चिसो छानोमुनी निमोनियाको जोखिम


प्रकाशित मिति :2016-01-17 12:18:46

‘टहरामा बसेका सुत्केरी आमा र बच्चा दुवैलाई निमोनियाको जोखिम छ । बच्चालाई न्यानो गरेर राख्ने र आमाले नियमित तातो र पोषिलो खाने कुरा खाएर यो जोखिम कम गर्न सकिन्छ ।’   

कविता थापा
काठमाडौ । राजधानीबाट करिब १५ किलोमिटरको दुरीमा रहेको साँखुका सुत्केरी आमाहरू अहिले चिसो छानोमुनी रात काटिरहेका छन् । तातो खाना खाँदै न्यायोमा बस्नु पर्ने समयमा बच्चा सहित रातभर शीत चुहिने टहरामा रात काट्दै छन् उनीहरू । यसको असर सुत्केरी र तिनका काखे बच्चामा विभिन्न स्वास्थ्य समस्या देखिन थालेका छन् ।

संखरापुर नगरपालिका साँखुकी २५ वर्षीया सम्झना परियार दुई महिनाकी सुत्केरी हुन् । तीन सन्तानकी आमा सम्झनालाई काखको बच्चा सहित अरु साना दुई छोरीलाई चिसोबाट कसरी बचाउने भन्ने चिन्ता छ । दिनभर घाममा बसेर शरिर तताए पनि टहरामुनी रात कटाउन निकै सास्ती पर्छ । भएको सानो घर पनि भुकम्पले भत्काईदिएकाले घर बनाउन सक्ने अवस्था छैन । ज्यामी काम गर्ने श्रीमानको कमाईले बिहान साँझको छाक टार्न मुश्किल पर्छ । कसैले सहयोग नगर्ने हो भने अब सधँै चिसोमा बस्नु पर्ने डर सम्झनालाई छ । उनी भन्छिन् ‘सरकारले हामी पीडितलाई घर बनाईदिने भनेको सुनेको छु । तर हाम्रो पालो आउला जस्तो लाग्दैन ।’ उनले भनिन्, ‘चिसो कटाउन पाए गर्मीमा जसोतसो टहरामा बस्न सकिन्थ्यो होला । तर, वर्षाको समय सम्झिँदा पनि उस्तै डर लाग्छ ।’

DSC_0123

घरमै बच्चा जन्माएकी परियार पैसाको अभावले सुत्केरी हुँदा स्वास्थ्य संस्था नगएको बताउँछिन् । उनले तीन वटै बच्चा घरमै जन्माएकी हुन् । दिउँसोको घाममा बच्चा राम्रै भएपनि राती चिसोले बिरामी हुने, रोईरहने समस्या भएको उनको गुनासो छ ।

साँखुकी शर्मिला भूजेल पनि चिसोमा समय कटाउन निकै सास्ती भएको बताउँछिन् । प्रजनन् स्वास्थ्यका बारेमा खासै जानकारी नभएकी भुजेल चिसोमा बच्चा भएका आमाले धेरै दुःख पाएको बताउँछिन् । चार सन्तानकी आमा भुजेल बच्चा—बच्ची धेरै भएकाले समस्या भोग्नु परेको भन्दै स्थायी बन्ध्याकरण गर्ने सोचमा छन् । उनी भन्छिन् ‘खाने कुराको अभाव छ, बस्ने ठाँउ छैन् यस्तो अवस्थामा बच्चा—बच्ची धेरै भए सबैलाई दुःख हुँदोरहेछ ।’

भूकम्पले घर भत्काईदिएपछि छोरा—छोरी कसरी पाल्ने र कहाँ बस्ने भन्ने चिन्ता छ भुजेललाई । सुत्केरी भएको २० दिनपछि घरको काम सम्हाल्न थालेकी भुजेललाई खेतीपाती र गाई वस्तुको हेरचाह, बच्चाहरूको स्याहार सुसार गर्न भ्याइ नभ्याइ छ । भूकम्पले गर्दा घर भत्किएर टहरामा बस्दै आएकी उनी चिसोले आफ्ना पनि बच्चा बिरामी पर्ने हुनकी भन्ने चिन्तामा छन् ।

दुई महिनाकी सुत्केरी साँखु घुमारचोककी सीता मोक्तान पनि चिसो टहरामा बसेर जेनतेन दिन काटिरहेकी छन् । बच्चा जन्मिएको १२ दिन देखिनै खाना बनाउने बच्चा स्याहार्ने, कपडा धुनेलगायत घरको काम गर्दै आएकी मोक्तान चिसोले ढाड दुख्ने समस्या भएको बताउँछिन् । आफ्नो घर हुँदा सुत्केरी भएको समयमा न्यानोमा बस्ने र तातो खाने व्यवस्था भएपनि अहिले राम्रो स्याहार नपाएका कारण बिरामी परेको मोक्तानको दुखेसो छ । चिसोले पेट दुखेको एक हप्ताभन्दा धेरै भइसके पनि आर्थिक अभावले स्वास्थ्य चौकी समेत जान नसकेको बताउँछिन उनी ।

सुत्केरीले मात्र होईन महिनावारी भएको समयमा किशोरीले पनि विभिन्न समस्या भोग्दै आएका छन् । चिसो समयमा एकसरो कपडामा रात बिताउन बाध्य छन् उनीहरू । सन्तुलित खाना खाएर स्वास्थ्यको राम्रो हेरचाह गर्नुपर्ने बेलामा असाध्यै कष्ट व्योहोर्नुपरेको मोक्तानको भनाई छ ।

DSC_0127

भूकम्पले गर्भमा रहेको बच्चालाई असर गर्दछ भन्ने सुनेकी उर्मिला श्रेष्ठ बच्चा जन्मिसकेपछि पनि केही होला की भन्ने चिन्तामा छन् । चार महिनाकी सुत्केरी उर्मिला आफ्नो घर नहुँदा चिसोमा धेरै दुःख सहनु परेको बताउँछिन् । भएको सबै खानेकुरा भूकम्पले पुरिएपछि सुत्केरी भएको १५ दिनमै काम गर्न थालेको उनको गुनासो छ । आफू जस्तै अरु सुत्केरी र गर्भवतीले पनि चिसोमा दुःखले रात कटाउन परेको बताउने श्रेष्ठ भन्छिन् ‘रातभर शीत चुहिएर सुत्न सकिन्न, बच्चालाई निमोनिया होला भन्ने चिन्ता छ ।’

स्त्रीरोग विशेषज्ञ डा. सिर्जना घिमिरे सुत्केरी अवस्थामा धेरै काम गर्नाले पाठेघर खस्ने समस्या हुने बताउँछिन् । यसरी काम गर्ने महिलामा तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, रक्तश्राव हुने समस्या देखिने भएकाले यस्तो भएमा तत्काल स्वास्थ्य चौकी जानुपर्ने सुझाव दिन्छिन् डा. घिमिरे ।

उनका भनाइमा, सुत्केरी भएका महिलाको पाठेघर ठाँउमा आउनको ६ महिना लाग्ने भएकाले यो समयमा कुनै गह्राैं भारी उठाउन हुन्न । चिसोमा बस्दा आमा र बच्चा दुवैलाई निमोनिया हुन सक्ने भएकाले तातोमा राख्नुपर्छ । डा. घिमिरे भन्छिन, ‘अहिले टहरामा बसेका सुत्केरी आमा र बच्चा दुवैलाई निमोनियाको खतरा छ । बच्चालाई न्यानो गरेर राख्ने र आमाले नियमित तातो र पोषिलो खाने कुरा खाए यो खतरा कम गर्न सकिन्छ ।’

  (कविता गोरखापत्रमा आवद्ध छन् ।)

प्रकाशित मिति: २०७२ माघ ३ गते अाईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: