महिला–पुरुष समविकास छलफल केन्द्र


प्रकाशित मिति :2016-01-15 10:41:55

गजबको कुरा त महिलाका सांस्कृतिक कार्यक्रममा गाउँका पुरुषमा पनि उत्तिकै रुचि बढेको छ । आफूहरूमाथि गरिएको व्यंग्य पनि उनीहरू एकचित्त भएर सुन्छन् । नाचगानका समयमा मादल बजाइदिन्छन् । ताली बजाएर महिलाको हौसला बढाइदिन्छन् ।

महिला सिर्जनशीलताको नमुना गाउँ

Untitled

मकवानपुर जिल्लाअन्तर्गत रहे पनि राजधानी उपत्यकाबाट नजिकैको गाउँ हो– फाखेल । यो काठमाडौँ जिल्लाको फर्पिङ गाविससँग जोडिएको छ । फर्पिङ–कुलेखानी सडक खण्डबाट दायाँतर्फ करिब एक किलोमिटर ठाडो बाटो उक्लिएपछि फाखेलको दुई नम्बर वडामा रहेको तामाङ बस्ती बन्टोल पुगिन्छ ।

०७१ फागुन १५ गते दिउँसो पौने एक बजेतिर यही गाउँ पछ्याउँदै बन्टोल पुग्यो, नेपाल वातावरण पत्रकार समूह (नेफेज) को टोली । सडकबाट करिब १५ मिनेट उक्लिएपछि बन्टोल आइपुग्यो । स्थानीय भाइको सहयोगमा हामीले गन्तव्य पहिल्यायौँ–मनमती डिम्डुङको घर ।

आँगन भरिभराउ थियो । गाउँभरका महिला र पुरुष जम्मा भएका थिए मनमतीको आँगनमा । हामी पुग्ने खबर उनीहरूमाझ पहिल्यै पुगिसकेको रहेछ । हातमा लालीगुँरासका गुच्छा र स्टिलका थालमा रातो अबिर बोकेर पंक्तिबद्ध थिए महिला, पाहुनाको स्वागत गर्न । हातमा फक्रिएको गुराँसका गुच्छा सुम्पिँदै निधार अबिरले रंग्याइदिए । दिल खोलेर स्वागत गरे स्थानीयले हाम्रो टोलीलाई ।बाहिरी मानिस गाउँ पुग्दा यसरी झुम्मिने बानी परेको धेरै भएको छैन बन्टोलको तामाङ बस्तीका महिलामा । ‘महिला–पुरुष समविकास छलफल केन्द्र’ खुलेपछि छिट्टै परिवर्तन आयो गाउँमा ।

केन्द्रका सहजकर्ता बलराम तामाङका अनुसार बाहिरी मान्छे देख्नेबित्तिकै ढोका थुनेर लुक्थे यहाँका महिला । नौला मानिससँग बोल्ने, परिचय गर्ने र स्वागत गर्ने त धेरै परको कुरा । ‘पुरुषहरू बाहिरी मान्छे सहभागी हुने कार्यक्रममा महिलालाई पठाउनै मान्दैनथे,’ बलरामले सुनाए, ‘गाउँलेमा अहिले ठूलो परिवर्तन आएको छ ।’

उनको अनुभवमा यहाँका महिला र पुरुष केही महिनायता महिला अधिकार, हिंसा र लैंगिक विभेदबारे धेरै जानकार भएका छन् । महिलामा चेतना बढ्दै छ । पुरुषमा पनि परिवर्तन देखिन थालेको छ । छलफल केन्द्रकी सहभागी मनमती डिम्डुङको घरआँगन हामीलाई स्वागत गर्न गाउँका महिला–पुरुषले भरिभराउ हुनु यसैको सग्लो प्रमाण थियो ।

स्वागत सकिएपछि उनीहरू तुरुन्तै हामीलाई नाटक देखाउन तयार भए । स्थानीय महिलाको सक्रियता देख्दा लाग्थ्यो, उनीहरू कुनै व्यावसायिक थियटरका कलाकार हुन्, सहरबाट गाउँमा नाटक देखाउन आएका । स्थानीय महिला र युवतीले छोरीबुहारीमाथि हुने गरेका हिंसाविरुद्ध सशक्त नाटक प्रदर्शन गरे । जीवन्त अभिनय गरेर । नाटकको सन्देश थियो, ‘छोरीबुहारीलाई पनि पढाउनुपर्छ । सामाजिक कार्यमा लगाउनुपर्छ, उनीहरूको अधिकार कुण्ठित पार्नुहुन्न, घरगृहस्थीमा मात्र सीमित राख्नुहुन्न ।’

मन्जु रुम्बा, मनमती डिम्डुङ, पुमिला गोले, सेम्रिना ब्लोन, सुनिता ब्लोन, रजनी डिम्डुङ नाटकका सशक्त कलाकार थिए । ‘यो नाटक यी महिला आफैँले सिर्जना गरेका,’ सहजकर्ता बलराम स्थानीय महिलामा आएको परिवर्तनबाट खुसी हुँदै सुनाए, ‘हिजो नौला मानिससँग बोल्न पनि हिच्किचाउँथे, आज यी हेर्नुस् न !’

त्यसो त नाटक तयार पार्न पुरुषहरूले पनि सहयोग गरिरहेका थिए । उनीहरू अहिले स्थानीय कार्यक्रम र समारोहमा पनि यो नाटक मञ्चन गरेर सन्देश बाँडिरहेका छन् ।

यति मात्र कहाँ ! छलफल केन्द्रमा पनि यहाँका महिला–पुरुष महिलाका अधिकार र मुद्दा समेटेर गीत गाउँछन् । नाचगान गर्छन् । यसले कक्षामा महिला उपस्थिति र आकर्षण बढाउँछ, सिकाइ प्रभावकारी बनाउँछ र महिलालाई सशक्त र सक्षम बनाउन सघाउँछ । घरभित्रका पीडा र कुरीति समेटेर गाइने गीतले मन खुसी र आनन्दित हुने उनीहरूको अनुभव छ ।‘नाटक र नाचगानले महिलाहरू छलफल केन्द्रप्रति बढी आकर्षित भएका छन्,’ केन्द्रकी सक्रिय सहभागी मञ्जु रुम्बा भन्छिन्, उनीहरूको संख्या दिनप्रतिदिन बढ्दो छ ।’

गजबको कुरा त महिलाका सांस्कृतिक कार्यक्रममा गाउँका पुरुषमा पनि उत्तिकै रुचि बढेको छ । आफूहरूमाथि गरिएको व्यंग्य पनि उनीहरू एकचित्त भएर सुन्छन् । नाचगानका समयमा मादल बजाइदिन्छन् । ताली बजाएर महिलाको हौसला बढाइदिन्छन् ।

यतिमात्र होइन, स्थानीय महिला राष्ट्रिय रूपमा मनाइने महिलाका कुनै पनि स्थानीय कार्यक्रम सफल पार्न उनीहरू एकजुट हुन्छन् । कार्यक्रम र समारोहका दिन महिलाहरू भेला भएर गाउँटोलभरि र्‍याली निकाल्छन् । यसका लागि उनीहरूले ब्याट्रीबाट चल्ने हाते–माइक पनि किनेका छन् । ‘महिला हिंसा अन्त्य गर’, ‘आमाको नामबाट नागरिकता पाउनुपर्छ’, ‘महिला–पुरुष बराबरी’, ‘महिला–पुरुष संयुक्त लालपुर्जा हुनैपर्छ’, ‘बहुविवाह गर्नेलाई कारबाही गर’, ‘महिला हिंसा रोक्नै पर्छ’ जस्ता अधिकारमुखी नारा गाउँघरमा लगाउँदै हिँड्छन् ।

