्र्भर रहेको बताउँदै त्यसमा ७३ दशमलब ८ प्रतिशत महिला रहेको भुसालले जानकारी दिनुभयो। उहाँले महिला कृषि उद्यमशिलताको अवधारणाबाट अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो।
प्रकाशित मितिः २०७२ पुस ३० गते बिहीवार
Comment Here!