माघीको अवसरमा गोदावरीमा भक्तजनको भीड
नयाँ वर्ष मनाउँदै थारु समुदाय
खेमा बस्नेत
धनगढी । माघे संक्रान्तीको अवसरमा कैलालीको गोदावरीमा स्नान गर्ने भक्तजनको भीड लागेेको छ। गोदावरीमा सुदूरपश्चिमका पहाडी जिल्लालगायत मध्यपश्चिम तथा भारतबाट भक्तजन मेला भर्न आएका छन्।सुदूरपश्चिमको इतिहासमा पहिलो पटक गोदावरीमा सहस्त्र कुम्भमेला लागेपछि दिव्य भूमिमा स्नान गर्न हजारौंको संख्यामा भक्तजनहरु यहाँ पुगेका छन्।
उक्त कुम्भ मेलाको हिजो मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नु भएको थियो। धेरैजसो महिला, युवायुवती मेला भर्न आएका छन्। माघे संक्रान्ति, हरितालिका तिज लगायतका पर्वमा गोदावरीमा मेला लाग्छ। तर, यस वर्ष यहाँ कुम्भमेला लागेकाले भक्तजनको ठूलो उपस्थिति छ। भक्तजनको सुविधाको लागि स्नान गर्ने क्षेत्र तोेकिएको छ भने सवारी साधनलाई मेला परिसरमा रोक लगाइएको छ।
मकर संक्रान्तीको अवसरमा यहाँका थारु समुदायमा चहलपहल बढेको छ। माघ १ गतेलाई नयाँ वर्षका रुपमा मनाउने थारु समुदायले धुमधामका साथ मनाइरहेका छन्। उनीहरू स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गर्छन्।
पुसको अन्तिम दिन रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन बिहानै नयाँ वर्षलाई स्वागत गर्ने गरिएको गदरिया निवासी रमिता चौधरीले बताइन्। ‘यस अवसरमा आफूभन्दा ठूलासँग आशीर्वाद लिई सानालाई दिने गरिन्छ’उनले भनिन्, ‘माघीमा बहिनी र छोरीलाई विशेष दान दिने संस्कृति थारु समुदायमा छ।’
सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष माघी पर्व पर्दछ। माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ। माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ। बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन्। धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन्। यस दिनदेखि पाँच दिनसम्म उनीहरूले आफू स्वतन्त्र भएको अनुभव गर्छन्।
प्रकाशित मितिः २०७२ माघ १ गते शुक्रवार
Comment Here!