बन्टोलमा छलफल केन्द्र सुरु भएको धेरै भएको छैन । सहजकर्ता बलरामको अनुभवमा महिलामा देखिएको सक्रियता, सिर्जनशीलता र चेतना छोटो अवधिका उपलब्धि हुन् । अन्य ठाउँमा जस्तो यहाँ शिक्षित पुरुषको संख्या धेरै छैन । पुरुष र महिला दुवै अशिक्षित छन्, फाखेल–२ मा । त्यसैले यहाँ छलफल केन्द्रको नाम पनि ‘महिला–पुरुष समविकास छलफल केन्द्र’ राखिएको हो । सहजकर्ता पनि पुरुष बसेका हुन् ।

महिला शिक्षित हुन थालेपछि पुरुषले पनि बुझ्ने मौका पाएको अनुभव सुनाउँछन्, फाखेल–२, राकस खोलाका चन्द्रबहादुर घिसिङ । ‘परिवारलाई दबाबमा राखेर आफू हिरो बनेर हिँड्नु राम्रो होइन भन्ने गाउँका पुरुषमा चेतना आउन थालेको छ,’ उनले सुनाए ।

छलफल केन्द्रकी नयाँ सदस्य सुनिता ब्लोनले सुरुमा छलफल केन्द्र आउन निकै अप्ठ्यारो मानेकी थिइन् । सहजकर्ताले पटक–पटक अनुरोध गर्दा पनि उनी आइनन् । केन्द्रमा नाटक र छलफल पनि हुन्छ भन्ने थाहा पाएपछि भने उनलाई पनि रमाइलो हेर्न मन लाग्यो ।
हिजोआज उनका दिन रमाइला हुन थालेका छन् । घरको काम सकेर सुनिता केन्द्रमा आउँछिन् र आफ्ना दुःखसुख साथी–संगीसँग बाँड्छिन् ।
बलरामका अनुसार अहिले केन्द्रमा बढीमा २५ जना महिला हुन्छन् । कहिलेकाहीँ कामविशेषले यो संख्या घटेर १३ जनासम्म पुग्छ । सातामा तीन दिन आइतबार, मंगलबार र बिहीबार २ घन्टा केन्द्र सञ्चालन हुन्छ ।

त्यसो त छलफल केन्द्रमा महिला सहभागिता बढाउन बलरामले कम्ती प्रयास गरेका छैनन् । घरदैलो कार्यक्रम, राजनीतिक दलका प्रतिनिधिको उपस्थितिमा वडाभेला पनि गराएका छन् । बन्टोल फाखेलको ठूलो बस्ती हो । यहाँ विपन्न घरपरिवारको बसोबास छ । अधिकांश बासिन्दा राज्यको सेवा–सुविधाबाट वञ्चित छन् । ‘त्यसैले यो ठाउँ रोजेका हौँ,’ बलरामले भने ।

उनका अनुसार जनचेतनामूलक कार्यक्रमबाहेक केन्द्रका सहभागीले टोल–समाजका विकृति र कुरीति अन्त्यनिम्ति पनि काम गर्न थालेका छन् । यहाँ पनि अन्यत्रजस्तै घरेलु हिंसा धेरै हुने गरेका छन् । विशेषगरी जाँड–रक्सीको कुलतले जरा गाडेको छ । जुवातासका खालले त्यत्तिकै बिगारेको छ गाउँका पुरुषलाई ।

‘यस्ता कुरीति अन्त्यका लागि पनि काम गरिरहेका छौँ,’ बलरामले भने, ‘अझ प्रभावकारी र सशक्त ढंगले कसरी जान सकिन्छ भन्ने विषयमा केन्द्रमा छलफल गरिरहन्छौँ ।’

बन्टोलका महिलाका गतिविधि नियालेर हाम्रो टोली स्थानीयसँग बिदाबारी हुँदा मञ्जु रुम्बा भन्दै थिइन्, ‘हामी भर्खरै बामे सर्दैछौँ, अर्कोपटक आउँदा तपाईंंहरूले हाम्रो धेरै प्रगति देख्नुहुनेछ ।’ यतिञ्जेल उनले हाम्रो टोलीलाई अर्को कार्यक्रमको निम्तो दिन भ्याइसकेकी थिइन् ।

मकवानपुरकै मार्खु गाविस–१, सर्वाङमा पनि भर्खरै छलफल केन्द्र सुरु भएको छ । ‘शक्तेश्वर महिला सामुदायिक छलफल केन्द्र’ बिस्तारै बामे सर्ने क्रममा छ त्यहाँ । केन्द्रकी सहजकर्ता आइतीमाया थिङ महिलाको उपस्थिति कसरी बढाउन सकिन्छ भन्ने ध्याउन्नमा छिन् तर पनि कक्षाहरू सञ्चालन भइरहेका छन् ।

यस केन्द्रकी सशक्त महिला सदस्य हुन्, कान्छी गोले । उनले स्थानीयदेखि जिल्लास्तरसम्मका संरचनामा नेतृत्व गरिसकेकी छन् । स्थानीय तहमा उनको नेतृत्व या प्रतिनिधित्व नभएको संस्था सायद छैन । २०४६ सालदेखि अहिलेसम्म सामाजिक कार्यकर्ता र नेत्री भएर काम गरिरहेकी छन् गोले । यसबीचका अनुभव र संघर्षले खारिएकी कान्छी भन्छिन्, ‘अब मेरो उद्देश्य एउटै छ, धेरै महिलालाई म जस्तै नेतृत्व तहमा पुर्‍याउने ।’

उनको विचारमा स्थानीय छलफल केन्द्र महिलाको नेतृत्व विकासका लागि उपयुक्त माध्यम हुनसक्छ । कान्छी आफ्नो सक्रियता र सफल नेतृत्वका कारण धेरै संघसंस्थाबाट सम्मानित र पुरस्कृत भइसकेकी छन् ।

उनको अभिभावकत्वमा यो छलफल केन्द्र सञ्चालन भइरहेको छ । ५७ वर्षीया गोलेको अनुभव र नेतृत्व क्षमताले आगामी दिनमा यो केन्द्र प्रभावकारी बन्नसक्छ भन्ने विश्वासमा छिन्, यस केन्द्रकी सहजकर्ता आइतीमाया थिङ ।

‘कक्षा सञ्चालन हुन लागेको भर्खरै हो, त्यसैले धेरै काम गर्न सकिएको छैन तर पनि यसलाई नियमित र प्रभावकारी बनाउने योजना बनाइरहेकी छु,’ सबैकी भरोसा कान्छी गोलेले भनिन् । कान्छी स्थानीय टोल, समाज र गाविसका हरेक घरपरिवारबारे जानकार छिन् । उनको यही अनुभवले यो केन्द्र आगामी दिनमा महिला अधिकार स्थापित गर्दै घरेलु हिंसा अन्त्य र महिलालाई नेतृत्व तहमा पु¥याउन सफल हुने विश्वास व्यक्त गर्छिन्, महिला नेतृत्व कार्यक्रमकी मार्खु गाविस सामाजिक परिचालक सम्झना बलामी ।

सुर्खेत जिल्लाका गाविसमा सञ्चालन भएको कार्यक्रमको सफलतालाई निरन्तरता दिने उद्देश्यले मकवानपुरका चित्लाङ, मार्खु, कुलेखानी, सिस्नेरी र फाखेल गाविसमा पनि छलफल केन्द्र स्थापना गरिएका छन् । ती केन्द्रमा महिलाको उपस्थिति विस्तारै बढ्दै गएको छ । जिल्लास्तरका परिचालकले सबै छलफल केन्द्रका सहजकर्तालाई संरचना र नेतृत्व विकासलगायत तालिम दिइरहेका छन् । सहजकर्ताले आफ्ना केन्द्रका सहभागी महिलालाई त्यहीअनुसार पढाइरहेका छन् ।

(याे लेख अक्स्फामका लागि रेडियो सगरमाथाद्वारा तयार पारिएको  ‘सफलताका  पाइलाहरू ‘  नामक पुस्तकबाट साभार गरिएकाे हाे। )

प्रकाशित मिति :२०७२  माघ १ गते  बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: